कोभिड–१९ को महामारी अन्त्य होइन

–के.बि.मसाल
कोरोना भाइरसका कारण अहिले संसार आतंकित छ । यसले मानिसको रहनसहनमा नै परिवर्तन ल्याइदिएको छ । संसारको अर्थव्यवस्थामा मन्दी छाएको छ । चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमणले विश्वव्यापी माहामारीको रुप लिएको छ । कोरोना भाइरसलाई वातावरणीय परिवर्तनले सजिलै उत्परिवर्तन अर्थात म्युटेसन गराउने हुँदा बेलाबेलामा यसका नयाँनयाँ प्रजाति मर्स, सार्स कोभ–१, सार्स कोभ–२ को विकास भई विभिन्न खालका श्वासप्रश्वास सम्बन्धी रोगहरु लगाउने र मानिसको मृत्युसम्म गराउने गर्दछ । विश्वमा यस्ता महामारी बेला बेला देखिने गरेको छ । कोरोना भाइरसको यो माहामारी अन्त्य भने होइन । विश्वमा अहिले सम्म २४ पटक ठूला महामारी भएको इतिहास भेटिन्छ ।

महामारीले विश्वमा आमूल परिवर्तन मात्र ल्याएको छैन, केही प्रतिभाशाली व्यक्तिहरु पनि छाडेर गएको छ । विश्व अर्थ व्यवस्था तथा नेतृत्वदायी भूमिकामा पनि परिवर्तन ल्याउने गरेको छ । दोस्रो विश्वयुद्धपछि विश्वमा विकाससँगै बसाइसराइ, सहरीकरण, खानपानमा भएको परिवर्तन, व्यापारीकरण जस्ता मानवीय क्रियाकलापको असरले मानव तथा जनावरमा आश्रित जीवाणुहरुमा समेत परिवर्तन हुँदै आएको छ । मुख्यगरी विकासोन्मुख देशहरुको आर्थिक वृद्धिसँगै भएको सहरकेन्द्रित बसाइसराइ बढेको छ । साथै बढदो जनसंख्याको कारणले सहरमा मासु तथा दूधजन्य पदार्थको माग बढदो छ । हाल विश्वमा ५० वर्ष अगाडि भन्दा ४ गुणा मासु उत्पादन हुने गर्दछ भने दूध उत्पादन २ गुणाले बढेको देखिन्छ । जसमध्ये बंगुरको मासु बढी प्रख्यात छ भने कुखुराको उत्पादन अत्यधिक बढिरहेको छ । यसका कारण सहरका आसपासका क्षेत्रहरुमा खेतीपाती र पशुपालन व्यवसाय बढेसँगै जनावरबाट आयातित रोगहरुको जोखिम बढ्दै गएको छ ।

पृथ्वीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु अर्थात ब्याक्टेरिया र विषाणु अर्थात भाइरसको उत्पत्ति भएको हो । मानिस भन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पृथ्वीको वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान भूमिका रहेको हुन्छ । वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु र विषाणुले कुनै पनि बेला र कुनै पनि रुपमा प्राणीमाथि आक्रमण गर्न सक्छन् । आजसम्मका विश्व इतिहासमा विभिन्न कालखण्डमा देखा परेका महामारीहरुदेखि कोभिड–१९ को महामारी यसैका उदाहरणहरु हुन् । सबैजसो जीवाणु, विषाणु र परजीवीहरुले रोग लगाउँदैनन्, कतिपय मानव जातिका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरु लगाउँछन् । तिनै रोग लगाउने नयाँ र पुराना जीवाणु वा विषाणुहरुले कहिलेकाहीँ महामारीको रुप पनि लिन्छन् ।

