‘त्यो तिमी हो ? ’ फिशिङबाट २० प्रतिशत नेपाली प्रयोगकर्ताको फेसबुक अकाउन्ट ह्याक

काठमाडौं ः केही समयअघि नेपालमा ‘त्यो तिमी हो ? ’ भन्ने फेसबुक स्क्याम ट्रेण्डिङमा आएको थियो । नेपाली फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरी सुरु गरिएको उक्त स्क्यामबाट २० प्रतिशत नेपाली प्रयोगकर्ताको फेसबुक ह्याक भएको पाइएको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्मी पंकज ठकुरीले गरेको अनुसन्धानमा उक्त स्क्याम अमेरिकी आईपी एड्रेसबाट चलाइएको खुल्न आएको छ । साथै आईपी एड्रेस अमेरिका भए पनि होस्ट भने नेपालीहरुले नै गरेको उनले बताएका छन् ।

उक्त स्क्याममा फेसबुक प्रयोगकर्ताहरुले आफ्नै फ्रेण्डबाट के यो तिमी हो भनेर एउटा मधुरो अश्लील थम्बनेल भएको लिङ्क म्यासेन्जरमा प्राप्त गर्दथे । त्यस लिङ्कलाई क्लिक गरेको खण्डमा युजर नेम र पासर्वड लगइन पेज खुल्थ्यो ।

त्यसमा लगइन क्रेडेन्शियल (विवरण) इन्ट्री गरेको खण्डमा फेसबुक सर्भरमा त्यो पुग्नको सट्टा कुनै अन्य थर्ड पार्टी पोर्न साइटको पेज खुल्दथ्यो ।

यसरी प्रयोगकर्ताहरुलाई ह्याक गरी उनीहरुको फेसबुक आईडी आफ्नो कब्जामा लिएर ह्याकरहरुले ती लिङ्क प्रयोगकर्ताकै साथीभाइहरुलाई फवार्ड गरिदिन्थ्यो । जसबारे फेसबुक अकाउन्ट होल्डरलाई कुनै जानकारी नै हुँदैन थियो ।

‘मैले उक्त स्क्याममा गहिरो अध्ययन गरेँ,’ पंकजले भने, ‘हेर्दै जाँदा अमेरिकाको आईपी एड्रेसबाट नेपालीहरुले नै त्यो स्क्याम चलाएका रहेछन् । एउटा ओपन पोर्टल थियो, जसमा २० प्रतिशत नेपालीहरु ह्याक भएको उल्लेख थियो ।’

अश्लील भिडियोको थम्बनेल पठाएपछि मानिसहरु डरले आत्तिएर त्यस्तो लिङ्क चाँडै खोल्ने गरेको पाइएको थियो ।

आफ्नो जानकारी बिना यदि कसैको फेसबुकबाट त्यस्तो किसिमको लिङ्क साथीभाइलाई फवार्ड भएको छ भने ती अकाउन्टहरु ह्याक भएको बताउँदै पासवर्ड परिवर्तन गरी टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

फेसबुकमा एकपछि अर्को फिशिङ स्क्यामहरु चलिरहने हुँदा प्रयोगकर्ताहरुको डेटा र अकाउन्ट सधै जोखिमले घेरिएको हुन्छ । यसैले आफ्नो डेटालाई सुरक्षित राख्न सूचना प्रविधि सुरक्षाबारे प्रयोगकर्ताले न्यूनतम जानकारी राख्नुपर्ने उनी बताउँछन् ।





error: Content is protected !!