आमा, छोरी मान्छेको घर हुँदैन हो ?

राधिका अधिकारी । २०४६ साल असारको एक साँझ आमालाई असजिलो भयो । आमालाई असजिलो बनाउने म थिएँ, उहाँको पेटमा । रात छिप्पिँदै गयो, आमालाई व्यथाले झन् च्याप्दै लग्यो । पीडा र छट्पटी बढेसँगै आमालाई घरबाट बाहिर निकालियो । पिँढीको एक छेउमा गुन्द्रीको बार लगाइयो र म त्यही गुन्द्रीले बेरेको सानो चेपमा जन्मिएँ ।

आफ्नो जन्मकथा आमाबाट सुन्दा १० वर्षकी थिएँ । मेरो कपाल मुसार्दै आमाले मेरो जन्मकथा भन्दैगर्दा उहाँका आँखाबाट किन आँसु झरे ? त्यसबेला मैले बुझ्न सकिन ।

म जन्मिँदा खुब बर्सिए’थ्यो रे आकाश । सायद, आफैँ जन्मिएको घरभित्र आफ्नी छोरी जन्माउन नपाउँदा त्यसैगरी रोए’थ्यो होला मेरी आमाको मन।

खै, कुन विवशताले मेरी गर्भिणी आमालाई, गर्भमै सन्तान बोकेर मामाघर पुर्‍यायो । आफैँ जन्मेहुर्केको घरभित्र आफ्नी छोरी जन्माउन नपाउँदा पोल्यो कि पोलेन होला मेरी आमाको मन ? ११ दिनसम्म असारे झरीमा छोरी च्यापेर पिँढीमा बिताएका मेरी आमाका अनिँदा रातहरूसँग किन पग्लिन सकेन मेरो समाजको सम्वेदना र भत्किन सकेन एउटा कुसंस्कारको पर्खाल ?

त्यसताका मेरी आमाले घरभित्रै सुत्केरी हुन्छु भनेर किन विद्रोह गर्न सक्नुभएन ? त्यतिबेला आकाशबाट असारे झरी बेसी झर्‍यो होला कि मेरी आमाको आँखाबाट आँसु ? समयको एक हुण्डरी निलेर बाँचेकी आमालाई आजसम्म सोध्ने हिम्मत गर्दैन मेरो मनले।

जे होस् म मामाघरमा जन्मिएँ । आमा पनि ११ दिनपछि तङ्ग्रिनुभयो । मेरो न्वारन गर्न भने मेरो बुबाको बुबा अर्थात् आमाका ससुरा आउनुभयो । न्वारन भएको केही दिनमा हजुरबाले मलाई आफ्नो घर लैजानुभयो । आमा जन्मिएको घरमै जन्मिएर पनि म त्यो घरकी भइनँ । मेरो आफ्नो घर त मेरो बुबाको घर पो रहेछ । न्वारनको केही दिनमा घर पुगेकी मैले त्यही घरमा बिताएँ, जीवनको लगभग दुई दशक समय । यो अवधिमा मैले घामपानी, हुरीबतास र रहरहरू कटाएँ । मलाई कहिल्यै लागेन यो घर पनि मेरो होइन । तर, कुनैदिन मलाई यही घरले पराइको व्यवहार गर्नेछ भन्ने मलाई लागेन।

तर, विडम्बना एकदिन बुबाले मेरो निधारमा कसैको नामसहितको टीका टाँसिदिएपछि यति लामो समय आफ्नो ठानेको घर आफ्नोे भएन । छिनभरमै माइतीघरमा परिणत भयो । घरमात्रै होइन, जन्मिँदै लिएर आएको गोत्र पनि मेरो भएन । विवाहमण्डपमा बाहुनले मेरो कानमा उनको मुख जोड्दै गन्हाउने स्वास फालेर भनेथे– मैले पाएको अर्को गोत्र । उनको आवाजसँगै निस्किएको सास मेरो नाकमा ठोक्कियो । तर, मेरो कानले पटक्कै ठम्याउन सकेन- विवाहपछि म कुन गोत्रकी भएँ भनेर ।

त्यसपछि म मेरो घर मानेर कसैको घरमा भित्रिएँ । दुःखै–दुःखको पहाडले किचिएर म सुखीपुर पुगेँ । जीवनको दुईवर्षका घाम–पानी त्यही घरको छानोले छेक्यो । अबको मेरो आयुभरिको घर यही हो भनेर खुब मायाले मुसारेँ । लिपपोत गरेँ । घरभित्र कयौं खुसी पनि पोखिए होला, आँसु पनि पोखिए होला । तर, खुसी र आँसुले मात्रै घर, घर बन्दो रहेनछ । सुखीपुरबाट पनि दुःखका थुप्रै चाङ बोकेर एकदिन म निस्किएँ । हिजोआज डेरामा बस्छु ।

घर भन्नु घामपानी ओत्ने छानो मात्रै होइन रहेछ। हिजोआज मन ढुङ्गाजस्तै गह्रौं हुन्छ। घर भन्नु त भावना रहेछ । यहाँ हरेक पटक ठोक्किने अपरिचितहरूले कयौं पटक मन पतझर बनाइदिएका छन्, मेरो घरको ठेगाना सोधेर । म आफैँ भने ठेगाना हराएकी यात्री भएकी छु । सुन्नेहरूलाई सामान्य लाग्दो हो । तर, आफैँलाई भने जति बुझाए पनि मन ऐ‌ंठन पर्ने रहेछ बेला-बेला ।