डेथ अर्थात प्लेगको महामारीका कारण चौधौ शताब्दीमा युरोपको झण्डै एकतिहाइ जनसंख्या सकियो । दशौं लाख मानिसको मृत्यु भएको यस महामारीलाई पश्चिमी युरोपका धेरै देशले एउटा अवसरका रुपमा लिए र आफूलाई समृद्धशाली राष्ट्रको रुपमा उभ्याए । धेरै मानिसको मृत्यु भएका कारण कृषिमा काम गर्ने जनशक्तिको अभाव भयो । जमिन्दारी खत्तम भयो । जमिन्दारको कैदबाट कामदार स्वतन्त्र भए । मजदुरको माग बढी भयो । मोलमोलाइ गर्ने क्षमता बढ्यो । मजदुरी गर्ने प्रचलनको शुरुवात भयो । मानविय जनशक्तिको अभाव भएपछि मेशिन तथा औद्योगिकीकरणको शुरुवात भयो । फलस्वरुप पश्चिम युरोपका धेरै देशले आफूलाई शक्तिशाली राष्ट्रको रुपमा उभ्याए ।

प्लेग संक्रमणको यो दौरपछि लामो समुद्री यात्राको शुरुवात भएको मानिन्छ । यसअघि यस्तो यात्रा जोखिमपूर्ण र महंगो ठानिन्थ्यो । तर, प्लेगको महामारीले लाखौं मृत्यु आफ्नै आँखाअगाडि देखेकाहरुको लागि अब मृत्यु सामान्य रह्यो । अब उनीहरु नयाँ ठाउँ गएर नयाँ खोजमा उत्प्रेरित हुन थाले । जसले गर्दा अर्थव्यवस्था मजबुत भयो र यहिंबाट साम्राज्यवाद र उपनिवेशवादको शुरुवात भएको मानिन्छ । समुद्री यात्राको शुरुवातपछि जहाँ जहाँ उनीहरुले आफ्नो उपनिवेश बनाए त्यहीँको कमाइबाट आर्थिक अवस्था पनि सुदृढ बनाए । नयाँ प्रविधिमा लगानी गरे । नयाँ प्रविधि र मजबुत आर्थिक स्थितिका कारण उनीहरुले आफूलाइ वैभवशाली राष्ट्रको रुपमा उभ्याए । एक प्रकारले भन्नुपर्दा प्लेगले युरोपलाई चुनौती, अवसर र एक प्रकारको नयाँ उर्जा नै प्रदान ग¥यो भन्दा पनि हुन्छ ।

पन्ध्रौँ शताब्दीको अन्तमा उपनिवेशवाद विस्तारका क्रममा युरोपियनहरु अमेरिका पुगे । उनीहरु अमेरिका पुगेसँगै धेरै बिमारी पनि सँगै लिएर गए । युनिभर्सिटी अफ लन्डनका वैज्ञानिकहरुको एक अध्ययनका अनुसार त्यसबेला अमेरिकी महाद्विपमा रहेको करीब ६ करोडको जनसंख्या एक शताब्दीमा घटेर साठी लाखमा सीमित हुनपुग्यो । जसको एउटा प्रमुख कारण थियो बिफर । बिफरसँगै, हैजा, मलेरिया र प्लेग पनि यसका अन्यकारण हुन् । जनसंख्यामा कमीका कारण एउटा ठूलो हिस्सा स्वतः चरण र जंगलमा परिणत भयो । एक अनुमानका अनुसार करीब ५ लाख ६० हजार वर्ग किमि क्षेत्र जंगलमा परिणत भएको थियो । जंगलको वृद्धिसँगै कार्वनडाइअक्साइडमा कमी भई तापक्रममा समेत कमी आएको थियो । यसका कारण संसारको धेरै भागको तापक्रममा कमी आएको अन्टार्टिकामा पाइएको हिउँको नमूनाको अध्ययनबाट पत्ता लागेको थियो । वैज्ञानिकका अनुसार अमेरिकामा वृद्धि भएको हरियालीसँगै तापक्रममा कमी, धेरै संख्यामा ज्वालमुखीको विस्फोट तथा सूर्यको गतिविधिमा आएको कमीका कारण संसारको तापक्रममा नै कमी हुनपुग्यो । जसलाइ ‘लिटल आइस एज’का रुपले पनि चिनिन्छ । युरोपियनले साम्राज्यवादको विस्तारमा जुन वातावरणीय विनाश गरेका थिए त्यसको फलस्वरुप हुन पुगेको जलवायु परिवर्तनका कारण युरोपले खाद्यान्न अभाव तथा खडेरीको सामना गर्नुपरेको थियो ।

फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले हैटीलाई आफ्नो उपनिवेश बनाउनका लागि युद्धमा ठूलो संख्यामा सैनिक पठाए । युद्धको मैदानमा त ती सैनिकले बहादुरी देखाए तर हैटीमा फैलिएको जण्डिसका अगाडि भने उनीहरुको केही चलेन । आप्रवासीका रुपमा गएका उनीहरुले रैथानेले जस्तो जण्डिसको सामना गर्न सकेनन् । एक अनुमानका अनुसार करिब पचास हजार सैनिक, अन्य अधिकारी तथा डाक्टरले जण्डिसका कारण ज्यान गुमाउन पुगे । युद्धका लागि त्यसबेला हैटी गएका फ्रान्सेली सैनिक मध्ये केवल तीन हजार मात्र जिउँदो फर्केका थिए । जण्डिससँगको यो हार पछि उत्तरी अमेरिकामा विस्तार गर्न खोजेको आफ्नो उपनिवेशलाई फ्रान्सले स्थगित मात्र गरेन, त्यसको दुई वर्ष पछि २१ लाख वर्ग किमि क्यारेबियन भू–भाग अमेरिकी सरकारलाइ बिक्री ग¥यो । जसलाई लुसियाना पर्चेजको नामले चिनिन्छ । यसपछि अमेरिकाको भौगोलिक सीमा झण्डै दोब्बर भएको थियो । यसले अमेरिकालाई विश्व महाशक्तिको रुपमा उदाउन ठूलो मद्दत गरेको थियो ।

सन् १८८४ र ८५ मा जर्मनीको राजधानी बर्लिनमा युरोपियन देशको एउटा सम्मेलन भएको थियो । यसमा १४ राष्ट्र सहभागी भएका थिए । विशेषगरी बेलायत, जर्मन, बेल्जियम, पोर्चुगल र इटालीले त्यसबखत अफ्रिकाका कुन कुन देशमा कस्ले उपनिवेश कायम गर्ने भन्ने सहमति भएको थियो । सन् १८७० को दशकमा अफ्रिकाको करीब १० प्रतिशत भू–भागमा युरोपियन राष्ट्रको उपनिवेश कायम थियो । तर, तीन दशक पछि भने अफ्रिकाको ९० प्रतिशत भू–भाग युरोपको कब्जामा परिसकेको थियो । यसको प्रमुख कारण भनेको १८८८ मा भएको राइन्डरपेष्ट नामक महामारी थियो । यो महामारीले मानिसलाई केही असर नगरे पनि अफ्रिकाका ९० प्रतिशत जनावर सखाप भएको थियो । यसले गर्दा कृषिमा आधारित अफ्रिकी जनताको कृषिको मुख्य हतियार गाई, गोरु सखाप बनायो र भोकमरीको स्थिति पैदा भयो । यो विषम परिस्थितिको फाइदा उठाउँदै करिब ९० प्रतिशत अफ्रिकालाई युरोपले उपनिवेश बनायो । संयुक्त राष्ट्रसंघको हिस्ट्री अफ अफ्रिकामा अफ्रिकाको उपनिवेशवादको बारेमा, अफ्रिकामा साम्राज्यवादले त्यसबखत शिर उठायो जब अफ्रिकीहरु ठूलो आर्थिक संकटको सामना गरिरहेका थिए, भन्ने उल्लेख गरिएको छ ।

