कालिकोट–जुम्ला सिमाना नाग्म बजारमा पहिरो, तीन घर पुरिए

कर्णाली राजमार्गअन्तर्गत नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिएका छन् । आइतबार आएको सुक्खा पहिरोले तीनवटा घर एकैसाथ पुरिँदा केही मानिस पुरिएको आशंका गरिएको छ ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा पहिरो खस्दा तीनवटा घरमा रहेका केही मानिस पुरिएको आशंकाले खोजतलास भइरहेको घाइते तिलागुफा नगरपालिका– १ का वर्ष १३ का अर्जुन हमालले बताए ।

घाइते हमालका अनुसार उनी आफन्त पर्ने ललित नेपालीको घरमा गएको र आइतबार पहिरो जाँदा तीन घर पुरिएका छन् ।

घाइते हमाललाई पहिरोबाट निकालेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

डिएसपी धामीले भने, ‘घाइतको भनाइलाई आधार मान्ने हो भने घरमा केही मानिस पुरिएको अवस्था छ । जुम्लाबाट प्रहरीको टोली पठाइसकेका छौँ । जेसिबी लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।’

क्षतिको यकिन विवरण अहिले आइनसकेकाले घटनाबारे थप केही भन्न नसकिने उनले बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन भएकाले घरमा बिहान परिवारका सदस्य घरभित्रै रहेकाले मानवीय क्षति भएको स्थानीयको भनाइ उल्लेख गर्दै प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधाको पहुँच नभएका कारण जिल्ला प्रशासन कार्यालय कालिकोट र नजिकै पर्ने जुम्लामा समेत खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीयको गुनासो छ ।

कर्णाली राजमार्गकै किनारका घरहरूमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

तत्काल उद्धार गर्न सके केहीलाई बचाउन सकिने स्थानीय मुनि बुढाले बताए ।

भिरालो जमिनमा रहेको बस्तीका घरहरूको सिरानमा पानीको भेल बगेपछि पहिरो गएको स्थानीयले बताएका छन् ।





error: Content is protected !!