विश्व भारतले सीमा पार गरेर फायरिङ गर्यो – चीन

काठमाडौ – भारत र चीनबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ। भारतीय सैनिकले लद्दाखमा गैरकानुनी रुपमा वास्तविक सीमा रेखा पार गर्दै फायरिङ गरेको चीनले आरोप लगाएको छ।
सीमामा तैनाथ आफ्ना सैनिकलाई उत्तेजित पार्नेगरी फायरिङ गरेको भन्दै चीनले आपत्ति जनाएको छ। चिनियाँ सैनिकले आफूहरु संवादको पक्षमा रहेको बताएका बीबीसीले उल्लेख गरेको छ। भारतले भने अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। स्थिती साम्य पार्नका लागि आफ्ना सैनिकले पनि बाध्य भएर जवाफी कारवाही गर्नुपरेको चिनियाँ सेनाका एक प्रवक्तालाई उद्यृत गर्दै त्यहाँको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले पनि सीमा क्षेत्र पूर्वी लद्दाखमा फायरिङ भएको जनाएको छ। बढ्दो तनावबारे दुई देशका विदेशमन्त्रीबीच छलफल गर्ने तयारी छ। सांघाई सहयोग संगठनको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकर रुसको मस्को जाँदै छन्। आठ सदस्य रहेका संगठनमा चीन र भारत दुवै सहभागी छन्।
यहि भ्रमणका क्रममा जयशंकरले चिनियाँ समकक्षी वांग यी सँग द्वीपक्षीय बैठक गर्ने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।