चीनमा मिंग राजवंशले करीब तीन शताब्दीसम्म राज गरे । मिंग वंशले पूर्वी एशियाको ठूलो इलाकामा आफ्नो राजनैतिक तथा साँस्कृतिक प्रभाव समेत राम्रै छोडेका थिए। तर प्लेगका कारण मिंग वंशको पतन भयो । सन् १६४१ मा उत्तरी चीनमा प्लेगका कारण झण्डै २० देखि ४० प्रतिशत जनसंख्या मृत्युको मुखमा पुगेका थिए । चीनमा उत्तरतिरबाट आएका आक्रमणकारीले यो रोग ल्याएको अनुमान गरिन्छ । यसका कारण शक्तिशाली मिंग राजवंशको अन्त्य भएको थियो । प्लेगसँगै संगठित रुपमा त्यहाँ मंचुरियन वंशको उदय भएको थियो । त्यसपछि उनीहरुले चीनमा लामो समय शासन गरे । मिंग वंशको पतन हुनुमा खडेरी तथा भ्रष्टाचार पनि अहं रहेको मानिन्छ । तर पनि प्लेग भने मिंग वंशको पतनको मुख्य कारण बताइन्छ ।

भाइरसले परिवर्तनशील वातावरणमा आफूलाई अनुकुलित बनाइराख्नका निम्ति नयाँ नयाँ गुण भएका भाइरसका प्रजातिहरुलाई उत्पादन गर्छ । वातावरण परिवर्तनले भाइरसको वंशाणुगत तत्वमा उत्परिवर्तन गराउँछ, जसका कारण भाइरसको विविधीकरणमा सहयोग गर्छ । हालैका दशकहरुमा अनेकौं खालका रोगहरु जनावरबाट आयातित (जुनोटिक) भई मानव समुदायमा महामारीको रुप लिएको पाइन्छ । जसमा इबोला, बर्ड फ्लु, स्वाइन फ्लु, मर्स फ्लु, सार्स फ्लु, जिका लगायत हाल महामारीको रुप लिएको कोभिड–१९ सम्म आउँदा हजारौं मानिसको मृत्यु लगायत अर्बौं आर्थिक क्षति व्यहोर्न बाध्य बनाएको छ । जन्मँदै लिएर आएको रोग प्रतिरोधात्मक शक्ति व्यक्ति–व्यक्ति, जाति–जातिबीच फरकफरक हुन्छ । यसरी प्रतिरोधात्मक शक्ति प्राकृतिक रुपमा प्राप्त गरेको शारीरिक, जैविक तथा रासायनिक विविधता नै जिम्मेवार हुन्छन् ।

जनावरहरु र मानिस फरकफरक जाति हुन् । त्यसैले वंशाणुगत तत्वको बनावट फरकफरक हुनाले साधारणतया मानिसलाई लाग्ने रोगहरु जनावरमा सर्दैनन् । जस्तैः टाइफाइड, हैजा, भिरिङ्गी आदि । यसरी नै जनावरलाई लाग्ने रोगहरु साधारणतया मानिसमा लाग्दैनन् । यो रोग प्रतिरोधात्मक शक्तिलाई स्पेसिज (जातीय) इम्युनिटी भनिन्छ । तर प्राकृतिक यस नियमका विपरीत जनावरबाट आयातित रोगहरुको महामारीले विश्व आक्रान्त भइरहेको वर्तमान अवस्थामा मानिस जन्मँदै जातीय रोग प्रतिरोधात्मक शक्ति हुँदाहुँदै यस्ता रोगबाट के कारणले र कसरी संक्रमित भैरहेका छन् भन्नेबारे विवेचना गर्न आवश्यक देखिएको छ ।

धेरैजसो अध्ययनका अनुसार विभिन्न भौगोलिक अवस्थितिमा भएको जलवायु परिवर्तनसँगै जनावरबाट भाइरस अनुकुलित वातावरण सिर्जना भई मानिसमा संक्रमण फैलनसक्ने जनाएका छन् । जस अन्तर्गत क्रमशः जनावर आश्रयस्थल (होस्ट) मा भाइरसको वितरणमा घटबढ हुने, भाइरसको गुणमा परिवर्तन आउने,फैलावटको तरिकामा परिवर्तन आउने र जनावरबाट मानिसमा अनुकुलतामा वृद्धि हँुुदै जानु आदि पर्छन् । त्यसैगरी विश्वव्यापी तापमानमा भएको वृद्धि, जनसंख्यामा भएको एकनासको वृद्धिसँगै सामाजिक तथा आर्थिक विकासको घट्दो दरका कारण जनावरबाट मानिसमा रोग सर्ने र त्यसले महामारीको रुप लिने सम्भावना १.६३ गुणाले वृद्धि भएको अध्ययनहरुले देखाएका छन् ।

