सुन्तला सुरक्षित गर्न दम्दालमा सोलार स्टोर

जाजरकोट ः कुशे गाउँपालिका ५ दम्दालास्थित अर्गानिक सुन्तला भण्डारका लागि सोलार स्टोर भवन निर्माण गरिएको छ। उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो।

कृषकले वर्षेनी उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि सो नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाएको छ।

सुविधा सम्पन्न भण्डारण भवन (सोलार स्टोर) निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्ती बहादुर वलीले बताए। सुन्तला टिपेर लामो समय सम्म सुरक्षित गर्न सकिने भएकाले सोलारमार्फत स्टोर गरि कृषकको अर्थ उपार्जनमा टेवा पुग्ने परियोजनाले विश्वास लिएको कार्यालयले जनाएको छ।

परियोजनाको १२ लाख र प्रगतिशील युवा कृषि सहकारी संस्थाको १२ लाख लागतमा सोलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, जाजरकोटका प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए।

सोलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाइ छ। उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा विक्री गर्दै आएका थिए।

अब गाउँमै सोलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै विक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाई छ। कृषिजन्य वस्तुको भण्डारण सोलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका सुन्तला व्यवसायीले बताएका छन्। गाउँमै सोलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ।

भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका र्‍याकहरू निर्माण गरिएका छन्। भवनमा कृषकको मात्र सुन्तला भण्डार गरिनेछ। कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ। योभन्दा अघि साना अर्थात् खेर जाने सुन्तलाको जुस निकाल्ने कार्यसमेत सुरु भइसकेको छ। आउँदो आर्थिक वर्षमा सुन्तलाको पकेट रहेका सवै पालिकामा सुन्तलाको जुस बनाउने काम सुरु गर्न लागेको परियोजनाको दाबी छ।





error: Content is protected !!