पर्यटकको पखाईमा शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज , हिउँ चितुवा र फोक्सुण्डो ताल पर्यटन आर्कषणका केन्द्र

विष्णुप्रसाद देवकोटा

डोल्पा, पर्यटकको पखाईमा शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज । वैशाखको दोस्रो सातादेखि जेठको अन्तिम साताका र असोज , कात्तिक महिना पर्यटकको लागि अनुकल समय मानिन्छ डोल्पा।

विगतका वर्ष यति बेला शे फोक्सुण्डो राष्ट्रिय निकुन्जमा विदेशी पाहुनाको चहलपहल हुने गर्थ्यो। डोल्पाको एक मात्र विमानस्थल जुफाल विमानस्थल आसपासका होटलदेखि फोक्सुण्डो प्रवेशद्वार सुलिगाडस्थित निकुन्ज कार्यालय हुँदै फोक्सुण्डो तालसम्मको पैदल दुरी भित्र पर्ने होटलहरू विदेशी पाहुनाले खचाखच हुन्थे।

पर्यटकका लागि निकुन्ज क्षेत्र भित्र पाइने प्राकृतिक सम्पदाको मनोरम दृश्यावलोकन गर्ने यो उपयुक्त समय पनि हो। शे फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र रहेका सुन्दर रमणीय प्राकृतिक मनोरम छटाले भरिपूर्ण फोक्सुण्डो ताल, तालबाटै बगेको फोक्सुण्डो झरना, दुर्लभ बन्यजन्तु हिउँ चितुवा र श्री वाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलगायत यहाँको प्रकृति प्रदत्त जैविकविविधता विदेशी पाहुनाको आर्कषणका केन्द्र हुन्।

जसले विदेशी पाहुनालाई डोल्पाको भूगोल तिर तानिरहन्छन्। तर यतिखेर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असरबाट मानव जीवनसँगै डोल्पाको समग्र पर्यटन क्षेत्र समेत अछुतो रहन सकेन।

जसका कारण यतिखेर अन्य पर्यटन क्षेत्रमा सन्नाटा छाएझै शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जमा पनि पर्यटक आवागमन नहुँदा सन्नाटा छाएको छ। स्वदेशी तथा विदेशी पर्यटकको आवागमन परै जाओस् शे – फोक्सुण्डो निकुन्ज क्षेत्र भित्र बसोवास गर्ने स्थानीय बासिन्दा पनि काम विशेषबाहेक ओहरदोहर गरेको देखिन्न।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष ०७५र०७६ मा १८४८ जना पर्यटकले निकुन्ज क्षेत्र भित्रको प्राकृतिक सम्पदाको दृश्यावलोकन गरेका छन्। जसमध्ये सबै भन्दा बढी कात्तिक महिनामा पर्यटक आएका थिए।

डोल्पा आफैंमा दुर्गम र राज्यको दुरदराजमा अवस्थित प्राकृतिक संग्रहालयको जिल्ला हो। जैविक विविधता, अलौकिक भू दृश्य, पुरातात्विक महत्व बोकेका मठमन्दिर, गुम्बा, छोर्तेन, फोक्सुण्डो ताल, अक्षुण स्थान र हिउँचितुवाको घनत्व डोल्पाका प्रकृतिप्रदत्त गहना हुन्।