हाम्रो वातावरणमा कोरोना भाइरस जताततै रहेका हुन्छन् । सन् १९३७ मा पहिलो कोरोना भाइरस पत्ता लागेको थियो । मानिसलाई रुघाखोकी लगाउने भाइरसमध्ये राइनो भाइरसपछिको दोस्रो कारण कोरोना भाइरस हो । कोरोना भाइरसले रुघाखोकी बाहेक विरलै मात्रामा अन्य सिकिस्त हुने रोगहरु लगाउँछन् । थोरैले मानिसमा र धेरैले जनावरमा क्यामेल, बिरालो, मुसा, बंगुर, गाईवस्तु, कुकुर रोग लगाउने गर्छन् । साधारणतया अत्यधिक मात्रामा वायुमण्डलमा उत्सर्जन भएका हरित गृह ग्यासहरुको कारणले जलवायु परिवर्तन हुने क्रमलाई तिब्रता दिएसँगै वातावरणीय असरलाई गम्भीर बनाएको छ । यसरी तापमान, आद्र्रता, मौसममा भएको परिवर्तनले गर्दा जीवाणु अनुकुलित वातावरणको सिर्जना हुन पुगी जीवाणु सक्रिय हुन सक्छ । विगतका घटनाक्रमले पनि के प्रमाणित गर्छ भने यस प्रकारको निरन्तर भएको जलवायु परिवर्तनसँगै माहामारी बारम्बार दोहोरिने क्रम बढिरहने छ । तीव्र रुपमा भएको जलवायु परिवर्तनसँगै न्यून स्रोतमा लुछाचुँडीको चुनौती थपिएसँगै जनावरबाट आयातित रोगहरु फैलने दरले तीव्र रुप पाउने खतरा थपिँदै गएको छ ।

कोरोना भाइरसको आश्रयस्थल जनावर हो र यसले जनावरलाई संक्रमण गर्दछ । यस प्रकारको संक्रमण साधारणतया जनावरबाट जनावरमा सर्ने गर्छ । तर जलवायु परिवर्तनको असरसँगै पछिल्लो समयमा आएर यी भाइरसहरुमा उत्परिवर्तन हुनाले जनावरबाट मानिसमा सर्ने, मानिसबाट मानिसमा सर्ने र यसको कारण मानिसलाई मृत्यु समेत गराउने गर्दछ । विगतमा फ्लु भाइरसझैं फैलिएको मर्स कोभ र सार्स कोभ भाइरसहरु जुन अरु थाहा भएका भाइरसभन्दा वंशानुगत वस्तुमा फरक भएका र सार्स कोभ भाइरस सिभेट प्रजातिका बिरालोबाट मानिसमा पहिलोपटक सरेको थियो भने चमेरामा समेत यसको मुहानको रुपमा रहेको पाइएको थियो । मर्स कोभ पनि उँटहरुबाट मानिसमा सरेको पाइएको छ । हाल देखापरेको कोभिड–१९ भाइरस चमेरा, प्याङगोलिनजस्ता स्तनधारी जनावरबाट मानवमा सरेको हुनसक्ने कुरा हालसम्मको वैज्ञानिक अध्ययनले जनाएको छ ।

पृथ्वीको जुनसुकै ठाउँमा सानोतिनो खलबलीले पनि वातावरणीय असर पैदा भै रहेको छ । मानिसले वातावरणीय समस्याहरु तत्काल महसुस नगरे कालान्तरमा पनि कोभिड–१९ भाइरस महामारी भोग्नु पर्दछ । कोरोना भाइरस वैज्ञानिक अध्ययनले न्युनिकरण हुदै जाला तर अब यो भाइरसको अन्त्य भने हुदैन । हामी सधैआफ्नो स्वास्थ्यको लागि सजक बन्नु पर्दछ ।
मिती ः– ५ आषाढ २०७७ दाङ





error: Content is protected !!