सगरमाथाको मापन अहिलेसम्म कतिपटक भयो ?

काठमाडौं ः विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले मंगलबार भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो । नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाई मापन गरिएको हो ।
नापी विभागको प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन गरी नयाँ उचाइ निकालिएको थियो । नेपालले सन् २०१८ देखी सर्बेक्षणको काम सुरु गरी उचाइ मापनको कार्य शुरु गरेको थियो भने, नेपालले सगरमाथा आरोहण गरेको एक वर्षपछि चीननले आरोहण गरेको थियो ।
नेपाल र चीनका प्राविधिकद्वारा प्रशोधन गरी निर्देशक समिति तहमा छलफल भइ् सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो । गत मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो । गतवर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।
नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन १९५४ मा मापन गरेको हो । सन् १९५४ मा भारतले, सन् १९७५ मा चीनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुनः इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनः चीनले, सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाइ मापन गरेका थिए । तर, ती सबैले फरकफरक मापन निकालेका थिए ।
विसं २०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडौँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए । यस विषयमा विश्वमा समेत सगरमाथाको उचाइ घटेको भनेर चर्चा हुन थालेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाई मापन गरेको हो ।