यसको साथै क्षेत्रफलको हिसावले नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुन्ज रहेको जिल्ला पनि हो डोल्पा। डोल्पा र मुगु जिल्लाको केही भागलाई समेटर २०४० सालमा घोषणा गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको क्षेत्रफल ३ हजार ५ सय ५५ बर्ग कि।मि छ। २१३० देखि ६८८५ उचाईमा रहेको निकुञ्जभित्र विश्वकै उच्च गुणस्तरको बहुमुल्य जडिबुटी यार्सागुम्बा, नेपालमै सबैभन्दा बढी हिउँ चितुवाको घनत्व भएको संरक्षित क्षेत्र, विश्व मै पहिलो पटक हिउँ चितुवाको रेडियो कलरमार्फत अध्ययन अनुसन्धान भएको निकुञ्ज, नेपालकै अग्लो मानववस्ती रहेको धो ताक्सी उपत्यका, नेपालको सबैभन्दा ठूलो झरना फोक्सुण्डो झरना, विश्व रामसार सूचीमा समावेस भएको फोक्सुण्डो ताल र विश्वकै बहुचर्चित चलचित्र क्याराभानको छायाँकन भएको, भूगोलको हिसावले पनि शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज पर्यटन विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम राष्ट्रिय निकुन्ज भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु वनस्पती र भू -दृश्यको संरक्षण व्यवस्थापन र उपयोगको लागि छुट्याइएको क्षेत्र सम्झनुपर्ने उल्लेख छ। यो कानुनी परिभाषामा उपयोग भन्ने शब्दावलीको प्रयोग भएकोले सोही बमोजिम २०३६ सालमा बनेको हिमाली राष्ट्रिय निकुन्ज नियमावलीलाई २०७१ साल वैशाख २५ गते संशोधन गरेर निकुन्ज तथा मध्यवर्ती क्षेत्रको वनबाट यार्सागुम्बा संकलन गर्न पाउने कानुनी व्यवस्थाले यार्सागुम्बाको पारिस्थितीकीय मूल्य, प्रादुर्भाव मुल्य, वातावरणीय मुल्य, आर्थिक मुल्यलाई जोड दिइएको छ।

आध्यामिक पर्यटनको प्राङ्गढ फोक्सुण्डो

समुद्र सतहदेखि ३ हजार ६ सय ३५ मिटरको उचाईमा छ फोक्सुण्डो ताल। १ सय ४५ मिटर गहिरो र विश्वकै एक वैभवशाली ताल हो। यहाँको जैविक विविधता, प्राकृतिक सुन्दरता र हिमाली तालतलैया स्वदेशी तथा विदेशी पर्यटकका आर्कषण हुन्। यस तालले पस्केको प्राकृतिक सुन्दरताले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्छ। भुगोलको रूपमा जतिसुकै विकट भए पनि प्राकृतिक सुन्दरताले पद यात्रामा रमाउने स्वदेशी तथा विदेशी पर्यटकलाई नीलमणी जस्तो टल्कने र अनेकन रुप फेरिरहने फोक्सुण्डो तालले डोल्पातिर आर्कषित गरिरहेको छ।

सफा, स्वच्छ, सुन्दर र निर्मल पानी, कान्जिरोवा हिमालको काखैमा रहेको प्रकृतिको अलौकिक उपहारको रुपमा रहेको फोक्सुण्डो तालले कहिले गाडा निलो त कहिले फिक्का र हरियो देखिने गरि छिनछिनमा आफ्नो रुप बदलिरहने गर्छ। फोक्सुण्डो तालको यही विशेषता बोकेको पानीले त्यहाँ पुग्ने जो कोही पर्यटक सुन्दर प्रकृतिको उपहारप्रति मोहित भएर प्राकृतिक संग्रालयमा आफ्नो तन र मनलाई हराउने गर्छन्।

कागमारा हिमालको काखमा र पहाडै पहाडको खोँचमा रहेको नीलमणी जस्तो नीर देखिने फोक्सुण्डोलाई नियाल्दा नयनले अपलब (आँखाले हेरिरहुँ) हुन्छ। समय व्यतित भएको पत्तै हुँदैन। मन समयतीत भई आध्यात्माको आकाशमा पुग्छ। फोक्सुण्डो ताल मात्र पानीको संग्रह नभई मोक्ष मार्ग देखाउने माध्यम पनि हो। त्यसैले फोक्सुण्डो पदयात्रा आध्यामिक पर्यटनको प्राङ्गण बन्न सक्छ।

राष्ट्रिय गौरवको निशानी, विश्व रामसार सूचिमा सूचिकृत सम्पदा यही जल फैलावटले गर्दा डोल्पा मात्र नभई यो देश नै सजल, (जलयुक्त )शितल, शान्त र सुन्दर बनेको छ।

