राजनीतिमा बामे सर्दै मनिषाका ५० वर्षे पाइला

गजेन्द्र बोहरा

जमलस्थित ‘पहेँलो होटल’ (यल्लो प्यागोडा) को एउटा त्रिकोणात्मक हल मंगलबार अपराह्न खचाखच थियो। क्यामेरा ठड्याएर सञ्चारकर्मीहरूले ‘रोस्ट्रम’ पूरै घेरिसकेका थिए।

एक बज्दै गर्दा केही दलबलसहित नायिका मनिषा कोइराला हलभित्र छिरिन्। सेतो कुर्तामा सेतै ‘ओभरकोट’ ले ढाकिएकी मनिषाको मुखमा ‘बुट्टे’ मास्क थियो।

रुक्माङ्गत कटवालहरूसँगै उनी हलको पहिला लहरमा बसिन्। मंगलबार मनिषाको एउटा समूहले पुस २७ गते मनाउने पृथ्वी जयन्तीलाई भव्य बनाउन त्यहाँ पत्रकार सम्मेलन गरेको थियो।

मनिषाका राजनीतिक पाइला

‘जीवनमा धेरै राजनीतिक घटनाक्रमको साक्षी भएकी छु,’ केही समयअघि मनिषाले एउटा सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘तर, समाजसेवा गर्नका लागि राजनीति नै गर्नुपर्छ भन्ने छैन। राजनीतिलाई मैले करिअरका रूपमा लिन सक्दिनँ।’

क्यान्सर जितेपछि उनले एउटा पुस्तक लेखिन्। क्यान्सरसँगको संघर्ष कथाहरू बुनिएको उनको पुस्तक ‘हिल्ड’ निकै चर्चित छ। अंग्रेजी संस्करणमा प्रकाशित त्यो किताबलाई केही समयअघि पत्रकार स्वरूप आचार्यले नेपालीमा अनुवाद पनि गरेका छन्।

नेपाली संस्करणमा उनको पुस्तकको हो, ‘जिजीविषा।’ केही समयअघि एउटा भिडियो कन्फ्रेन्समाफर्त त्यो पुस्तक सार्वजनिक गरिएको थियो।

त्यही पुस्तक सार्वजनिक गर्ने बेला मनिषाले भनेकी थिइन्, ‘म राजनीतिक परिवारमै जन्मे हुर्केकी हुँ। तर, राजनीतिलाई करिअरकै रूपमा लिएकी छैन। समाजमा राम्रो काम गर्नका लागि राजनीति नै गर्नुपर्छ भन्ने कतै लेखिएको छ र’

नेपाली राजनीतिक इतिहासको एउटा ‘बिम्ब’ हो, कोइराला परिवार। र, त्यसका एउटा अमर पात्र हुन्, बिपी कोइराला। मनिषा बिपीकी नातिनी हुन्।

१६ अगस्ट १९७० मा मनिषा काठमाडौंमै जन्मिएकी थिइन्।

उनका बुवा प्रकाश कोइराला राजाको पालामा मन्त्री पनि भएका थिए। मनिषाका भाइ सिद्धार्थ तरुण दलका नेता पनि हुन्।

राजनीतिक छायामै हुर्किएकी मनिषाको शिक्षादिक्षा भारतमै भएको हो। उनले बनारसको वसन्त कन्या महाविद्यालय ९भिकेएम० मा विद्यालय शिक्षा हासिल गरिन्। त्यसपछि उनले नयाँदिल्लीस्थित सैनिक विद्यालयमा उच्च शिक्षा लिएकी हुन्।

डाक्टर हुने सपना बोकेकी मनिषा पछि मोडलिङ हुँदै सिनेमातिर लागिन्। भरतनाट्यम र मणिपुरी नृत्यका लागि उनी निकै पारंगत मानिन्छिन्।

असफल वैवाहिक जीवन, फिल्मी क्षेत्रका अनेक आरोह अवरोह अनि क्यान्सरसँगको एउटा जीवन र मृत्युको लडाइँ। जीवनका अनेकन भोगाइबाट उनी फेरि तंग्रिएकी छिन्।

र, जीवनको ५० वर्षे उकालो चढ्दै गरेकी नायिका मनिषाका पाइला अब विस्तारै राजनीतितिर सर्न थालेका छन्। यद्यपि, उनले ‘पृथ्वी जयन्ती’ मनाउने अभियानलाई राजनीतिका रूपमा नबुझ्न पनि आग्रह गरेकी छिन्।

