कोरोना लडाइँमा महिलाले हाँकेका ८ देश किन भए सफल ?

द न्यूयोर्क टाइम्स

के महामारीको मुकाबला गर्न पुरुषभन्दा महिला नेताहरू बढी सक्षम छन् ? मैले यो कुरा बुझ्न २१ वटा बेग्लाबेग्लै मुलुकमा कोरोना भाइरसका कारण भइरहेका मृत्युदरको तुलनात्मक अध्ययन गरेँ। तीमध्ये १३ वटा मुलुकलाई पुरुषले नेतृत्व प्रदान गरेका थिए भने आठ वटा देश हाँक्ने महिला नेता थिए।

पुरुषले हाँकेका मुलुकमा औसत दस लाख जनसंख्यामध्ये दुई सय १४ जनाको मृत्यु कोरोना‍‍का कारण भइरहेको छ। अर्कातिर महिलाले चलाएको देशमा भने दस लाख जनसंख्यामध्ये केवल ३६ जनाको मात्र कोरोनाले मृत्यु भइरहेको पाइयो। अर्थात् पाँच भागको एक भाग मात्र।

कत्रो ठूलो अन्तर?

यसलाई अमेरिकाको सन्दर्भमा जोडेर हेर्ने हो भने यदि अन्यत्रका महिला नेताले जस्तै यस मुलुकलाई पनि कोरोना भाइरसबाट जोगाउन सफलता मिलेको भए एक लाख १४ हजार मृतक अमेरिकीमध्ये एक लाख दुई हजार जनाको ज्यान जोगिने देखिन्छ।

‘कोरोना भाइरससँग लड्ने मामलामा विशेषगरी महिलाले हाँकेको मुलुकले धेरै सफलता पाइरहेको देखिन्छ,’ युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसकी महामारीविद् एन डब्लू रिमोइन भन्छिन्, ‘न्यूजिल्याण्ड, डेनमार्क, फिनल्याण्ड, जर्मनी, आइसल्याण्ड, नर्वे जस्ता मुलुकले यो महामारी बेला असाध्यै राम्रो परिणाम निकाल्न सक्नुका पछाडि सायद उनीहरुको महिला नेताको कार्यकुशलता र व्यवस्थापन शैली नै हुनसक्छ।’

यो आलेख एकोहोरो छोरी मानिसहरुको महिमा(गानका रुपमा नदेखियोस् भनेर पनि म सतर्क छु। त्यसनिम्ति पछिल्लो समय विश्वले पाएका कमसल महिला नेताकै बारेमा पनि चर्चा सान्दर्भिक हुनसक्छ। मैले महिला नेताहरुको बारेमा तुलनात्मक हिसाबले पुस्तकै निकाल्न भनेर अध्ययन अनुसन्धान गरेको थिएँ। त्यो अध्ययनले खुद महिलाहरुकै अवस्था सुधारका लागि, उनीहरुको शिक्षा र मातृ मृत्युदर घटाउने जस्ता मामिलामा पुरुष र महिला नेतृत्वका बीच खासै भिन्नता पाइएको थिएन।

राजनीतिमा महिलाहरुको सहभागीता, विशेषगरी तल्लो निकायहरुमा उनीहरुको उपस्थितिले परिस्थितिमा निकै भिन्नता ल्याउँछ भन्ने चाहिँ अनुसन्धानले दह्रोसँग पुष्टि गरेको थियो। तर, पछिल्लो पटक कोरोनाका घटना व्यवस्थापन गर्नुअघिसम्म मुलुककै राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा महिलाले गर्ने कार्यसम्पादन पुरुषका तुलनामा प्रभावकारी देखिएको थिएन।

यसो भन्नुको अर्थ फेरि अहिले कोरोना भाइरसको व्यवस्थापन राम्रोसँग गर्न सकेका सबै नेता महिला मात्रै हुन् भन्ने पनि होइन। तर, कोरोना भाइरसको व्यवस्थापन यति बेला भद्रगोल पारिदिनेमा भने सबै पुरुष नेतृत्वकर्ता नै देखिएका छन्। त्यसमा पनि विशेषगरेर एकखाले प्रवृत्ति भएकाहरु छन्। सोझै भन्दा अधिनायकवादी, अहंकारी र धम्कीका भरमा मुलुक चलाउनेले उनीहरुको मुलुकलाई ध्वस्तै पारिदिएका देखिन्छ।

एकपटक बेलायतका बोरिस जोन्सन, ब्राजिलका जायर बोल्सोनारो, इरानका आयातुल्लाह अली खोमेनी र अमेरिकाकै डोनाल्ड ट्रम्पलाई नै हेर्नुस् त ?

