चिनियाँ राजदूत हाउद्वारा राष्ट्रपति भण्डारीसँग दुई घण्टा छलफल

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली भारतसँग नजिएको र चीनसँग टाढिएको भन्ने आशंकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म छलफल गरेकी छन्।
संसद विघटनसँगै नेकपा राजनीतिकरुपमा विभाजित भएको अवस्था र पार्टी विभाजनको दोष एकअर्कामाथि थोपर्दै नेकपाका नेताहरुले सार्वजनिक भाषण, प्रशिक्षण र भेलाहरुलाई तीव्रता दिइरहेका बेला चीन फेरि राजनीतिक भेटघाटमा सक्रिय भएको हो।
नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी हाउले पार्टी एकताकै विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको बुझिएको छ।
यअसघि संसद विघटन भएको सात दिनपछि पुस १२ गते नेकपाको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्थताका लागि चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहित चार सदस्यीय टोली नेपाल आएका थिए।
उनीहरुले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीसँगै पालैपालो नेकपाका शीर्ष नेताहरुलाई भेटेर नेकपा एकताको सम्भावनाबारे छलफल गरेका थिए भने आफूहरु आन्तरिक मामिलामा हस्तक्षेप गर्न नचाहेको सन्देश पनि दिने कोशिस गरेका थिए।
त्यसअघि नेकपा हरेकजसो विवाद निरुपणमा हाउले सक्रियता देखाएपनि उनको तहबाट त्यो सम्भव नभएपछि चीनले उच्चस्तरीय नेताहरुलाई नेपाल पठाएको थियो।
पार्टी एकता असम्भव जस्तै देखिएपछि विपक्षी दलका नेताहरुलाई पनि भेटेर आफूहरु सबैको पक्षमा रहेको घुमाउरो सन्देश दिँदै चिनियाँ उच्चअधिकारीहरु चार दिनपछि स्वदेश फर्किएका थिए।
त्यसपछि राष्ट्रपति भण्डारीसँग कुनै चिनियाँ उच्चस्तरीय प्रतिनिधिको भेट नभएको अवस्थामा राजदूत हाउ शुक्रबार शीतल निवास गएकी हुन्।
यता चिसिएको नेपाल भारतको सम्बन्ध सुधार हुने दाबीसहित भारत भ्रमण जारी राखेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार त्यहाँका आफ्ना समकक्षीसँग छलफल गर्नुका साथै नेपाल भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिएका छन्।
तर उनको प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने चर्चा चलेपनि त्यसबारे अझै टुंगो नलागेको भारतस्थित नेपाली राजदूतवास स्रोतले बतायो।
नेकपाको एकता सम्भव भएको दाबीसहित पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय एकता अभियान सार्वजनिक गरेको पृष्ठभूममा राजदूत हाउले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।



