शीर्ष नेतामाथि सुरक्षा खतरा ? नेकपा सचिवालय बैठक धुम्बाराहीबाट बालुवाटार सर्‍यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै सरेको छ । दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने तय भएको बैठक बालुवाटारमा सरेको छ ।

महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीमा बैठक बस्न नसक्ने सन्देश कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुर्याएका थिए । तर, प्रचण्डले सबैको सहमतिमा बैठक बस्ने तय भएकाले ठाउँ फर्न नहुने अडान लिएका थिए ।

त्यसपछि ओलीले धुम्बाराहीमा सुरक्षा खतरा रहेको भन्दै महासचिव पौडेलमार्फत फेरि बैठक सार्नका लागि प्रस्ताव गरेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सुरक्षा थ्रेट आएको बताएपछि प्रचण्डले बालुवाटारमा बैठक बस्न सहमति जनाएको स्रोतको भनाइ छ ।

एक सचिवालय सदस्यले भने, ‘पार्टी बैठकको सुरक्षासमेत दिन नसक्ने कुराले सरकारको हैसियतमा प्रश्न उठेको छ । राजधानी काठमाडौंमै सरकारले केही व्यक्तिको पनि सुरक्षा दिन नसक्ने कुराले सरकार पूर्णरुपमा असफल भएको सन्देश गएको छ । यो राम्रो भएन ।’





error: Content is protected !!