रामपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिदै

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० साउन ,पाल्पाको रामपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिन थालेको छ । बजारमा बिक्रिका लागि राखिएका सामानमा पटक पटक म्याद नाघेका तथा गुज्रेका फेला पर्नु, सम्बन्धित कार्यालय संघ संस्थामा दर्ता तथा नविकरण नगरेको पाइन थालेपछि अनुगमन कार्यलाई तीव्रता दिएको हो । नगरपालिकाले मंगलवार बेझाड बजारका पसलहरुमा छड्के अनुगमन गरेको छ ।

खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तानसेन पाल्पाको सहकार्यमा अनुगमन भएको छ । नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा बेझाड बजारका विभिन्न खाद्यान्न तथा किरानाका पसल अनुगमन गरिएको छ । उपप्रमुख आचार्य सहित नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तानसेन पाल्पाका प्रमुख नरेश श्रेष्ठ, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय, आन्तरिक लेखा परिक्षक अधिकृत हृदयेश पन्थी, रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल, ईलाका प्रशासन कार्यालय रामपुरका प्रतिनिधि श्रीकृष्ण न्यौपाने, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, नगर कार्यपालिका सदस्य सावित्रा गौतम, पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

बेझाड बजारका बृन्दा स्टोर्स, न्यू सर्वश्रेष्ठ किराना पसल, अर्जुन किराना पसल, स्वस्तिक स्टोर्स र अभियान सप्लायर्समा छड्के अनुगमन भएको नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डे
यले जानकारी दिनुभएको छ । अनुगमनका क्रममा म्याद नाघेका तथा गुजे्रका साढे पाँच किलो घ्यु, ११ थान कुकिज बिस्कुट, दुई किलो बदाम, ६ थान कुरकुरे, ४९ थान लिकर्स कुरकुरे, २४ थान कबड्डी (कुरकुरे), साढे सात किलो सुजी फेला परेको सुचना अधिकारी पाण्डेयले बताउनुभएको छ । अनुगमन गरिएका पसलबाट फरक कम्पनीबाट उत्पादित तीन थान तोरीको तेल, दुई थान प्रशोधित पिउने पानी, ससेज लगायतका सामग्री नमुना सङ्कलनका लागि लिइएको खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तानसेन पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।
अनुगमनका क्रममा पसलमा मुल्य सुची नभएको, खाद्य तथा अखाद्य सामग्री एकै ठाउँमा राखिएको, नगरपालिकामा दर्ता नभएको पाइएको छ । प्रक्रिया पुरा नगरी व्यवसाय संचालन गरेका व्यवसायीलाई तत्काल नियम अनुसार प्रक्रिया पुरा गरेर मात्र व्यवसाय चलाउन अनुरोध गरिएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । अनुगमनमा फेला परेको म्याद नाघेका तथा गुज्रेका सामान नगरपालिका परिषरमा नष्ट गरिएको छ ।










