माथागढी गाउँपालिकाद्धारा कृषकलाई प्रोत्साहन रकम

—सुशीला रेग्मी

रामपुर (पाल्पा), २७ साउन ः माथागढी गाउँपालिकाले तरकारी, फलफूल तथा दुध उत्पादन गर्ने कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन रकम दिन थालेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन रकम कार्यक्रम सुरु गरेपछि व्यवसायमा कृषक उत्साहित भएका छन् ।

गाउँपालिकामा संचालित माण्डव्य कृषि सहकारी संस्था रुप्से र फूलवारी दुग्ध संस्था कसेनीमा आबद्ध रहेर व्यवसाय गरेका कृषकलाई प्रोत्साहन रकम दिइएको छ ।

माण्डव्य कृषि सहकारी संस्था मार्फत ३९ दुध उत्पादक, ३१ जना तरकारी उत्पादक कृषक र फूलबारी दुग्ध सहकारी संस्थाका १७ जना दूध उत्पादक कृषकलाई प्रतिलिटर दुधको रु दुई र तरकारीको प्रतिकिलो रु तीनका दरले रकम सहयोग गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।

“दुध, तरकारी र फलफूलजन्य कृषि उपज उत्पादन गरी बजारमा बिक्रि गर्ने कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण कार्य सुरु गरेका छौँ, हामीले कृषि समुह र सहकारीमार्फत बिक्रि गर्ने कृषकलाई संस्थाले उपलब्ध गराएको विवरणको आधारमा रकम भुक्तानी गरिदिएका छौँ” अध्यक्ष मगरले भन्नुभयो ।

गाउँपालिकाले प्रतिलिटर रु दुईका दरले १६ हजार ४२५ लिटर दुधको रु ३३ हजार ८५० रकम व्यवसायमा प्रोत्साहनस्वरुप उपलब्ध गराएपछि व्यवसाय बढाउने सोँच बनाएको माण्डव्य कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण भट्टराई बताउनुहुन्छ ।

“गाउँपालिकाले उपलब्ध गराएको रकमले कृषकलाई व्यवसायमा उत्साह थपिएको छ, बजारमा दाना चोकरको मुल्य बढेर आकाशियो तर दुधको मुल्य न्युन हुदा व्यवसाय निल्नु न ओकल्नु जस्तै भएका बखत यस रकमले व्यवसायमा थप उर्जा दिएको छ” अध्यक्ष भट्टराईले भन्नुभयो ।

उहाँ बिगत आठ वर्ष देखि गाईपालन व्यवसायमा आबद्ध हुनुहुन्छ । बन्दाबन्दी, दाना चोखरको समस्या, नाकाबन्दी, दुधको बजार मुल्य नपाउँने समस्याले हैरानी खेपेका कृषकलाई गाउँपालिकाले दिएको रकमले ठुलो राहत पुग्ने उहाँको भनाई छ ।

माथागढी गाउँपालिका २ रुप्से बस्ने टोपराज पौडेलले बन्दाबन्दीको समयमा मात्र सहकारीमार्फत तरकारी बिक्रि गरेबापत प्रतिकिलो रु तीनका दरले रु दश हजार प्रोत्साहन रकम गाउँपालिकाबाट पाएको बताउनुभयो ।

उहाँले अन्य समय भने आफैले विभिन्न बजारमा पुगेर तरकारी बिक्रि गर्नुहुन्थ्यो । बन्दाबन्दीको समस्याले पौडेलले माण्डव्य कृषि सहकारीमार्फत तरकारी बिक्रि गरेपछि उहाँलाई सहयोग रकम मिलेको छ । गाउँपालिकाले प्रोत्साहन रकम दिन थालेपछि तरकारी व्यवसाय बिस्तार गर्ने तयारी गर्नुभएको छ ।

रुप्सेकै अर्का पशुपालक कृषक जीवलाल अर्यालले दुध बिक्रि गरेबापत रु १४ हजार प्रोत्साहन रकम बुझ्नुभएको छ । तीन वर्ष कतार बसेर गाउँमै आएर गाईपालन व्यवसायमा लाग्नुभएका अर्यालले हाल छ वटा उन्नत जातका गाई पालेर दैनिक ३० लिटर भन्दा बढी दुध बजारमा बिक्रि गर्नुहुन्छ ।

सहकारीले घरमै आएर दुध खरिद गरेपछि बजारमा लैजाने झण्झटबाट कृषक मुक्त भएका छन् । गाउँपालिकाले सहकारी तथा कृषक समुहमार्फत दुध, तरकारी, फलफूलजन्य सामग्री बिक्रिको विवरण हेरेर कृषकलाई रकम दिने भएको छ ।

बन्दाबन्दीका कारण दुध, तरकारी, फलफूलजन्य कृषि उपजले बजार नपाउनु, दाना चोकर ढुवानीको समस्या, मुल्य बृद्धिले व्यवसायबाटै पलायन हुने अवस्थामा कृषक थिए । गाउँपालिकाले दिएको प्रोत्साहन रकमले कृषि तथा पशुपालन व्यवसायमा कृषक आकर्षित भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!