मिलेर अघि बढ्नुहोस – चिनियाँ नेता ओली सच्चिए सहकार्य गर्न समस्या छैन – दाहाल ,नेपाल , खनाल समूह

काठमाडौँ ः नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले एक पछि अर्का नेकपा नेताहरूलाई भेट्दै मिलेर सहकार्य गरेर अघि बढ्न सुझाएको छ । कम्युनिस्टहरू फुटेर होइन जुटेर अघि बढ्न सकेमा स्थायित्व कायम हुने भन्दै मण्डलले जुट्न सुझाएका हो ।

पछिल्लो राजनीतिक घटनाक्रम बुझ्‍न र सुझाव दिन आएको चिनियाँ विशेष राजनीतिक कार्यदलले त्यस्तो सन्देश दिएको हो । आइतबार आएलगत्तै दुतवासमा व्रिफिङ लिएपछि म्याराथुन शैलीको भेटवार्तामा उत्रिएको टोलीले कम्युनिस्ट नेतृत्वलाई मिलाउन निकै मेहनत गरिरहेको छ ।

घरदैलो नै गरेर टोली मिलाउन कस्सिएका हो । चार्टर उडानमा आएको टोलीको यो भ्रमण सामान्य भने होइन । टोलीले आउने वित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीसँग डेढ घण्टा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही संक्षिप्त भेट गरेको थियो । सोमबार टोलीले प्रधानमन्त्री ओलीलाई पुनः भेटगरी लामो छलफल गरेको थियो ।

अर्को खेमाका नेताहरूसँग भेट गरेपछि प्रधानमन्त्री ओलीसँग पुनः टोलीले लामो वार्ता गरेको हो । टोलीले प्रधानमन्त्री ओलीलाई आफ्ना सदस्यहरूलाई मिलाएर पार्टी एक गर्न आग्रह गर्‍यो भने पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि भेटेर ओलीसँग सहकार्य गर्न आग्रह गर्‍यो ।

‘मिलेर अघि बढ्नुको विकल्प छैन । दुवै तर्फको अडानमा केही मिलन विन्दु खोज्‍न आवश्यक छ,’ भेटका एक सहभागीले सुनाए, ‘मिलेर जानुहोस् । हाम्रो के कस्तो सहयोग पर्छ चीन तयार छ ।’ टोलीले दाहाललाई खुमलटारमा भेटेर यसरी फुटेर अघि बढ्नुभन्दा मिलेर जान आवश्यक रहेको भन्दै प्रधानमन्त्रीसँग मिल्न सुझाएको थियो । त्यस्तै सुझाव नेपाल र खनाललाई पनि टोलीले दिएको थियो ।

तर, तीनै जना पूर्वप्रधानमन्त्रीले ओलीमा नै सुधारको आवश्यकता रहेको बताएका थिए । पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा प्रतिनिधि सभा नै विघटन गरेर ओलीले पार्टीकै मानमर्दन गरेकोसमेत तीन नेताले चिनियाँ टोलीसँग बताएका थिए । प्रतिनिधि सभा विघटनपछि राजनीतिक संकट गहिरिएको मात्र होइन जनतासँग के भन्‍न जाने संकट आइपरेको समेत उनीहरूले चिनियाँ नेतालाई बताएका थिए ।

सीपीसीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा आइतबार चार सदस्यीय राजनीतिज्ञ र दुई अन्य गरि छ जनाको टोली काठमाडौं आएको थियो । टोलीले सोमबार बिहान दाहाल अनि नेपाल र त्यसपछि खनाललाई भेटेको थियो । सबै भेटमा सम्भव भएसम्म प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्न टोलीले सुझाव दिएको छ ।

दाहाल र नेपाल निकट एक नेताले इकागजसँग कुरा गर्दै भने, ‘चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्‍न आग्रह गरेको छ । ओलीसँग मिलेर जान सुझाव दिंदै टोलीले भनेको थियो प्रधानमन्त्री ओली पनि यसमा सहमत भएर आउनु हुनेछ ।’

भेटमा दाहालले पनि ओली सच्चिएको खण्डमा मिल्न समस्या नभएको भन्दै सबै पूर्वप्रधानमन्त्री एकातिर र ओली अर्कातिर भएको परिदृष्य समेत व्याख्या गरिदिएका थिए । त्यही शब्द नेपाल र खनालले पनि चिनियाँलाई भनेका थिए ।

दाहाल(नेपाल(खनाल तिनै जनाले ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिन पर्ने अडान चिनियाँ टोली समक्ष राख्दै त्यसमा सहमति हुँदै उनी सच्चिएको खण्डमा सहकार्य हुनसक्ने स्पष्ट धारणा सुनाएका थिए । दाहालसँग भेटेपछि टोलीले प्रधानमन्त्री भेट्दै चिनियाँ मध्यस्तता देखाएको थियो ।

पहिले पनि चीनले पार्टी मिलाउन निकै मेहनत गर्दै आएको थियो । टोलीले सभामुख अग्‍नि सापकोटासँगपनि भेटवार्ता गरेको छ । सापकोटाले पनि ओलीको व्यवहारको कारण यो अवस्था निम्तिएको स्पष्ट भनिदिएका थिए । चिनियाँहरूले ओली पनि सच्चिएर अघि बढ्न तयार रहेको अवस्था भन्दै मिलेर जन सुझाएका थिए ।

राष्ट्रपतिले समेत पार्टी मिलाउन निकै मेहनत गरेको जानकारी टोलीलाई दिएकाले पनि टोली उत्साहित भएर पार्टी मिलाउन लागि परेको हो । राष्ट्रपतिले पनि आफूले ओलीको कदम सबै ठिक छ भन्‍न नसक्ने तर आफू संवैधानिक रहेका कारण कतिपय बाध्यता रहेको धारणा चिनियाँ समक्ष राखेको विषय चिनियाँ टोलीले दाहाल(नेपाल खेमासँग गरेका थिए ।

यसरी टोलीले कुरा सुन्‍ने र एक अर्काको चिन्ता सुनाउने समेत गरेर मिलाउन प्रयास गरेको देखिन्छ । सबैको धारणमा ओली नै फरक ढंगले अघि बढेको र कसैलाई पनि मानिस नै नगन्‍ने अवस्थामा पुग्दा यो चरण व्यहोरेको धारणा पनि आएको छ । सबैसँग भेटघाट मिलाएको टोलीले सत्तारुढ दल मात्र नभएर बाहिर रहेका दलका नेतासँग पनि भेटघाट गर्दै यो भ्रमण नियमतित र सामान्य भ्रमणको संज्ञा दिन खोजेको स्पष्ट छ ।

टोलीले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई सोमबार साँझ भेटेको छ भने मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । त्यसबाहेक अन्य नेता बुध्दिजिवी र सुरक्षा अधिकारीहरूसँग पनि भेटवार्ता गरिरहेको छ । टोली बुधबार विहान स्वदेश फर्कने कार्यक्रम छ ।





error: Content is protected !!