प्रत्येक दस लाख जनसंख्यामा एक सय ५० जनाभन्दा बढीको कोरोनाका कारण मृत्यु भएका जति पनि मुलुक छन्, ती सबै पुरुषले नै नेतृत्व गरिरहेको प्रत्यक्ष नै देखिन्छ।

‘न्यूजिल्याण्ड, जर्मनी, ताइवान जस्ता महिलाले नेतृत्व गरेका मुलुकमा सबभन्दा राम्रोसँग कोरोना भाइरस व्यवस्थापन भइरहनु फगत एउटा संयोग मात्र हो भन्ने मलाई लाग्दैन,’ राष्ट्रपति बाराक ओबामाको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहिसकेकी सुसन राइस गम्भीर हुँदै भन्छिन्, ‘अनि अमेरिका, ब्राजिल, रुस, बेलायत जहाँ जहाँ अवस्था विष्फोटक बनिरहेको देखिन्छ, ती सबैतिर पुरुषजन्य अभिमान र अहंकारले भरिएका नेतृत्वकर्ता देखिन्छन्।’

मलाई जहाँसम्म लाग्छ त्यो अहंकार र अभिमान देखिनुको पछाडि विचलित मानसिकताले नै काम गरिरहेको छ।

‘हामी नै पनि ‘प्रायः पुरुष चालकले गाडी हाँकिरहँदा कहिल्यै गन्तव्यको दिशाबारे सोध्दैनौं’ भनेर ख्यालठट्टा गरिरहेका हुन्छौं,’ पेन्सिलभानिया विश्वविद्यालयका डा इज्केल इम्यानुअल भन्छन्, ‘महिला नेताले गर्ने नेतृत्वका मामलामा पनि त्यस्तै भावनाले काम गर्छ जस्तो लाग्छ। जस्तो, कुनै पनि कुरा पुरुषलेजस्तै बलजफती आफैंले तय टुंगो गरिदिनेभन्दा पनि त्यस मामलामा कोही विज्ञ छन् कि भनेर एकपटक सल्लाह लिइदिने।’

आफ्ना कुरालाई उनी तार्किक रुपमा पनि अघि सार्छन्।

उनका अनुसार यो भाइरसलाई सर्वोत्तम तवरले व्यवस्थापन गर्ने नेता तिनै देखिएका छन् जसले जनस्वास्थ्य मामलाका जानकारसँग सल्लाह लिँदै छिट्छिटो कदम चाल्छन्। र, त्यसो गर्नेहरु कुनै अधिनायकवादी मनोग्रन्थी भएका पुरुष नेतृत्वकर्ताभन्दा पनि अधिकांश महिलाहरु नै देखिएका छन्।

एक नजर राष्ट्रपति ट्रम्पलाई हेरौं।

‘मलाई राम्ररी थाहा छ,’ मार्च महिनामा रोग निवारक तथा नियन्त्रण केन्द्रको भ्रमणमा गएका बेला स्वास्थ्यसम्बन्धी विज्ञले घेरिएकै अवस्थामा ट्रम्पले भनेका थिए, ‘सायद मैले यस्तो कुरा बुझ्ने जन्मजात गुण बोकेर आएको छु।’

त्यति बेला कुराकानीकै दौरान उनले आफू त सायद वैज्ञानिक पो हुनुपर्थ्यो कि भनेर चर्कै स्वरमा बोलेका पनि थिए। उनै ट्रम्पले जनवरी महिनामा कोरोनाबारे ‘यो पूर्ण नियन्त्रणमा छ’ भनेका थिए। अहिले त्यसको जवाफ दुनियाँले देखिरहेको छ। त्यसैगरी ‘ब्लीच’का रुपमा उनले अघिसारेको समाधानका बारे अध्ययन गरिएको भए उतिबेलै हावादारी साबित हुने थिए।

अन्तर्राष्ट्रिय परिदृश्यमा पुरुष नेताहरुलाई महिला नेताले जसरी पछाडि पारेको देखिन्छ, त्यसरी नै अमेरिकाभित्रैको अवस्था भने बेग्लै देखापर्छ। अमेरिकी महिला गभर्नरको कार्यसम्पादन हेर्ने हो भने कसैकसैले राम्रो गरेका छन् भने कसैकसैले नराम्रो परिणाम पनि दिइरहेका छन्। यस अर्थमा अमेरिकाभित्रैको अवस्थामा पुरुष र महिलामा खासै फरक देखिँदैन।