फोक्सुण्डो तालको संरक्षण गर्न र यसबाट लाभ लिन यहाँ प्रकृति र विकास बीच सन्तुलन कायम गरि विकासको काम गर्नुपर्छ। फोक्सुण्डोको कुमारीत्व बचाईराख्न र पर्यटक आगमनलाई वृद्धि गर्न प्राकृतिक सम्पदामाथिको मानवीय अतिक्रमण रोक्नु आवश्यक छ।

हिउँ चितुवाको बासस्थान डोल्पा

नेपाल विश्वका हिउँचितुवा पाइने १२ देश मध्येको एक हो। नेपालका संरक्षित क्षेत्र मध्ये शे(फोक्सुण्डो राष्ट्रिय निकुन्जको हिमाली तथा पठार क्षेत्र आहारविहारका हिसावले हिउँचितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान मानिन्छ।

सन् १९७३ मा अमेरिकी वैज्ञानिक जर्ज स्यालरले नाउरको आनीवानी तथा वन्यजन्तु संरक्षणको लागि निकुञ्ज स्थापनाको सम्भावनाबारे डोल्पाको सर्वेक्षण गरेका थिए। सन् १९७४ मा वन्यजन्तु आरक्ष स्थापनाको लागि प्रस्ताव गरेका थिए। त्यसपछि सन् १९८० ९वि।स। २०४०० मा आधिकारिक रुपमा यस राष्ट्रिय निकुञ्ज स्थापना भएको हो।

विश्वमै पहिलो पटक हिउँचितुवाको अध्ययन अनुसन्धान रेडियो कलर प्रविधिबाट शे(फोक्सुण्डो राष्ट्रिय निकुन्जको डोल्फु(मुगु क्षेत्रमा गरिएको थियो। झण्डै ४० वर्षअघि अमेरिकी वन्यजन्तु जीवशास्त्री डा। रोड्नीज्याक्सनले पाँच वटा हिउँ चितुवाको घाँटीमा रेडियो कलर नामक उपकरण जडान गर्दै देख्नै कठिन हुने ती जीवको आहार विहार बारे वैज्ञानिक अनुसन्धान गरेका थिए।

सन् १९८१ देखि १९८५ सम्म गरिएको सो अनुसन्धानले हिउँचितुवाको विचरण क्षेत्र र आनी बानिका बारेमा महत्वपुर्ण जानकारी दिँदै डोल्पा क्षेत्रमा प्रति १०० वर्गकिलोमिटर १० वटा हिउँचितुवा सम्म हुनसक्ने देखाएको थियो।

विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा सन् २०१९ मा गरिएको एक अध्ययन अनुसार हिउँचितुवाको आहार प्रजाति मानिने नाउरको संख्या प्रति वर्ग किलोमिटर १२ देखि ११४ सम्म भएको उल्लेख छ। जसकाकारण शे(फोक्सण्डोमा सयौंको संख्यामा हिउँचितुवा हुनसक्ने अनुमान गरिएको छ। तर नेपालमा हिउँचितुवाको अझै प्रयाप्त वैज्ञानिक अध्ययन अनुसन्धान हुन नसकेको अवस्था छ। पछिल्लो समयमा भू(उपग्रह ९स्याटेलाइट० प्रविधिमा आधारित अनुगमन र फोटो खिच्ने पासो ९क्यामारा ट्याप० राखेर यसको संख्या पत्ता लगाउने विषयमा अध्ययन अनुसन्धान भइरहेको छ। आ।व। २०७६।७७ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हिउँ चितुवाको बास्तविक संख्या गणनाको लागि हिउँ चितुवा पाइने सम्भाव्य स्थानमा ३०० वटा भन्दा बढी क्यामेरा ट्रयाप राखी अध्ययन कार्य शुरू गरिएको छ।

२०७६ कात्तिकमा शे -फोक्सुण्डोका दुई भाले हिउँ चितुवाको घाँटीमा स्याटलाइट जीपीएस कलर जडान गरि यिनीहरूको आनीबानी र विचरण तरिका बारेमा अध्ययन शुरु गरिएको छ। सन् १९९६ देखि २००८ सम्म डब्लुडब्लुएफ नेपालले उत्तरी पहाडी संरक्षण परियोजना मार्फत निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षण र विकासको लागि सहयोग गरेको थियो।

