सात घन्टा पाँच मिनेट बैठक बसेर सकियो राष्ट्रिय सभा अधिवेशन

सात घन्टा ५ मिनेट बैठक बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको थियो ।

१० दिनको अवधिमा ७ घन्टा ५ मिनेट बैठक बसेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए । आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्न आजै पत्र पठाएकी थिइन् । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी ओलीको सम्बोधनपछि अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।

यस अवधिमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न सातवटा अध्यादेशहरुरू पेस भएका छन् । जसमा संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरीवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनसम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश छन् ।

राष्ट्रिय सभाको चालू बैठकमा प्रधानमन्त्रीको कदमको लिएर कांग्रेस, नेकपा प्रचण्ड, नेपाल समूह, जनता समाजवादीलगायतका दलले विरोध गरेका थिए ।





error: Content is protected !!