त्यस हिसाबले हेर्दा यो महिला नेताका कारणले भइरहेको भन्नुभन्दा पनि कस्ता प्रकारका मुलुकले आफ्नो नेतृत्वका लागि महिलाको छनौट गरिरहेको छ भन्ने हिसाबले हेर्दा ठ्याक्क मिल्न सक्छ। धेरै कार्यकारी ओहदामा महिला छनौट गरेका कम्पनी‍ले कम महिला कार्यकारी भएकाभन्दा राम्रो प्रतिफल दिइरहेको देखिन्छ।

यसको पछाडि अध्ययन गर्नेहरुले दिने तर्क बेग्लै छ। कम्पनीले त्यसरी सफलता पाउनुमा महिलाको क्षमता मात्रै नभई महिलालाई मौका दिइनु पर्छ भन्ने सोचले प्रतिफल दिलाउने उनीहरुको ठम्याइ छ। महिलालाई उच्च ओहदामा राख्नुपर्छ भन्ने संस्कार जसले राख्छ उसले आफूलाई सिर्जनशीलताका अन्य मामिलामा पनि अब्बल परिणामतर्फ उन्मुख पार्ने भएकैले सिंगो संस्था मुनाफा उन्मुख हुनपुग्छ।

र, त्यसरी नै जुन मुलुकले महिला प्रधानमन्त्री होस् भनेर चाहना राखिरहेको हुन्छ, उसले नै सायद यस्तो महामारी बेलामा कुनै महामारीविदले नै परिस्थितिलाई सम्हालिरहेको देख्न चाहन्छ।

यी सबका बाबजुद नेतृत्वका आफ्नै गुण पनि महत्वपूर्ण हुन्छन् भन्ने मलाई लाग्छ।

‘महिलाहरुले गर्ने नेतृत्व शैली प्रायः पुरुषले गर्नेभन्दा एकदमै फरक हुन्छ,’ स्विडेनकी पूर्व परराष्ट्रमन्त्री मार्गोट वालस्ट्रोम भन्छिन्। उनले उदाहरणका रुपमा नर्वे, जर्मनी र न्युजिल्याण्डका नेतालाई औंल्याइन् जो कमै चर्चामा बसेर पनि समावेशी र परिणाममुखी नेतृत्वकर्ताका रुपमा देखापरिरहेका छन्।

वालस्ट्रोमका अनुसार जनस्वास्थ्यको सरोकार भनेको धेरै महिला नेताका निम्ति परम्परागत रुपमै ‘घरेलु विधि’ अपनाएजस्तै हो।

स्ट्यानफोर्ड विश्वविद्यालयमा स्वास्थ्यसम्बन्धी अर्थशास्त्रका विज्ञ ग्रान्ट मिलरले उन्नाइसौं शताब्दीको पछिल्लो र बीसौं शताब्दीको प्रारम्भिक चरणमा धमाधम महिलाहरुलाई मतदानमा सरिक गराउने राज्यहरुले नै सरसफाइ र जनस्वास्थ्यका क्षेत्रमा पनि उत्तिकै लगानी गरेको पत्ता लगाएका थिए। त्यसले बर्सेनि २० हजार केटाकेटीको ज्यान जोगाएको थियो। यसरी महिलाहरुले पाएको मतदानको अधिकारबाट ठूलो संख्यामा बालक (पुरुष)हरुको ज्यान पनि जोगिएको थियो।

चुनावी मैदानमा पुरुष उम्मेदवारभन्दा बल प्रयोगको एउटा मामिलामा भने महिलाहरु पछाडि पर्न सक्छन्। तर, त्यसमा पनि अध्येताहरुले गरेको अनुसन्धानमा महिला उम्मेदवारले आफूलाई ज्यादा जान्ने(सुन्ने देखाएको खण्डमा पुरुष र महिला दुवै खाले मतदाताले त्यस्तालाई अस्वीकार गरेको पाइएको छ। त्यसले नै राजनीतिमा संलग्न हुने महिलालाई सकभर मौन रहेरै प्रभावकारी काम गर्ने गुण विकास गरिदिएको हुनसक्छ, जुन महामारी बेलामा अचूक रामबाण बनिरहेको छ।

‘राजनीतिको उच्च आसनमा पुग्न उनीहरुमा जुन गुण र शैलीले सघाउ पुर्‍याएको थियो,’ युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसकी महामारीविद रिमोइन भन्छिन्, ‘यो बेला राष्ट्रलाई डोर्‍याउन सायद त्यही गुणको आवश्यकता परिरहेको छ।’





error: Content is protected !!