निकुञ्जको स्थलगत अनुगमनपछि संसदीय टोली फर्कियो

डोल्पा – स्थलगत अनुगमनका लागि डोल्पा पुगेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको संसदीय टोली फर्किएको छ ।

नेपालकै ठूलो राष्ट्रिय निकुञ्ज शे – फोक्सुन्डो तथा मध्यवर्ती क्षेत्रको स्थलगत भ्रमणसँगै जनताको राय सुझाब लिएर उक्त टोली फर्किएको हो ।

पछिल्लो समयमा निकुञ्जमा भएका विकास निर्माणका विषयलाई लिएर निकुञ्ज, जनता र स्थानीय तहबीच बढ्दै गएको दूरीबारे स्थलगत अध्ययनका लागि संसदीय टोली डोल्पा पुगेको थियो ।

करिब एक साताको बसाइपछि टोली बिहीबार फर्किएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार समितिका सभापति पूर्णाकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उपसमितिका पदाधिकारीहरू भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर बुढाको टोली जनस्तरमै पुगेर बृहत् अन्तर्क्रिया कार्यक्रम सकेर फर्किएको छ ।

उक्त टोलीसँगको अन्तर्क्रियामा जनताले विकास निर्माणका कामहरू निकुञ्ज क्षेत्रमा गर्न पाउनुपर्ने, स्थानीय जडीबुटीमा यहाँका जनताको मात्रै एकधिकार हुनुपर्नेलगायतका माग राखेका छन् ।

जनताबाट लिएका राय–सुझाबलाई निकुञ्ज ऐनमा संशोधनका लागि पेस गर्ने, शे–फोक्सुन्डो निकुञ्जको कोर क्षेत्रमै बस्ती भएकाले छुट्टै नियमावली बनाउनुपर्नेलगायतका विषय संसद्रमै उठाउने संसदीय टोलीले आश्वासन दिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले बताए ।

उक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, शे–फोक्सुन्डो गाउँपालिकाका जनतासँग निकुञ्जको कामकारबाही र निकुञ्ज क्षेत्रमा गरिने विकासलगायतका विषयमा बृहत् छलफल गरेको थियो ।

निकुञ्ज स्थापना हुनुभन्दा अघिका बस्तीहरू भएकाले यस अध्ययन गरेर मात्रै संसदमा सिफारिस गर्ने समितिका सभापति पूर्णाकुमारी सुवेदीले बताइन् ।

देशको मूल कानुन संविधान नै गतिशील दस्ताबेज भएको बताउँदै निकुञ्ज ऐन पनि धेरै पुरानो भएकाले संशोधन गरेर समयसापेक्ष बनाउनुपर्ने उनको भनाइ छ ।

यस्तै संसदीय समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले निकुञ्ज क्षेत्रका जनताले कठिन जनजीवन बिताइरहेकाले शे–फोक्सुन्डो निकुञ्जका लागि छुट्टै ऐन नियम बनाउन सरकारलाई सुझाब दिने बताए ।

शे–फोक्सुन्डो निकुञ्ज विश्वकै दुर्लभ वन्यजन्तु हिउँचितुवा, कस्तुरी, नावर, बहुमूल्य जडीबुटी यार्सागुम्बा, नेपालकै गहिरो फोक्सुन्डो ताललगायतका पक्षबाट विश्वमाझ चिनिएको छ ।





error: Content is protected !!