विपन्न परिवारलाई खाद्यान्न सहयोग

जाजरकोट , बिभिन्न निकायबाट बारेकोट र कुशे गाउँपालिकामा खाद्यान्न वितरण गरिएको छ ।आर्थिक अवस्था कम्जोर भएका र बाढी पहिरो प्रभावितलाइ खाद्यान्न वितरण गरिएको हो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जाजरकोट बारेकोटका बाढीपहिरो प्रभावित सात सय ७४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । चरम खाद्य संकट ब्यहोरिरहेका बारेकोटवासीलाई संकट टार्न विश्व खाद्यले निशुल्क रुपमा खाद्यान्न वितरण गरेको हो ।

गत असार २५ गते जिल्लाको बारेकोट गाँउपालिकाका विभिन्न बस्तीमा गएको बाढीपहिरोका कारण घरबारविहिन भएका र दैनिक हातमुख जोर्न समस्या परेका सात सय ७४ परिवारलाई विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गरेको हो ।

प्रतिपरिवार ३० केजी चामल, नौ केजी दाल, अढाई लिटर खानेतेल र एक केजी नुन वितरण गरेको विश्व खाद्य कार्यक्रमका जाजरकोट प्रतिनिधी कृष्ण थापाले बताउनुभयो । त्यस्तै गर्भवति, सुत्केरी र ६ देखी २३ महिना भित्रका बालबालिकालाई ६ केजी पोषिलो पिठो समेत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । थापाले भन्नुभयो –‘कुपोषणबाट जोगाउन गर्भवति, सुत्केरी र बालबालिकालाई सवै किसिमका भिटामिन, मिनरल्स र पौष्टिक तत्व मिलाएर बनाईएको सर्वोतम पिठो प्रदान गरिएको हो ।’

बारेकोटका वडा नम्बर १ मा ६८, वडा नम्बर २ मा ३५ र वडा नम्बर ३ मा सात परिवारलाई खाद्यन्न वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ४ मा तीन सय ३३, वडा नम्बर ५ मा दुई सय ६० परिवार , वडा नम्वर ६ मा ३३ र वडा नम्बर ७ मा ३८ परिवार गरी सात सय ७४ परिवारका चार हजार एक सय जनालाई राहत वितरण गरिएको हो । गर्भवति, सुत्केरी र बालबालिका भएका चार सय ८४ परिवारलाई थप पौष्टिक आहार प्रदान गरिएको छ । त्यस्तै छिटै दोस्रो चरणको राहत कार्यक्रम संचालन गरिने छ । दोस्रो चरणमा क्यास फर असिष्ट (राहतमा नगद सहयोग) लिएर पीडिततलाई जीवन निर्वाहमा सघाउ पुर्याउने छ ।

बाढी पहिरोमा परि बारेकोटमा ११ जनाको ज्यान गएको, तीन बेपत्ता भएको र एक हजार २०० परिवार विस्थापित भएका थिए । विस्थापित परिवार सँग खानेकुरा सकिएर भोकमरीको अवस्था सिर्जना भएको अवस्थामा विश्व खाद्य कार्यक्रमले प्रदान गरेको सहयोगले पीडितलाई ठुलो राहत भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो । राहत पाएपछि विस्थापित परिवार निकै खुसी भएका छन् ।

त्यस्तै सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा कुशे गाँउपालिकाको समन्वयमा कोरोना महामारी (कोभिड–१९) का कारण रोजगारी गुमाई जीवनयापन गर्न कठिन भएका करीव साढे सात सय विपन्न परिवारलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको छ ।

कुशे गाँउपालिकाका ९ वटै वडाका रोजगारी गुमाएका र अतिविपन्न सात सय ४५ परिवारलाई शनिवार कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले राहत सामग्री हस्तान्तरण गनुभएको हो । प्रति परिवार ६० केजीका दरले चामल वितरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सात सय ४५ परिवारका लागि २६ लाख २१ हजार चार सय ८७ रुपैयाको चार सय ४७ क्वीन्टल चामल वितरण गरिएको हो । दुई सय परिवारलाई प्रति परिवार धारा सहितको हात धुने बाल्टिन, ५ ओटा साबुन, ५ ओटा रुमाल, एक पत्ता पानी शुद्धिकरण गर्ने एक्वाट्याव लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरिएको छ ।

लामो लकडाउन र कोरोना महामारीका कारण घरमै बन्दाबन्दीमा पर्दा रोजगारी गुमाएका, दैनिक ज्यालादारी काम गर्न नपाएका र अन्य रोजकारीका अवसर नपाउँदा दैनिक हातमुख जोर्न समस्या परेका कुशेका अति विपन्न परिवारलाई राहत प्रदान गरेर ठुलो सहयोग पुरयाएको गाँउपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । राहत पाएपछि विपन्न परिवार निकै खुसी भएका छन् ।

रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक गएकाहरु कोरोना महामारीका कारण घर फर्केका छन् । घर फर्केपनि अन्य काम पनि गर्न पाएका छैनन् । आफ्नै खेतीयोग्य जमिन छैन । जसका कारण धेरै परिवारलाई दैनिक गुजरा चलाउन निकै समस्या परिरहेको छ । यस्तो बेला गरिएको खाद्यान्न सहयोगले पीडित परिवारको घरमा खुसी छाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो ।





error: Content is protected !!