सुत्केरीदेखि खोप सेवासम्म पाउँदैनन् उपल्लो डोल्पाली

हेमन्त केसी

जाजरकोट (रासस)ः शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो । वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप पाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

   

गर्मी मौसम मात्र खोप ढुवानी गर्न सकिने भएकाले छ महिना मात्र खोप उपलब्ध गराउन सकिएको कार्यालयको भनाइ छ । उच्च भूगोल रहेको ठाउँमा चिसो मौसममा भारी हिमपात हुने भएकाले ढुवानी नहुँदा खोप उपल्लो डोल्पा पुर्याउन नसकिएको हो । हुनेखानेहरुले तल्लो डोल्पा तथा देशका अन्य ठाउँमा गएर खोप सेवा लिए पनि आर्थिक अवस्था कमजोर भएका सबैले खोप सेवा लिन नपाउने अवस्था रहेको कार्यालयको जिकिर छ ।

हेलिकोप्टरबाहेक अन्य माध्यमबाट उपल्लो डोल्पामा खोप र अन्य औषधि पुर्याउन नसकिने स्वास्थ्य सेवा कार्यालय जनस्वास्थ्य शाखाका प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्यासमेत अत्यन्तै न्यून छ ।

तीन स्थानीय तहमा बर्थिङ सेन्टर छैन

उपल्लो डोल्पाका तीन स्थानीय तहमा सुरक्षित सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर नै नभएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बर्थिङ सेन्टर नै नभएको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । त्यस्तै तल्लो र मध्यडोल्पाको ठूलीभेरी नगरपालिकामा दुईवटा बर्थिङ सेन्टर, त्रिपुरासुन्दरी नगपालिकामा चार, काइके गाउँपालिकामा दुई, जगदुल्लामा दुई र मुड्केचुलामा तीनवटा बर्थिङ सेन्टर छन् । बर्थिङ सेन्टर भएको ठाउँमा समेत सुत्केरी सेवा लिनेको सङ्ख्या कम छ । उपकरण नहुँदा छामेर नै जाँच हुँदै आएको छ ।

त्यस्तै शे–फोक्सुण्डोमा तीनवटा स्वास्थ्य संस्था, डोल्पोबुद्धमा दुई, छार्का ताङसोङमा दुई र काइके गाउँपालिकामा दुईवटा मात्र स्वास्थ्य संस्था रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र डोल्पा जिल्लाभरि नरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

उपल्लो डोल्पाभन्दा तल्लो र मध्य डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्या बढी छन् । त्रिपुरासुन्दरी नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्था, सदरमुकाम रहेको ठुलिभेरी नगरपालिकामा स्वास्थ्य सेवा कार्यालयसहित चार, मुड्केचुला गाउँपालिकामा तीन, जगदुल्ला गाउँपालिकामा तीनवटा रहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा मुड्केचुला गाउँपालिकामा ८३, त्रिपुरासुन्दरी नगरपालिकामा १३५, ठुलिभेरी नगरपालिकामा १६८, काइके गाउँपालिकामा २३ र जगदुल्ला गाउँपालिकामा २२ महिला सुरक्षितरूपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्वास्थ्य सेवा व्यवस्थापक सिजन रावलले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सङ्ख्या शून्य छ ।

घरमै सुत्केरी हुने दर उपल्लो डोल्पामा शतप्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आम्चीको भरमा मात्र सुत्केरी सेवा उपलब्ध हुँदै आएको छ । अहिले पछिल्लो समयमा सुरक्षित मातृत्व, नवजात शिशु तथा बालस्वास्थ्य र परिवार नियोजन लागू भएदेखि केही सुधारका लागि पहल गर्न खोजिएको छ ।

हवाइमार्गमार्फत १७ गर्भवतीको उद्धार गरिएको छ । राष्ट्रपति उद्धार कोषमार्फत सबै गर्भवतीको उद्धार भएको हो । उद्धार भएकामध्ये अधिकांश उपल्लो डोल्पामा रहेका छन् । पहुँच नहुने अधिकांश गर्भवती गाउँमै असुरक्षितरूपमा सुत्केरी हुन बाध्य भएको फोक्सुण्डो गाउँपालिका–३ का सितार गुरुङले बताउनुभयो ।

अधिकांश सुत्केरी घरमै

डोल्पाका अधिकांश सुत्केरी घरमै असुरक्षितरूपमा सुत्केरी हुने गरेका छन् । पहुँचमा स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्ट्रेचरसमेत नभएका कारण डोकोमा बोकेर कोही, कोहीले स्वास्थ्य संस्था लिएर सुत्केरी गराउने गरेको स्थानीयवासी बताउँछन् । धामी, झाँक्रीको विश्वासमा यहाँका अधिकांश गर्भवती स्वास्थ्य संस्था पुग्न बाधा उत्पन्न भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

नियमित गर्भजाँच गर्ने गर्भवतीको सङ्ख्यसमेत कम रहेको उहाँको भनाइ छ । बर्थिङ सेन्टरमा समेत आवश्यक उपकरणको अभावमा सबै सेवा दिन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । उपल्लो डोल्पाका गाउँमा के भइरहेको छ भन्नेसम्म सदरमुकामस्थित दुनैमा महिना दिनपछि मात्र सूचना प्राप्त हुने गर्दछ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन आग्रह गरे पनि कसैले आफ्नो कुरा भनेको नमान्ने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुन्डुप गुरुङले जानकारी दिनुभयो ।

उपचारका लागि जडीबुटीको भर

उपल्लो डोल्पामा गर्भवतीलाई सुत्केरी गराउनेदेखि अन्य रोगबाट बिरामी भएमा सबैलाई स्थानीय जडीबुटीबाट उपचार गरिँदै आएको छ । स्वास्थ्य संस्थामा पहुँच नहुँदा अधिकांश सर्वसाधारण जडीबुटीको माध्यमबाट स्थानीयवासीको उपचार गर्न बाध्य भएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उपल्लो डोल्पाका तीनवटा स्थानीय तहका सर्वसाधारणको जडीबुटीकै भरमा उपचार कार्य हुँदै आएको स्थानीय निकायका जनप्रतिनिधिको भनाइ छ ।





error: Content is protected !!