सोह्र श्राद्ध पनि ‘भर्चुअल’

पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ ।

‘संक्रमणबाट जोगिनु पनि प¥यो, संस्कार पनि धान्नैप¥यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था छ ।’ जजमान र पुरोहित आ–आफ्नै घरमा बसेर भर्चुअल श्राद्ध गर्न सकिने उनको धारणा छ ।

‘भर्चुअल श्राद्ध’मा ब्राह्मणबाट संकल्प, मन्त्रोचारण हुन्छ अर्कोतिर जजमान कुशलाई ‘ब्राह्मण’ थपना गरी टीका लगाइदिन्छन् । सोह्र श्राद्ध आउन एक साता मात्र बाँकी छ । पितृ स्मरण गर्दै जल र अन्नसहित श्राद्ध गरिन्छ ।

कोरोनाका कारण पहिलेजस्तो नातागोता भेला गरेर श्राद्ध गर्ने स्थिति छैन । श्राद्ध रोक्ने कुरा पनि भएन । यसअघि, ब्राह्मण जजमानका घर पुग्थे । एकातर्फ पितृ स्मरणसहित संस्कृति धान्न श्राद्ध गर्नैपर्ने बाध्यता र अर्कोतर्फ स्वास्थ्यको ख्याल राख्नुपर्ने चुनौती आइपरेको छ ।

विज्ञका अनुसार संक्रमण फैलाउन ‘एकै व्यक्ति पनि काफी’ हुन्छन् । सोह्र श्राद्ध प्रतिपदादेखि औँसीसम्म एकै ब्राह्मणले धेरै घरमा गई श्राद्ध गराइदिन्छन् ।

नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा। रामचन्द्र गौतम संक्रमणकालीन अवस्थामा ‘सकेसम्म एक जना ब्राह्मण मात्र बोलाएर श्राद्ध गर्न आग्रह गर्छन् ।

‘पढ्न सके आफैँले पढेर श्राद्ध गर्ने, नसके स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर ब्राह्मणलाई श्राद्ध गराउन लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘हाम्रो संस्कार र संस्कृति लचकदार भएकाले विश्वास र आस्था नखलबलिने गरी कर्म गरे पनि फल प्राप्त हुन्छ ।’

आध्यात्मिक पत्रकार संघ अध्यक्ष शिरोमणि दवाडी इन्टरनेट वा फोनका माध्यमबाट श्राद्ध गराउँदा दक्षिणा बैंकिङ प्रणालीबाटै पठाउन सकिने बताउँछन् । ‘नभए, पछि भेटेरै दिए पनि हुन्छ,’ उनले थपे ।

भौतिकवादी चिन्तन छाडेर आध्यात्मिक चिन्तन आवश्यक रहेको दवाडी औँल्याउ“छन् । ‘क्रियाकलापमुखी होइन, आध्यात्मिक सोच विचार समयसापेक्ष बनाऔं,’ उनले भने, ‘मनोवैज्ञानिक त्रास हटाउने, चाडबाड र संस्कृतिको मर्म नमर्ने गरी मनाउन सकिन्छ ।’

मानवशस्त्रका विद्यार्थी उज्ज्वल न्यौपाने इन्टरनेट माध्यमबाट भौतिक रूपमा पुरोहित उपस्थित नभई गरिने कर्मकाण्डलाई समयानुसार संस्कृति परिवर्तन हुँदै जाँदाको परिणामका रूपमा लिन्छन् ।

उनका अनुसार प्रविधि सुविधा संस्कृतिमा प्रयोग हुन थालेको छ, कर्मकाण्ड गराउने व्यक्ति कमी र प्रविधि विकाससँगै विषम परिस्थितिका कारण यो अभ्यास सुरु भएको हो ।

सोह्र श्राद्धमा सबै पितृका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ । पिण्ड चिल्लो र गोलो पार्दा ‘सन्तति राम्रा र सुखी हुने’ धार्मिक विश्वास छ । ‘सोह्र सरात’का नामले पनि परिचत श्राद्धमा बुबा, हजुरबुबा र जिजुबुबा तथा मामाघरको हजुरबुबा, जिजुबुबा र बुढा जिजुबुबाको नाम उच्चारण गरिन्छ । यो समय सासूससुरा र गुरुलाई समेत ससम्मान श्राद्ध गरिन्छ । यसो गर्दा सव्यमा विश्वदेव ब्राह्मण र अपसव्यामा पितृ ब्राह्मणलाई पूजा गरिने चलन छ ।

पण्डित एवं सञ्चारकर्मी अच्युत सुवेदी संस्कार र सांस्कृतिक आचरण परिवर्तन गर्नुपर्नेमा जोड दिन्छन् । ‘आस्था नखलबलिने गरी वैज्ञानिक र सुरक्षित ढंगले सोह्र श्राद्ध गर्नुपर्छ,’ उनी भन्छन्, ‘संस्कृति र परम्परामा यासोउसो गर्नू भनेर ठोकुवा नै गर्न सकिन्न तर संक्रमण खतराका कारण विकल्प सोच्न सकिन्छ ।’

ज्योतिष पण्डित बालचन्द्र अधिकारीले ‘भर्चुअल’ माध्यमबाट केही दिनअघि ऋषिपञ्चमी पूजा लगाइदिएको अनुभव सुनाए । ‘त्यो हिसाबले श्राद्ध पनि यही विधिबाट गराउन सकिन्छ,’ उनले भने ।

पत्रकार अर्जुन नेपाल धर्म संस्कतिलाई वैज्ञानिक ढंगले व्याख्या गरिनुपर्ने तर्क गर्छन् भने अन्तरधार्मिक परिषद् संस्थापक सचिव केशव चौलागाईं स्वास्थ्य सुरक्षा मापडण्ड पालना गरेर सोह्र श्राद्ध गर्न सुझाव दिन्छन् । युनिसेफकी सञ्जु भट्टराई यस विषयमा ब्राह्मण–जजमान दुवैलाई सजग र सचेत हुन आग्रह गर्छिन् ।





error: Content is protected !!