विकटको पीडा ः कत्तै खाना नपाएर कत्तै उपचार नपाएरै अकालमा मृत्यु

हेमन्त केसी
जाजरकोट , ७ साउन ः जाजरकोटमा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जना आहाराको अभावमा मृत्यु भएको छ भने एक जना लडेर मृत्यु भएको छ ।


जिल्लाको बारेकोट गाउँपालिका – ४ सार्कीटोलमा असार २५ गते आएको पहिराले घर बगाउदा विस्थापित भएका दलबीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्वर पुनले बताएका छन् । त्यस्ते उनले खानको अभावमा जटिल अवस्था आएको समेत बताएका छन् । बारेकोट गाउँपालिका ७ सुवाकोटकी २१ बर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टा पछि मृत्यु भएको छ ।


स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्य अबस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समय पछि पेट दुखेर एकाएक रक्तचाप बढेको र उपचार गर्दागर्दै मृत्यु भएको बताइन् । बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

त्यस्तै उत्ता जिल्लाको जुनिचाँदे गाउँपालिका –३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भए लगत्तै बच्चाको जन्मा दिएर अत्यधिक रक्तश्राव भएका कारण मृत्यु भएको परिवारले जानकारी दिएको छ । आईतबार उनको मृत्यु भएको थियो ।
गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाउँलेलाई खबर गर्दा गर्दै ज्यान गएको छिमेकीले रत्न पुरीले बताए ।

  
गुणस्तर स्वास्थ्य सेवा दक्ष जनशक्ति र आधुनिक उपकरणको अभावमा ग्रामिण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन । बारकोटको सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आज नलगाड नगरपालिका ५ की २६ बर्षीया पार्वती वलीलाई हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत लिईएको छ । सुत्केरी हुँने मिति साउन २१ गते भएपनि गएराती घरमा लडेका कारण पेट दुखेपछि समस्या आएको थियो ।
समस्य आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्ली स्थित स्वास्थ्य संस्थामा पुर्याएको भएपनि बच्चा पेटमै मृत्यु भईसकेको कारण आमाको ज्यान बचाउन प्रदेश अस्पताल सुर्खेतमा लिईएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । राष्टपती उद्धार कोष मार्फत उनलाई उद्धार गरिएको थियो । घाईते गर्भवतीको उद्धार गर्न नलगाड नगरपालिकाले जिल्ला प्रशासन कार्यालय , जाजरकोटलाई अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।


हिजो भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे गाउँपालिका २ का नैने दमाईलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा आज हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । नैनेसँगै रहेका ५४ बर्षीय सार्की दमाईको उपचार गर्दा , गदै ज्यान गईसकेको छ ।





error: Content is protected !!