रामपुरको नगर खररहित घर’ अभियान तीव्र बनाइदै

सुशीला रेग्मी
रामपुर (पाल्पा), रामपुर नगरपालिका ४ खोप्टार बस्ने बसन्ती रानालाई चुहिने खरको छानोमुनि दुई छोरी लिएर जीवन व्यतित गर्नुपर्ने बाध्यता थियो । टिनको छानो लगाउन नसक्दा पानी चुहिने खरको छानोमुनि बस्नुको अर्को कुनै विकल्प थिएन । दुख संग खरको चुहिने छानोमुनि बसोबास गर्दै आउनुभएकी रानालाई रामपुर नगरपालिकाले घर छाउन रु ५० हजार बराबरको टिन उपलब्ध गराएपछि ठुलो राहत मिलेको छ ।
“खरको छानो चुहिएर पानी पर्दा बस्नै समस्या हुन्थ्यो, टिन किनेर घर छाउन सकिएको थिएन, धन कमाउन विदेश गएका श्रीमान्को पनि कमाई राम्रो नभएपछि चुहिने छानोमुनि ओत लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले नगरपालिकाले घर छाउन टिन दिएपछि ओत लागेर बस्न पाउँदा असाध्यै खुशी लागेको छ” उहाँले भन्नुभयो ।
उहाँ जस्तै चुहिने खरको छानोमुनि बसोबास गर्दै आएका नागरिकलाई निशुल्क घर छाउन टिन पाउँदा ठुलो सहयोग पुगेको छ । नगरपालिकाले खरको छानो बिस्थापित गरी टिनको छानो लगाउने कार्यक्रम अन्र्तगत निशुल्क रुपमा टिन वितरण गरिरहेको छ ।
‘रामपुरको नगर खररहित घर’ भन्ने नारा सहित आर्थिक वर्ष २०७४÷०७५ देखि नगरपालिकाले टिनको छानो लगाउने कार्यक्रम सुरु गरेको हो । तीन वर्षको अवधीमा हालसम्म चार सय ३९ घरधुरीमा खरको छानो हटाएर टिनको छानो लगाउने काम सम्पन्न भइसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिनुभएको छ ।
पहिलो वर्ष रामपुर नगरपालिकाले पचास लाख रकम विनियोजन गरी एक सय ४६ खरको छानो भएका घरमा टिनको छानो उपलब्ध गराएको छ भने दोस्रो वर्ष नगरपालिकाले ५० लाख रकम छुट्टयाएर एक सय ३३ घरधुरीमा टिन वितरण गरिएको छ । तेस्रो वर्ष अर्थात गएको आर्थिक वर्षमा रामपुर नगरपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख गरी एक करोडको वजेटमा एक सय ६० घरमा खरको छानो हटाएर टिनको छानो लगाइएको प्रमुख प्रशासकिय अधिकृत आचार्यले बताउनुभयो ।
“खरका छानो भएका घरमा टिनको छानो लगाउने कार्य धमाधम भइरहेको छ, तोकिएको समय अवधी भित्र हामीले खरका छाना बिस्थापित गरी टिनको छानो लगाएर ‘रामपुरको नगर खररहित घर’ भन्ने अभियान पुरा गर्ने गरी कामलाई तीव्र रुपमा अगाडी बढाएका छौँ, यसमा समिति, जनप्रतिनिधि, कर्मचारी सबैले सहयोग गरिरहनुभएको छ” प्रमुख प्रशासकिय अधिकृत आचार्यले भन्नुभयो ।
आर्थिक वर्ष २०७७÷०७८ का लागि रामपुर नगरपालिकाले ‘जनताको अपेक्षा मेयरको शुभेच्छा’ कार्यक्रम अन्र्तगत रु ८० लाख रकमबाट खरको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
समिति र प्राबिधिकले स्थलगत घरको अनुगमन गरी प्राबिधिकले लगत सङ्कलन गरेको विवरण अनुसार घर छाउन आवश्यक पर्ने टिन वितरण गर्ने गरिएको टिनको छानो वितरण समितिका सदस्य तथा कार्यपालिका सदस्य सावित्रा गौतमले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ “आर्थिक समस्याले टिनको छानो छाउन नसकेर खरकै छानोमुनि बसोबास गर्ने नागरिकलाई घर छाउन आवश्यक पर्ने टिन समितिले उपलब्ध गराइरहेको छ, नेपाली कांग्रेसको चुनावी घोषणा पत्रमा उल्लेख भए अनुसार नगरका सबै घरधुरीमा खरको छानो बिस्थापित गरी टिनको छानो लगाएर खररहितको नगर बनाउँदैछौँ” ।
तीन वर्षको अवधीमा नगरपालिकाले एक हजार सात सय १६ बण्डल टिन वितरण गरेको छ । खरका छानो भएका करिव आठ सय घरधुरीमा टिन लगाउने कार्यक्रम अन्र्तगत यसै आर्थिक वर्षभित्र नगरका सबै खरका छानो भएका घरमा टिन लगाउने कार्य सम्पन्न गर्ने नगरपालिकाको लक्ष्य रहेको समितिका संयोजक तथा रामपुर नगरपालिका वडा नं ७ का अध्यक्ष तीर्थप्रसाद पंगेनी बताउनुहुन्छ । खरको छानोमा बसोबास गरेका नागरिकलाई घर छाउन टिनको छानो पाएपछि ठुलो राहत मिलेको छ । नगरपालिका कार्यालयबाट हरेक हप्ताको शुक्रवार कार्यालय समयमा टिन वितरण गर्ने कार्य भइरहेको छ ।