सन् २००८ देखि हालसम्म आर्थिक तथा प्राविधिक सहयोग संरक्षण संस्था साझेदारी अन्तर्गत निरन्तरता दिँदै आएको छ। भूगोल हावापानी तथा वानस्पतिक क्षेत्रको संगमस्थल रहेको नेपाल जैविक विविधताको हिसावले निकै धनी मानिन्छ।

क्षेत्रफलको आधारमा विश्व मानचित्रमा सानो मुलुक देखिए पनि विशिष्ट भौगोलिक अवस्था उचाइमा विविधता र हावापानीमा अनेकताका साथ विभिन्न ६ वटा वानस्पतिक क्षेत्रको संगमस्थलमा रहेकाले जैविक विविधताको हिसावले नेपाल निकै नै धनी मानिन्छ।

सरकार स्थानीय समुदाय र संरक्षण साझेदार संस्थाको साझा प्रयासले वनवन्यजन्तु र जैविकविविधता संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्य हुँदै आएको छ। समुदायमा आधारित वन व्यवस्थापन र सहभागितामुलक जैविक विविधिता संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धी पनि विश्वमा नै उदाहरणीय छ।

वनले ओगटेको क्षेत्र विगतको तुलनामा झण्डै ५ प्रतिशतले वृद्धि भूपरिधीयस्तरमा प्राकृतिक स्रोतको एकीकृत व्यवस्थापन लोपोन्मुख तथा दुर्लभ प्रजातिको वास्स्थान व्यवस्थापन चोरी सिकारी नियन्त्रण हिउँ चितुवा लगायतका वन्यजन्तुको वृद्धि आदिलाई उदाहरणका रुपमा लिन सकिन्छ।

वन्यजन्तु लगायतका प्राकृतिक सौन्दर्यताको कारण नेपाल भित्रने पर्यटक मध्ये ६० प्रतिशतले संरक्षित क्षेत्र भ्रमण गर्ने गरेको निकुन्जको तथ्यांकमा छ। यसरी जैविक विविधताको संरक्षण मार्फत पर्यापर्यटनमा अभिबृद्धि भई स्थानीय समुदायको आय आर्जनमा वृद्धि हुनुका साथै समग्र देशको अर्थतन्त्रमा टेवा पुग्दै आएको छ।

वन्यजन्तु एवं जैविक विविधताको संरक्षणमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धी प्रशंसनीय रहँदै आएका भएपनि यस कार्यमा केहि चुनौती पनि देखापरेका छन्। वन्यजन्तु वासस्थानको विनास तथा क्षयीकरण अतिक्रमण अनियन्त्रित वन डढेलो अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण वन्यजन्तुका अंगको चोरी निकासी मुख्य चुनौतीका रुपमा रहँदै आएका छन्।

प्राकृतिक तथा मानवीय क्रियाकलापका कारण पर्यावरणीय प्रणालीमा आउने विचलनलाई सन्तुलनमा राख्न जैविक विविधताको संरक्षण गरिरहनु अपरिहार्य छ। यसको साथै यस निकुन्जका वन्यजन्तु, प्राकृतिक, धार्मिक तथा एतिहासिक सम्पदाको संरक्षण र दिगो उपयोगको लागि सबैको सहयोग, समन्यव र हातेमालो हुन जरूरि देखिन्छ।

वातावरण, वन्यजन्तुको र मौलिक संस्कृतिको दिगो संरक्षण र पर्यापर्यटनको विकास र प्रवर्धनबाटै डोल्पाको मात्र हैन सम्रग राष्ट्रको हित हुने देखिन्छ। कोरोना महामारीको अन्त्यसँगै धर्मराएको पर्यापर्यटनले चाडै आफ्नो स्थान लिनेछ भन्ने विश्वास गर्न सकिन्छ।

शे -फोक्सुण्डो राष्ट्रिय निकुन्ज पर्यटकको स्वागत गरी आफ्नो कुमारीत्व पस्कन यतिखेर पर्खिरहेको छ। समय अनुकुल भएपछि आउनुहोस् है ।





error: Content is protected !!