भारतको अन्डमान टापुमा बस्ने दुर्लभ जातिमा पनि देखियो कोरोना

अन्डमान ः भारतको अन्डमान टापुमा बस्ने दुर्लभ जातिमा पनि कोरोना संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार सो टापुमा रहने ग्रेट अन्डमानिज जातिका ४ जनामा कोरोना संक्रमण देखएिको हो ।

हाल यस जातिका जम्मा ५३ जना सदस्य मात्रै जीवित रहेको मानिएको छ । दक्षिण हिन्द महासागरमा रहेको अन्डमान निकोबर द्वीपमा हालसम्म करिब ३ हजार संक्रमित देखिएका छन् । ४१ जनाको मृत्यु भइसकेको छ।

बरिष्ठ स्वास्थ्य अधिकारी अभिजित रायले गतसाता यस जातिका ५३ जनाको कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको जानकारी दिएका छन् ।यस जातिबाट त्यहाँका अन्य लोपउन्मुख जातिमा पनि संक्रमण नफैलियास् भनेर सचेतता अपनाइएको स्वास्थ्य अधिकारी रायले बताए । यो दीपमा लोपउन्मुख ५ जातिहरुको बसोबास रहेको छ । जसमा ग्रेट अन्डमानिज, जारावा, नर्थ सेन्टिनेलिज, ओङ् र सोम्पेन जाति रहेका छन् । यन्य जातिमा पनि कोरोना परीक्षणको तयारी भइरहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

यसमध्ये जारावा र नर्थ सेन्टिनेलिज जनजाति आम व्यक्तिहरुको सम्पर्कमा आएका छैनन् । यसमा नर्थ सेन्टिनेलिज जातिका मानिस त बाहिरी व्यक्तिहरुप्रति आक्रामक रुपमा प्रस्तुत हुन्छन् । त्यसैले उनीहरु बस्दै आएको टापुमा अन्यलाई जाने अनुमति दिइएको छैन ।

सन २०१८ मा जोन एलेन नामका एक अमेरिकी यस टापुमा प्रवेश गर्ने प्रयास गरेका थिए । उनलाई नर्थ सेन्टिनेलिज जातिका मान्छेहरुले धुनुषवाणले आक्रमण गरेको थिए ।

यहाँका जनजातिको बारेमा अध्ययन गर्दै आएको लण्डनस्थित सर्भाभल इन्टरनेशनलका अनुसार सन १८५० मा बेलायतले यस टापुलाई उपनिवेश बनाउँदा यहाँ ग्रेट अन्डमानिज जातिका करिब ५ हजार जनसंख्या थियो । बाहिरी व्यक्तिहरुको त्यहाँ प्रवेशपछि नयाँ रोग देखा पर्‍यो र उनीहरुको मृत्यु हुन थाल्यो त्यसपछि लगातार यिनीहरुको जनसंख्या घट्न थाल्यो ।

सर्भाभल इन्टरनेशनलका शोधकर्ता सोफी ग्रीगले ग्रेट अन्डमानिज जाति कोरोना संक्रमण देखिएको खबरले आफू निकै चिन्तित रहेको बताएका छन् । यसअघि पनि यिनका पुर्खाहरु ठूलो यस्तै महामारीको चपेटामा मरेको उनले जानकारी दिएका छन् ।

अन्डमानिज भाषा बोल्ने अन्तिम व्यक्तिको ८५ वर्षको उमेरमा सन २०१० मा मृत्यु भइसकेको छ ।

यसै द्वीपमा बसोबास गर्ने अर्को दुर्लभ जाति जारावाका सदस्यहरुलाई जंगलको छुट्टै भागमा पठाइएको छ । कोरोना संक्रमण संक्रमणबाट सुरक्षित रहुन भनी ४७६ सदस्य रहेका यस जातिलाई अलग्गै भागमा पठाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यी जातिका व्यक्तिहरु अन्डमान द्वीपको दक्षिण र मध्य भागमाको जंगल क्षेत्रमा बस्दै आएका थिए ।

अन्य जातिमा पनि परीक्षण गरिँदै

स्वास्थ्य अधिकारीहरुले ओङ् जातिका ११५ जनाको परीक्षणको तयारी भइरहेको जानकारी दिएका छन् । त्यसैगरी सोपेन जातिमा पनि परीक्षण गरिने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
ग्रेट अन्मानिज जातिको परीक्षणमा सामेल स्वास्थ्यकर्मीहरुलाई एकसाता क्वारेन्टाइनमा राखिएको थियो ।

बरिष्ठ स्वास्थ्य अधिकारी रायले दिएको जानकारी अनुसार अन्डमान निकोबर द्वीपमा समूहका दश द्वीपमा कोरोना संक्रमण देखिइसकेको छ । यस क्षेत्रमा ५०० भन्दा धेरै टापु रहेका छन् ।
अन्डमानमा कोरोना महामारीसँग लड्नका लागि दुई अस्पताल, तीन स्वास्थ्य केन्द्र र दश वटा केयर सेन्टर रहेका छन् । भारतको अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा गरिएको परीक्षणको अनुपात निकै धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बीबीसी हिन्दीबाट





error: Content is protected !!