कर्णालीका मुख्यमन्त्रीलाई प्रश्न – आफ्नालाई पर्दा साथ, अरूलाई पक्षपात ?

सुर्खेत ः कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ मा २०७५ पुस ८ गते शनिबार राति भीषण आगलागी भयो । उक्त आगलागीमा परी ३२ घर जलेर खरानी भए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै गृह जिल्लामा यत्रो क्षति भएपछि प्रदेश सरकार तत्काल तात्यो । सरकारले राहत र उद्धारका लागि कुनै कसर बाँकी राखेन । तत्काल बैठक बसेर सरकारी तथा गैरसरकारी संस्थालाई सहयोगका लागि अपिल गर्यो ।
प्रदेश सरकारले त्यतिबेला त्यहाँका लागि आधा दर्जनभन्दा बढीपटक हेलिकप्टर उडायो । उद्धारमा तदारुकता र राहतका सामग्रीको लाइन लगाइयो । त्यतिले नपुगेर प्रदेश सरकारले प्रतिपरिवार ५ लाखका दरले राहत उपलब्ध गरायो ।
प्रदेश सरकार नजिकको सरकार बनेको भन्दै उतिबेला हाइहाई भयो । सबै मिडियाले प्रमुखताका साथ समाचार छापे, सरकार मख्ख भयो । २०७५ पुस १४ गते मन्त्रिपरिषद् बैठक बसेर उक्त रकम दिने निर्णय गरेको थियो । घटना घटेको एक हप्ता नबित्दै सरकारले उक्त निर्णय गर्यो ।
२०७४ फागुन ६ गते मन्त्रिपरिषदले पूर्णता पाएको थियो । सोही महिनाको १९ गते हुम्लाको ताँजाकोट गाउँपालिका १ भतनुमाका ३० घरमध्ये २५ घर जलेर नष्ट भए । लगत्तै मुख्यमन्त्री शाहीकै नेतृत्वमा ११ जनाको टोली पुगेको थियो ।
आगलागीबाट लत्ताकपडा, अन्नलगायत सम्पूर्ण समान सखाप भएको थियो । त्यहाँ भएको ठूलो क्षतिमा सरकारको उचित सहयोग उपलब्ध भएन । मुख्यमन्त्री शाही लगायतको टोली हेलिकप्टरमा घुमेर फर्कियो । प्रदेश सरकारले उनीहरूलाई न राहत दिन चाह्यो, न त उनीहरूको घर बनाउनका लागि बजेट दिन आवश्यक नै ठान्यो ।
२०७७ साल असार २५ गते जाजरकोट गाउँपालिकाको बारेकोट वडा नं। ४, ५, ६ मा भीषण पहिरो गयो । पहिरोले ५५ घर पूर्ण रूपमा क्षति गरेको छ भने ४२३ घर चर्केका छन् ।
पहिरोको उच्च जोखिममा ४७७ घर रहेका छन् भने जोखिममा १९७ घर रहेका छन् । घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुई युवा अहिले पनि बेपत्ता छन्, तर प्रदेश सरकारले उक्त घटनालाई सामान्य रूपमा लिएको पाइएको छ ।
‘मुख्यमन्त्री शाहीको गृह जिल्लामा यति ठूलो घटना भएको भए अहिलेसम्म त्यहाँ संस्थादेखि सहयोगीहरूको लाइन लाग्थ्यो । यहाँ खाने कुरा पाएका छौं, न त लगाउने कपडा नै छ । विद्यालयको कक्षा कोठालाई घर बनाई बसेका छौं,’ बारेकोट– ४ का एक पहिरोपीडितले भने, ‘प्रदेश सरकार हाम्रा लागि हो कि भनेको, होइन रहेछ ।’
आफ्नो जिल्लाका कोही व्यक्तिलाई सामान्य चोट लाग्दा पनि सेनाको हेलिकप्टर वा निजी हेलिकप्टर चार्टर गरेर उद्धार गर्न पठाउने कर्णालीका मुख्यमन्त्री यतिबेला काठमाडौंमा छन् ।
सिंगो जाजरकोटको बारेकोट रोइरहेको समयमा उनको मनमा कुनै पनि दयाभाव देखिएको छैन । सोही क्षेत्रबाट निर्वाचित सांसद् शक्ति बस्नेत संघीय सरकारमा वन मन्त्री छन् ।
‘वनमन्त्री, मुख्यमन्त्री लगायतको टोली आए तर उनीहरूले आश्वासनबाहेक अन्य केही दिएनन्,’ बारेकोटका स्थानीय मनबहादुर विश्वकर्माले भने, ‘पीडितलाई आश्वासन होइन, राहत चाहिएको छ, पाल चाहिएको छ, चामल चाहिएको छ । नेताहरूको चिल्लो भाषणले केही हुनेवाला छैन ।’
प्रदेश सरकारले मृत्यू भएका परिवारलाई राहत दिने भनेर भनेपनि लिखित रूपमा निर्णय गरेको छैन । मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको छ । त्योबाहेक पहिरोले आतंक मच्चाई बेघर बनाएको १७ दिन पुग्दा पनि न प्रदेश सरकारले राहत पुर्याएको छ, न त उनीहरूको व्यवस्थापनका लागि कुनै काम नै गरेको छ ।
सोही स्थानबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद एवं प्रदेश सभाको अर्थ, प्राकृतिक स्रोत तथा साधन व्यवस्थापन समितिका सभापति गणेशप्रसाद सिंह घटना घटेको भोलिपल्टै घटनास्थलतर्फ गए । उनी साउन १० गते शनिवार राति मात्रै वीरेन्द्रनगरमा आएका थिए ।
‘त्यहाँको अवस्था हेर्दा दयनीय छ । विश्व खाद्य कार्यक्रमले केही राहत दिएको छ, हामीले केहि राहत लिएर गएका थियौं, त्यो पर्याप्त छैन,’ उनले आइतवार पत्रकारसँग दुखेसो पोखे, ‘१ हजार ५५ घर परिवार विस्थापित बनेका छन् । यो सिंगो कर्णालीका लागि विपद् हो ।’
बारेकोट गाउँपालिकाले क्षति विवरण संकलन गरिसकेको उनको भनाइ छ । ‘६ करोड ४८ लाख १७ हजार बराबरका घर भत्किएका छन् । १ करोड ३६ लाख ४४ हजार ४ सय बराबरको शौचालयमा क्षति पुगेको छ । ४१ लाख ८० हजार बराबरको खानेपानी संरचना बगेको पाइएको छ, यी सहित अन्य केही गरी ८ करोड ८८ लाख ८६ हजार ४ सय बराबरको आर्थिक क्षति भएको छ ।’
उनले थपे, ‘त्यहाँ बस्ने नागरिकको जिउधन रक्षा गर्नका लागि या त उपयुक्त स्थानमा बसाईं सार्न आवश्यक देखिएको छ, कि त्यहीँ राख्ने हो भने पनि त्यहाँको भूबनोटको वैज्ञानिक परीक्षण गराएर उनीहरूलाई पुनस्र्थापित गर्न आवश्यक छ । यसका लागि म सबै संघ–संस्थालाई सहयोगका लागि अपिल गर्दछु ।’
पहिरोले बारेकोट– ४ को गोठगाउँ, जिरी र सार्की टोल, ५ नम्बर वडाको कालाखोली पाखा, ६ को धुमलगायतका क्षेत्रमा क्षति पुगेको लोकान्तरमा खवर छ ।।