मंगलबारको पत्रकार सम्मेलनमा पनि उनले कुनै राजनीतिक ‘भाषण’ दिइनन्। अन्तिम वक्ताका रूपमा बोलाइएकी मनिषाले यत्तिमात्रै भनिन्, ‘हामी सबैजना मिलेर पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनऔं। धन्यवाद। नमस्ते।’ पत्रकार सम्मेलनमा उनी एक मिनेटजति बोलिन्। पत्रकारहरूसँग कुनै सवाल जवाफ पनि भएन।

यसअघि सोमबार आयोमेलसँग कुरा गर्दै मनिषाले भनेकी थिइन्, ‘यो एकदमै ननपोलिटिकल काम हो। हामीले हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका मात्रै हौं। यो कुनै राजनीतिक अभियान होइन।’

चलचित्र ‘सौदागर’ बाट भारतीय सिनेमा उद्योग बलिउडमा डेब्यु गरेकी मनिषा ९० को दशकमा भारतीय चलचित्र जगतमा निकै छाएकी थिइन्। १९९१ मा भारतीय चलचित्र उद्योग छिर्नुअघि मनिषाले नेपाली फिल्म ‘फेरि भेटौंला’ मा पनि अभिनय गरिसकेकी थिइन्, १९८९मै।

उनका अधिकांश सिनेमाले बक्स अफिममा राम्रै ‘स्टार’ पाएका छन्।

पछि उनी धेरै तमिल सिनेमाहरूमा पनि देखापरेकी थिइन्। त्यस्तै उनी कयौं भारतीय ‘टेलिभिजन शो’ हरूमा जोडिन पुगिन्।

पाठेघर र स्तन क्यान्सरलाई पराजित गरेपछि पनि उनी सिनेमा क्षेत्रबाट अलग भइनन्। दुई–दुईवटा प्राणघातक क्यान्सर जितेपछि उनी धेरै सिनेमामा खेलिन्। २०२० मै पनि उनी एउटा सिनेमा ‘नाइन्टी नाइन सङ्स’ मा देखिएकी छिन्। यो सिनेमा अहिले निर्माणकै क्रममा छ।

मनिाषाका साथमा को–को छन् ?

पृथ्वी जयन्ती मनाउने यो अभियानमा कम्युनिस्ट नेता सिपी मैनालीदेखि पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवला र पूर्वप्रहरी रमेश खरेलसम्मका ‘व्यक्तित्व’ जोडिएका छन्।

मंगलबारको पत्रकार सम्मेलनमा बोल्दै कम्युनिस्ट नेता मैनालीले भने, ‘पृथ्वी नारायण शाह हाम्रो विभूतिको पनि विभूति हुनुहुन्छ। उहाँको जन्मदिन हामीले एकीकरणका विरोधीहरूको जन्मदिनका रूपमा पनि मनाउनुपर्छ। हाम्रा सारा पुर्खाहरूको निम्ति।’

उनले अहिलेका राजनीतिक दलहरूले इतिहासविरोधी काम गरिरहेको पनि बताए।

झापा विद्रोहका अभियन्तादेखि नेकपा ‘माले’ हुँदै कम्युनिस्ट आन्दोलनमा नाम जोडिएका नेता मैनाली धेरैपछि ‘राजसंस्था’ को यो यात्रामा देखिएका छन्।

त्यस्तै पूर्व प्रधानसेनापति कटवालले भने, ‘पृथ्वीनारायण शाहलाई सम्झिनु भनेको हाम्रा माता, पितालाई सम्झनु हो। हाम्रो जग हो। जग भयो भनेमात्रै त्यसपछि हामीले कहाँ कसरी टेक्ने, कहाँ समाउने भन्ने हुन्छ।’

राजाको सक्रिय शासनमा सैनिक नेतृत्व सम्हालेका कटवाल पहिलादेखि नै राजपरिवारनिकट मानिन्छन्। शान्ति प्रक्रियापछि प्रचण्ड नेतृत्वको सरकारले उनलाई हटाउने प्रयास गरेको थियो। तर, उनले सकेनन् बरु प्रचण्ड आफैले सरकार छोड्नुप(यो।

‘दुर्भाग्यवश हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहका शालिक भत्काइयो। इतिहास मेटाउने काम भयो,’ पत्रकार सम्मेलनमा पूर्वडिआइजी रमेश खरेलले भने, ‘अब त विदेशीले होइन, यो देशभित्रकै ब्वाँसाहरू हाम्रो देश सिध्याउन लागिसके।’

उनले पृथ्वीजयन्तीलाई एकता दिवसका रूपमा भव्य बनाउनका लागि एकीकृत भएर साथ दिन पनि सबैलाई अपिल गरे।

नेताहरू विपिन कोइराला, देवेन्द्र सिटौलादेखि अधिवक्ता सुरेन्द्र भण्डारी तथा बालकृष्ण न्यौपानेहरू पनि यो अभियानमा जोडिएका छन्।





error: Content is protected !!