विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार

बीबीसी ः उत्तर कोरियाले नयाँ प्रकारको ‘सब–मरिन ब्यालेस्टिक मिसाइल’ सार्वजानिक गरेको छ । जसलाई त्यहाँको राष्ट्रिय सञ्चारमाध्यम ‘केसीएनए’ले विश्वकै सबैभन्दा शक्तिशाली हतियार भनेर व्याख्या गरेको हो ।

केसीएनएको रिपोर्टअनुसार बिहीबारको सैन्य परेडअन्तर्गत् किम जोङ उनको निरीक्षणमा विभिन्न किसिमका ठूला मिसाइलहरु प्रदर्शन गरिएको छ । यसरी जो बाइडेनको ह्वाइट हाउस प्रवेश नजिकिनै लागेका बेलामा उत्तर कोरियाले आफ्नो सैन्यशक्ति देखाएको हो । जसकारण यो परेड बाइडेन प्रशासनलाई उत्तर कोरियाको चेतावनी र सन्देश भएको बताइएको छ ।

यसअघि, नेता किमले सार्वजानिकरुपमा अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो दुश्मन र क्रान्तितर्फको अवरोध ठहर गरेका थिए । अमेरिकामा जोसुकै सत्तामा आए पनि यसको असली प्रकृति र नीतिहरु उत्तर कोरियाको विरुद्धमा नै हुने गरेको समेत उनले बताएका हुन् ।

उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेका नयाँ तस्बिरहरुमा कम्तीमा पनि चारवटा ठूला मिसाइलहरु सेनाको भिडबाट लैजाँदै गरेको देख्न सकिन्छ । विश्वविद्हरुका अनुसार ती हतियारहरु यसअघि उत्तर कोरियामा कहिल्यै देखा परेका थिएनन् । छालाको कोट र अनौठो टोपी लगाएर उपस्थित भएका किम तस्बिरमा ठूलो हाँसोका साथ हात हल्लाइरहेको र परेड अवलोकन गरिरहेको देखिएका छन् ।

तर, यसमा गत अक्टोबर सार्वजनिक गरिएको उत्तर कोरियाको सबैभन्दा ठूलो ‘इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल’चाहिँ प्रदर्शन गरिएको छैन । जुन अमेरिकासम्म पुग्न सक्ने विश्वास गरिएको छ । त्यसको विशाल आकारले पूरै अन्तर्राष्ट्रिय समुदायलाई आश्चर्यमा पारेको थियो ।

किमको नेतृत्वमा उत्तर कोरियाले सैन्यशक्ति सुधार र हतियार निर्माण कार्यमा तीव्र प्रगति गरिरहेको छ । जुन यसले सम्भावित अमेरिकी हमलाविरुद्ध आफूलाई सुरक्षित राख्न जरुरी भएको बताउने गरेको छ ।





error: Content is protected !!