माइतीघर पनि आफ्नो घर हुँदा मात्रै हुँदो रहेछ। आफ्नो घर नै नभएपछि कसरी माइतीघर भन्नु ? मेरो घर यही हो भन्न पनि मन पटक्कै तयार हुँदैन । मेरा बुबाले केही लाख ऋण काढेर माइती बनाएका हुन्। मेरै घर बसाउन बाले काढेको ऋणका आसामीले बाको दैलो धाउन नछोड्दै भत्किएको मेरो लोग्नेको घरलाई आफ्नो भन्ने अधिकार एउटा कागजले छिनिसक्यो। त्यसपछि पुनः अर्को घर जोड्ने हिम्मत ममा आएन।

हरेक पर्वमा सबै आफ्ना घर जान्छन् । म फेरि अमिलिन्छु । कुन गाउँको टिकट काँटेर, कुन दिशाको गाडी समातौं। समयसँग विद्रोह गर्न नसकेकी आमालाई बारम्बार सम्झन्छु । आज समय फेरिएको छ। म हरहिसाबले विद्रोह गर्न सक्छु, मेरो अधिकारका लागि मेरो मनका लागि । तर, समय फेरिएर मात्रै पनि त नहुने रहेछ ।

समयको यो बिन्दुमा उभिएर म को-कोसँग विद्रोह गरूँ। विद्रोह गर्न सबैभन्दा सजिलो कानुनसँग हो । तर, कानुनले त मनको गाँठो फुकाउनै सक्दो रहेनछ। कानुनको भाषाले झन् धेरै अन्योलता थपिदिँदो रहेछ। समाज, मन र कानुनको भाषामा आकाश र जमिनको जस्तै फरक रहेछ । कानुनी भाषा र बहस गर्नेहरूको मनसँग कुनै साइनो नै हुँदैन रहेछ । उसले त केवल आफ्नै भाषामा छुट्याइदिन्छ घर अनि परिवारसँगको नाता ।

फेरि, नाता भन्नु कानुन मात्रै पनि त होइन रहेछ । आजभन्दा ८ वर्षअघि नै ‘यो तेरो अब कोही होइन’ भनेर कानुनले स्पष्ट रूपमा भनिसकेको साइनोको आज पनि माया लागेर आउँछ । हिजोआज म हरेकपटक घर जान भनेर जब राजधानीबाट निस्कन्छु, कयौं ठाउँमा टक्क रोकिन्छ पाइतालाको गति र मन स्थिर हुन्छ । म जाँदैगर्दा सबैभन्दा पहिले म जन्मिएको घर आइपुग्छ। रात्रि बस समातेर जब म राजधानीबाट निस्कन्छु, झण्डै रातको १२ बजे हेटौंडा पुगिन्छ । मेरो पहिलो घर अर्थात् म जन्मिएको घर । एक पटक मन भन्छ– यतै झरूँ । फेरि सम्झन्छु, जन्मिएर जीवनका कयौं वर्ष गुजारेर मेरी आमाले त मेरो घर भन्न पाइनन् । म कसरी यो घरमाथि आफ्नो अपनत्व पोखौं । फेरि मैले आफू जन्मिएको घर भन्दैमा यसले मेरै घरले झैं आश्रय दिन्छ नै भन्ने पनि के छ र ? म फेरि भत्कन्छु र बसकै गतिमा समाहित गर्छु आफूलाई ।

त्यसपछि फेरि जिरो किलोमा अर्को पटक मन अल्झिन्छ। जहाँको स्टेशनबाट केही वर्ष मैले सुखका सपनासँगै सुखीपुरको यात्रा नापेकी हुँ । तर, मन अडिएर पनि व्यवहारले पाइला अडिन नदिने रहेछ । व्यवहारभन्दा ठूलो हुनै सक्दो रहेनछ मन। सकिए पनि सम्बन्ध सकिने रहेनछ संवेदना । जन्मघरप्रतिको आफ्नो अपनत्व त्यसै सकिने रहेछ माइतीघर भएपछि । हिजो जसरी आज हक जमाउनै सक्दैन मनले। जसले जति आफ्नोपन पोखेर यो तेरै घर हो भने पनि ।

हिजोआज लाग्छ, छोरी भएर जन्मनु भनेको सानो कुरा होइन रहेछ । छोरीहरूले त निक्कै कडा मुटु लिएर जन्मिनुपर्दो रहेछ । अपसोच, मेडिकल साइन्सले आकारमै सानो मुटु छोरीको हुने कुरा प्रमाणित गरिसकेको छ। महिला मान्छेहरूले अक्सर लोग्नेमान्छेको भन्दा कमजोर मन बोकेर निक्कै कडा चट्टाने मनिस्थितिहरूसँग मुकाबिला गर्नुपर्ने रहेछ। कानुन र भावनाले के परिभाषित गर्छ त्यो अर्कै कुरा हो । व्यवहारले भने सधैं चिमोटिरहने रहेछ एउटी एकल महिलाको छातीमा । तर, विडम्बना दुख्यो भनेर दुःख बिसाउने काँधहरू साइनो बदलेर दूर भईजाने रहेछन्, जीवनबाट । अनलाइनखबरबाट





error: Content is protected !!