नेपालमा अहिलेसम्मकै उच्चस्थानमा भेटियो पाटे बाघ

नेपालमा हालसम्मकै उच्च स्थानमा पाटे बाघ भेटिएको छ। इलामस्थित चौडपाते जंगलको तीन हजार १६५ मिटर उचाइमा पाटे बाघ भेटिएको हो।

वन तथा भू संरक्षण विभागका अनुसार त्यहाँ राखिएको स्वाचालित क्यामेराले पाटे बाघको तस्वीर कैद गरेको छ। यसअघि गत वैशाखमा डढेल्धुरा जिल्लाको दुई हजार ५०० मिटर उचाइको जंगलमा पाटे बाघ भेटिएको थियो ।

कञ्चनजंघा भू परिधिमा जीपीएस कलर गरिएको रेडपाण्डालाई अनुगमन गर्न राखिएका २० क्यामेरामध्ये एउटाले पाटे बाघको तस्वीर कैद गरेको छ। उक्त क्षेत्रमा पाटे बाघ भेटिएसंगै बिरालो प्रजातिको संख्या आठ पुगेको छ। त्यसअघि त्यहाँ चितुवा, ध्वासें चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो लगायत जनावर भएको पाइएको थियो।

अहिलेसम्मको तथ्यांक अनुसार भारतमा तीन हजार ६३० र भुटानमा चार हजार ४०० मिटरको उचाइमा बाघ पाइएको छ। इलाममा भेटिएको बाघ भारतको सिंघलिला राष्टिय निकुञ्जबाट आएको हुनसक्ने अनुमान गरिएको छ। उक्त निकुञ्ज नेपालको कञ्चनजंघा संरक्षण क्षेत्रसंग जोडिएको छ। वन तथा भू संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले इलाममा बाघ पाइएको घटनाले उक्त क्षेत्रमा अन्य वन्यजन्तुको अवस्था राम्रो भएको संकेत मिलेको बताए।

अन्तराष्टिय प्रकृति संरक्षण संघ आइयूसीएनले बाघलाई अति संकटापन्न सूचिमा वर्गीकरण गरेको छ। सन् २००९ को गणनामा नेपालमा १२१ बाघ पाइएको थियो। सन् २०१८ को गणनामा बाघको संख्या बढेर २३५ पुगेको छ।

सन् २०२२ सम्म बाघको संख्या २४२ भन्दा बढी बनाउने नेपालको लक्ष्य छ। नेपालका १८ जिल्ला र नौ जैविक मार्गमा बाघ पाइएको छ हिमालखवरमा समाचार छ।




सम्बन्धित समाचार


error: Content is protected !!