पाँच महीनापछि चालू खाता फेरि घाटामा

काठमाडौं ः लगातार ४ महीनासम्म बचतमा रहेको चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालू आर्थिक वर्ष  (आव) २०७७/ ७८ को मङ्सिर महीनामा चालू खाता रू २५ अर्ब ४१ करोडले घाटामा रहेको छ । अमेरिकी डलरमा १८ करोड २४ लाखले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालू खाता रू ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । यसअघि विगतका ४ आवसम्म लगातार घाटामा रहेको चालू खाता गत साउनमा भने बचतमा देखिएको थियो । चालू आव २०७७र७८ को साउन महीनामा चालू खाता रू २५ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

चालू खाता घाटामा गए पनि शोधनान्तर भने निरन्तर बचतमा छ । देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुँदा मङ्सिरमा शोधनान्तर स्थिति रू १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति रू२३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्षको शुरूमा आयात कम भएको र अहिले आयातमा सुधार भएकाले चालू खाता घाटामा जानु स्वाभाविक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट बताउँछन् । विप्रेषण आय बढे पनि आयात बढिरहेको र पर्यटन आय नभएका कारण चालू खाता घाटामा देखिएको उनको भनाइ छ । मङ्सिरसम्ममा विप्रेषण १० दशमलव ९ प्रतिशतले वृद्धि भई रू।४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । गतआवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो ।

कोरोनाको त्रास घट्दै गएपछि बिस्तारै आर्थिक गतिविधि विस्तार हुन थालेको छ । केन्द्रीय बैंकले गरेको सर्वेक्षण प्रतिवेदनले पनि आधाभन्दा बढी उद्योग तथा व्यवसाय पूर्ण सञ्चालनमा आएको देखाएको छ । ‘उद्योगहरूको क्रमशः सञ्चालन हुन थालेपछि आयात पनि सोहीअनुसार बढ्दै जान्छ । यसको प्रभाव चालू खातामा देखिन्छ,’ डा भट्टले  भने ।

आयातमा सुधार आई चालू खाता घाटामा गएको देखिए पनि मङ्सिरसम्ममा कुल वस्तु आयात ९ दशमलव ६ प्रतिशतले घटेर रू५२५ अर्ब ५० करोड कायम भएको छ । आयात वृद्धिदर गत महीनाको भन्दा मङ्सिरमा कम रहेको छ । गत कात्तिकसम्ममा कुल वस्तु आयात १० दशमलव ६ प्रतिशतले घटेको थियो ।

गत आवको मङ्सिरमा आयात ४ दशमलव २ प्रतिशतले घटेको थियो । मङ्सिरमा वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कोइलालगायत वस्तुको आयात बढेको छ । तर, पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधनलगायत वस्तुको आयात घटेको छ ।

समग्रमा आयात घटे पनि चालू आवको ५ महीनामा कुल वस्तु निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भई रू ५० अर्ब ६ करोड पुगेको छ ।

गत आवको यही अवधिमा निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । यसबीच अलैंची, जुटका सामान, धागो  (पोलिस्टर तथा अन्य) , चाउचाउ, पश्मिनालगायत वस्तुको निर्यात बढेको छ । तर, पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडालगायत वस्तुको निर्यात भने घटेको छ ।

समग्र मूल्यवृद्धि नियन्त्रणमा, खाद्यान्नको मूल्य उच्च
कोभिडका कारण बढ्न थालेको तरकारी, फलफूल तथा गेडागुडीजस्ता खाद्यवस्तुको महँगी नियन्त्रणमा आउन सकेको छैन । तर, लत्ताकपडा, फनिचर जस्ता गैरखाद्यवस्तुको भने बजारमा माग कम भएसँगै मूल्यमा पनि नियन्त्रण आएकाले समग्रमा उपभोक्ता मूल्यवृद्धि घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ मङ्सिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९३ प्रतिशत रहेको छ । गत आवको सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव ५५ प्रतिशत रहेको थियो । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव २३ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति १ दशमलव १६ प्रतिशत रहेको छ ।

समग्रमा मूल्यवृद्धि कम देखिए पनि दाल, गेडागुडीको मूल्य धेरै बढेको छ । लत्ताकपडा, फर्निचरजस्ता गैरखाद्य समूहको मूल्यवृद्धि एकदमै कम भएकाले समग्रमा मूल्यवृद्धि घटेको हो । यसअवधिमा गैरखाद्यको मूल्यवृद्धि १ दशमलव १६ प्रतिशत मात्र छ । ‘यो भनेको समग्र माग घटेको हो,’ राष्ट्र बैंकका प्रवक्ता भट्टको विश्लेषण छ ।

‘अहिले भाडामा गएका कतिपय घर खाली रहेका छन् । सर्भिसिङका सामानहरू, यातायात, सञ्चार, शिक्षाको क्षेत्रमा माग कम भएकाले मूल्यवृद्धि भएन,’ उनले अभियानसँग भने, ‘विद्यालयको शुल्क आधामात्र तिरिएको छ । यस्ता गैरखाद्य समूहमा माग कम हुँदा समग्र मूल्यवृद्धिमा कमी देखिएको हो । ’

सञ्चिति घट्यो
चालू आवको पाँचौं महीनामा चालू खातामात्र होइन, विदेशी विनियम सञ्चितिसमेत मङ्सिर महीनामा घटेको छ । कात्तिकमा १५ खर्ब ६ अर्ब सञ्चितिमा रहेको विदेशी विनिमय मङ्सिरमा भने घटेको देखिन्छ । गत असार मसान्तमा रू। १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिकमा १५ खर्ब ६ अर्ब पुगेको थियो । तर, मङ्सिर मसान्तमा भने रू। १४ खर्ब ७४ अर्ब ३४ करोडमा झरेको छ ।

आव २०७७र७८ को पाँच महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ४ महीनाको वस्तु आयात र १३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मङ्सिर मसान्तमा ७ दशमलव ७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।





error: Content is protected !!