घुम्थाङमा पहिरो – नौको शव निकालियो, २३ अझै बेपत्ता 

सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौजनाको शव भेटिएको छ। प्रहरीका अनुसार शव फेला परेका नौजनामध्ये तीनको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। सनाखत भएकोमा नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधान रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर अझै २३ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन्। पहिरोमा परी घाइते भएका तीन जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ।

सभामुख सापकोटा पहिरोस्थलमा

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन्। उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन्। उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन्।





error: Content is protected !!