फुसको छाना भएका २ हजार ४३६ घरमा जस्तापाता लगाइँदै

सुर्खेत क्षेत्र नम्बर २ मा फुसको छाना भएका घरमा बस्दै आएका १ हजार १ सय २३ घरको छानो फेरिने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता दिइने भएपछि फुसको छाना फेरिने भएको हो ।

‘निकट भविष्यमा क्षेत्र नम्बर २ मा कुनै पनि फुसको छाना भएको घर रहनेछैन । त्यसका लागि पहिलो चरणमा १ हजार १ सय २३ परिवारको छानो फेर्ने योजना अघि सारेका छौं,’ सुर्खेत क्षेत्र नम्बर २ का संघीय सांसद एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले भने, ‘असहाय, गरीब परिवारले सुरक्षित र व्यवस्थित आवास पाऊन् भन्ने उद्देश्य हाम्रो छ । सोहीअनुसार लाभग्राही छनोट गर्छौं ।’

फुसको छानोमुनि बस्नुपर्ने गरीब तथा विपन्न समुदायको अवस्थाको अब अन्त्य हुने उनले बताए । फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ति निम्तिने गरेको स्मरण गर्दै उनले फुसको छानो विस्थापित गरी जस्तापाता लगाउन अनुदान दिइएको जानकारी दिए ।

सुर्खेत क्षेत्र नम्बर २ मा मात्रै ३ हजारभन्दा बढी खर, फुसले छाएका घर रहेको अनुमान छ । सुर्खेत क्षेत्र नम्बर २ भित्र सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाका १ देखि १४ नम्बर वडासँगै वराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्छन् ।

जस्तापाता वितरण प्रक्रिया अगाडि बढाउन वीरेन्द्रनगरमा संघीय आयोजना कार्यान्वयन इकाइको समन्वय एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावत अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा सुर्खेत क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रअन्तर्गतका स्थानीय तह वीरेन्द्रनगर नगरपालिका, वराहताल, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा स्थानीय तहका प्रमुखहरूले कार्यविधिअनुसार निवेदन लिएर क्षेत्र नम्बर २ मा सुरक्षित आवास कार्यक्रमको लाभग्राही छनोट गरिएको बताएका छन् । उनीहरूले कार्यक्रम अन्य जिल्लाको तुलनामा सुर्खेतमा ढिलो गरी आएकाले केही लाभग्राहीको अझै टुंगो लाग्न बाँकी नै रहेको जानकारी गराएका हुन् । गरीबीको रेखामुनि रहेका पराल, खर वा छ्वालीको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनि ल्याउने उद्देश्यले सरकारले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि छनोट भएका परिवारलाई टहरा र छाना बनाउन ५० हजार रुपैयाँ उपलब्ध गराउने लक्ष्य सरकारको छ । उनीहरूलाई पहिलो किस्तामा ३० हजार रुपैयाँ र कार्य प्रगतिका आधारमा बाँकी दोस्रो किस्ता बैंकमार्फत भुक्तानी हुने संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका इन्जिनियर टीकाराम पोखरेलले जानकारी दिए । गरिब तथा विपन्न समुदायका लागि लक्षित गरेर ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको उनको भनाइ छ । बैठकमा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालका साथै वराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।

संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका अनुसार सुर्खेत क्षेत्र नम्बर २ मा पहिलो चरणमा १ हजार १ सय २३ घरधुरीलाई उक्त कार्यक्रममा समावेश गरिनेछ, जसअनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ देखि १४ सम्मका ३ सय ५१ घरधुरी, वराहताल गाउँपालिकाका ३ सय ६६ घरधुरी, पञ्चपुरी नगरपालिकाका ६४ घरधुरी र चौकुने गाउँपालिकाका ३ सय ४२ घरधुरीलाई सुरक्षित आवास निर्माणबापत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

सेवाग्राहीलाई पहिलो किस्तास्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराइनेछ । घर निर्माणका लागि जस्तापाता खरीद गरेको बिल भर्पाई पेश गरिसकेपछि बाँकी रकम ५ प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

‘लाभग्राहीले स्थानीय तहसँगको सम्झौताअनुसारको पहिलो किस्ताबापतको काम सम्पन्न गरिसकेपछि मात्र दोस्रो किस्ताको ४० प्रतिशत रकम पाउनेछन्,’ संघीय कार्यान्वयन इकाइ सुर्खेतका सूचना अधिकारी इन्जिनीयर रामकृष्ण आचार्यले भने, ‘स्थानीय तहका प्राविधिकले लाभग्राहीको घरको छानो निर्माण सम्पन्न भए/नभएको प्राविधिक प्रतिवेदनका आधारमा मात्र बैंकमार्फत बाँकी भुक्तानी गर्नेछन् ।’





error: Content is protected !!