प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन

काठमाडौँ ः प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले थप आनदोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको केन्द्रीय सदस्य बालकृष्ण खाणले जानकारी दिए ।

माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको खाणले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरूलाई, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसमा भाग लिने वरिष्ठ अधिवक्तालाई लगाएको आरोपप्रति पनि कांग्रेसले खेद व्यक्त गरेको छ ।

पार्टीको १४ औं महाधिवेशनका लागि वितरण भइरहेका क्रियाशील सदस्यताको फाराम माघ ३० गतेसम्म केन्द्रमा पुर्‍याउन जिल्ला समितिलाई निर्देशन दिने निर्णय कांग्रेसले गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । म्याद सकिएका भातृसंस्थाको म्याद थप्‍ने निर्णय पनि बैठकले गरेको छ ।

सोमबार नागरिक समाजले गरेको कार्यक्रममा प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाउँदै धरपकडमा संलग्‍नलाई कारबाही गर्न बैठकले माग गरेको खाणले जानकारी दिए ।





error: Content is protected !!