बारेकोटका पहिरो पीडितलाई अमेरिकाबाट सहयोग

बारेकोट- असार २५ गतेको अविरल वर्षातका कारण पहिरोले घर नै पुरेपछि आफन्त गुमाएका बारेकोट गाउँपालिका –४ सार्कीटोलका २ परिवारलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीले आर्थिक सहयोग गरेको छ । परिवारका सदस्य गुमाउनुका साथै घरबास नै नभएर विपत्तीमा परेका किशन सार्की र तुलबहादुर सार्कीका परिवारलाई प्रति परिवार ५५ हजार सातसय ७८ रुपियाँका दरले कूल एकलाख ११ हजार पाँचसय ५६ रुपियाँ सहयोग गरिएको हो ।
नासो कम्युनिटीका सल्लाहकार प्रकाश नेपाल लगायतको टोलीले पठाएको उक्त रकम शुक्रबार बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले पीडितलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम पाएपछि पीडित परिवारले राहतको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । सहयोगका लागि गाउँपालिका अध्यक्ष शाहले नासो कम्युनिटी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभयो । यस्तै विपत्तीमा परेकाहरुको सहयोगका लागि आफूहरुले खाजा खर्च रकम कटाएर बचत गर्ने गरेको र सोही रकमबाट बारेकोटका पहिरो पीडितलाई सहयोग गरेको नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले बताउनुभयो । बाढी पहिरोमा परेर विस्थापित भएका अन्य परिवारलाई समेत सहयोग गर्ने चाहना भएपनि सीमित स्रोतले गर्दा मृतकका परिवारलाई मात्र रकम उपलब्ध गराउन सकिएको नासो कम्युनिटी अमेरिकाले जनाएको छ ।
उक्त पहिरोमा परी किशन सार्कीका बुवा, बहिनी र भाइले ज्यान गुमाएका थिए भने आमाको अझैसम्म लास समेत भेट्टिएको छैन । त्यस्तै पहिरोमा परेर तुलबहादुर सार्कीको श्रीमति, २ छोरी र १ छोराले ज्यान गुमाएका थिए भने किशनको घरमा पाहुना आएका कुशे गाउँपालिका –९ चौराटा जाजरकोटका ४ जनाको समेत मृत्यु भएको थियो । अहिले मृतकका परिवारका साथै पहिरोको जोखिममा रहेका अरु परिवारकाहरु समेत जंगलमा पाल टाँगेर बस्न बाध्य भएका छन् ।





error: Content is protected !!