नेकपा विवाद गम्भीर मोडम- अध्यक्ष ओलीले स्थायी कमिटी बैठक फेरि स्थगन गर्न खोजे अर्का अध्यक्ष प्रचण्डले अघि बढाउने चार नेताहरूबीच समझदारी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको संकट गम्भीर अवस्थामा आइपुगेको छ ।

पटक–पटक स्थगित भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले फेरि स्थगित गर्न खोजेमा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि बढाउने वरिष्ठ चार नेताहरूबीच सहमति भएको छ ।

अध्यक्ष दाहालनिवास खुमलटारमा सोमबार भएको छलफलमा सचिवालयका सदस्यहरू एवं वरिष्ठ नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले यस्तो सहमति गरेका हुन् ।

स्रोतका अनुसार मंगलबारका लागि पुनः तय गरिएको स्थायी कमिटी बैठक अर्का अध्यक्ष ओलीले स्थगन गर्न खोजेमा अर्का अध्यक्ष दाहालले निरन्तरता दिने सहमति भएको छ ।

यी चार नेताहरूबीच सोमबार दुई घन्टाभन्दा बढी समय भएको छलफलपछि उनीहरू यस्तो सहमतिमा पुगेको स्रोतले जानकारी दिएको छ ।

यसअघि पटक–पटक भएको स्थायी कमिटीको बैठक स्थगन दुई अध्यक्ष ओली र दाहालले आपसमा सल्लाह गरी स्थगित गर्ने गरेका थिए ।

यही साउन ६ गते छोटो समय बसेको स्थायी कमिटीको बैठक १३ गते मंगलबारसम्मका लागि स्थगित गरिएको थियो ।

पार्टीभित्रको विवाद छलफलबाट नै समाधान गर्ने गरी बैठक स्थगित गरिएको भए पनि यसबीचमा ओली र दाहालबीच सहमति भने हुन सकेको छैन ।

यही साउन ९ गते उनीहरूबीच करिब ४५ मिनेट छलफल भएको भए पनि उनीहरू कुनै निष्कर्षमा भने पुग्न सकेका थिएनन् ।

त्यसपछि पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको र उनकै सक्रियतामा निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएका थिए ।





error: Content is protected !!