यी हुन् हत्यापछि गोंगबुमा सुटकेशभित्र टाउको र खुुट्टाबिनाका शव भेटिएका व्यक्ति

काठमाडौं ः प्रहरीले काठमाडौंको गोंगबुचोक नजिकै आइतबार सुटकेशमा फेला परेको मृतकको तस्वीर सार्वजिनक गरेको छ । शवको सनाखत हुन नसकेपछि प्रहरीले अनुुसन्धानमा सहयोग हुने अपेक्षासहित तस्बिर सार्वजनिक गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत सबैसँग आग्रह गरेका छन् ।

राजधानीको गोंगबु गणेशथाननजिकै आइतबार बिहानै सुटकेसभित्र फालिएको अवस्थामा अन्दाजी ४०–४५ वर्ष उमेरका पुरुषको शव फेला परेको थियो, जसको न टाउको थियो, न त खुट्टा ।

प्रहरीका अनुसार सुटकेसमा हालिएको भाग घाँटीभन्दा तल र घुँडाभन्दा माथि मात्र थियो । त्यसलाई प्लास्टिकमा बेरेर सुटकेसमा राखेर फ्याँकिएको थियो । पहिले सुटकेस फेला पारेको प्रहरीले पछि तालिम प्राप्त कुकुरको सहारामा करिब तीन सय मिटर परको दूरीमा अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अन्यत्र हत्या गरी फ्याँकिएको अवस्थामा शव भेटिएको भए पनि सो शव कसको हो र किन हत्या भयो भन्ने अनुसन्धानकै क्रममा रहेको बताए ।

‘शवको प्रकृति हेर्दा अन्यत्र हत्या गरी त्यहाँ ल्याएर फ्याँकिएको देखिन्छ तर शव कसको हो र किन हत्या भयो भन्नेबारे अहिलेसम्म निष्कर्षमा पुग्न सकिएको छैन, सबै संयन्त्र प्रयोग गरेर शव पहिचान गर्न अघि बढिरहेका छौं,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले राजधानीसँग भने ।

ज्ञवालीका अनुसार शवको पहिचानका लागि घर परिवारसँग सम्पर्कमा नरहेका व्यक्ति, विगतका दिनमा हराएर फेला नपरेका व्यक्तिको विवरणसमेत प्रहरीले हेरिरहेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार हत्या गरिएका व्यक्ति ‘मंगोलियन अनुहार’का छन् । सोही हुलियाअनुसार प्रहरीले शवको सनाखत गर्न खोजिरहेको छ ।

महाशाखा प्रमुख थापाले हत्याको प्रकृति हेर्दा व्यक्तिगत रिसिइबी, आर्थिक लेनदेन तथा अन्य कुनै पनि कारणले हत्या गरिएको हुन सक्ने जनाए ।
‘शवको प्रकृति हेर्दा अत्यन्तै क्रूर रूपमा हत्या गरी फालिएको छ, व्यक्तिगत रिसिइबी, आर्थिक लेनदेन तथा अन्य कुनै पनि कारणले हत्या गरिएको हुन सक्छ,’ महाशाखा प्रमुख थापाले भने ।

शव फेला परेको स्थाननजिकै समेत सूक्ष्म संयन्त्र प्रयोग गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले त्यसका लागि पाँच समूह खटाएको छ । यसैगरी, कुकुरको सहायताबाट समेत घटनास्थल वरपर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्लास्टिकमा शव पोको पारिएको अवस्थामा फेला पारेका कारण प्लास्टिक पसलहरूमा समेत सोधपुछ र सिसिटिभी फुटेज हेर्ने काम गरिरहेको छ ।

प्रहरीले आइतबार नै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको थियो ।





error: Content is protected !!