अर्को सातासम्म ११ वटा पिसिआर मेसिन थपिन्छ,प्रदर्शन गरेर संक्रमण फैलाउने काम नहोस ः स्वास्थ्य राज्यमन्त्री

सरकारले कोरोना संक्रमणलाइ नियन्त्रण गर्न नसकेको, पिसिआर टेस्ट अनिवार्य नगरेको, क्वारेन्टिनलाइ बेहाल बनाएको,खर्च बिवरण पारदर्शी नभएको बिषयलाइ लिएर नागरिकले व्यापक असन्तुष्टि व्यक्त गरेका छन्। बिशेष गरी युवाहरूको स्वर्त स्फूर्त प्रदर्शन देशव्यापी बन्दैछ । यो प्रर्दशनले कुन रूप लिन्छ, यसै भन्ने अवस्था छैन ।यो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ ? थप योजना के ल्याउँदै छ ? स्वास्थ्य राज्यमन्त्री नवराज राउतसँग कुराकानी गरेका छन् ।

कोरोना सङ्क्रमण बढिरहेको छ। यहाँ हाल राज्यमन्त्रीको भूमिकामा हुनुहुन्छ। कस्तो छ अहिलेको अवस्था ?

कोरोनाको सन्दर्भमा सरकार,स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मी लगायत सबै कोरोनाको विरुद्धको लडाइमा लागिरहेको कुरा मैले भनिरहनु परेन। हामी मात्रै होइन यो मुलुकमा भएका आम नागरिक, आम राजनैतिक दल समेत यो लकलकडाउन होमिएका छन्। कोरोनाको सन्दर्भमा कुनै दल विशेष पनि छैन,कुनै पक्ष प्रतिपक्ष पनि छैन,सबै हामी एक ठाउँमा उभिएर यसका विरुद्धमा लड्नु पर्ने परिस्थिति निर्माण भयो,त्यही ढङ्गले आम नागरिक,सबै राजनैतिक दल, बुद्धिजीवी, पत्रकार साथीहरू यो अभियानमा जुटिरहनु भएको छ कोरोनाका विरुद्धमा लड्न।

पछिल्लो चरणमा भारतबाट आउने हाम्रा नागरिक हरू,विशेष गरेर विदेश गएका नागरिकहरूको कोभिड १९ को कारणले रोजगारीबाट बन्देज हुनु पर्ने अवस्था रह्यो।स्वदेश फिर्ता हुने अवस्था रह्यो। लकडाउन नेपालमा पनि भयो,भारतमा पनि भयो। काम नपाएर छटपटिइरहेका हाम्रा नागरिकहरू भारतको दिल्लीबाट साइकल चढेर पनि नेपाल प्रवेश गरे।

हामीले लकडाउनको नियम,कानुन र परिधि बनाउँदा बनाउँदै त्यो परिस्थिति निर्माण भयो।हामीले पनि भन्यौ भारत सरकारले पनि भन्यो। हामी जो जहाँ छौ,जुन ठाउँमा छौ,लकडाउनको परिपालना गरौँ,डब्लुएचओले तय गरेका मापदण्डहरूलाई परिपालन गरौँ।सरकारका तर्फबाट सम्माननीय प्रधानमन्त्री ज्यू र भारतीय प्रधानमन्त्री मोदीबिच संवाद पनि भयो। भारतीय नागरिकहरू नेपालमा छन् भने तिनको व्यवस्थापन गर्ने गरी नेपाल भूमिमै सबैको जिम्मा लिने। भारतमा भएका नेपालीको जिम्मा भारतीय भूमि मै गर्ने । त्यस अनुरूप कतिपय सीमा नाकामा आएका नेपालीहरू कति व्यवस्थित भए,कति अव्यवस्थित भए त्यो तपाईँहरूलाई पनि थाहा छ। सरकारलाई पनि थाहा छ। म त्यता पट्टी टिप्पणी गर्न चाहन्न।

एक सय २९ वटा नाका मध्ये ४२ वटा नाका तत्कालीन अवस्थामा खुलेका नाकाहरू थिए। तर पछि हामीले त्यसलाई कम गर्दै ल्यायौ। तर परिस्थिति कस्तो बन्दियो भने लकडाउनकै बीचमा भारतीय नागरिकहरू पनि भारत जान खोजे,नेपाली नागरिक पनि सबैतिरबाट नाकामा आए। हामीले त्यसलाई पछिल्लो चरणमा सहज ढङ्गले आफ्ना नागरिकलाई प्रवेश गराउने कुरा गर्‍यौ। नेपाल सरकारले गर्‍यो।सम्माननीय प्रधानमन्त्रीको पहल कदमीमा त्यसमा सबै मन्त्रालयको,विशेष गरेर स्वास्थ्य मन्त्रालय,गृह मन्त्रालय,परराष्ट्र मन्त्रालयले ती अभियान चलाए। यो बेलासम्ममा महाराष्ट्र लगायतका भारतका तमाम ठाउँबाट आउने हाम्रा नागरिकहरू कति उतै सङ्क्रमित भएर आए। समस्या कस्तो भयो भने ट्रेनमा आउँदा,बसमा आउँदा सङ्क्रमित हुनु भयो । किनकि सामाजिक दुरी कायम गर्ने अवस्था पनि थिएन।वहाँहरूलाई थातथलो पुर्याउँदा बाटैमा सङ्क्रमित हुँदाको परिणाम स्वरूप अहिले सङ्क्रमितको सङ्ख्या बढ्दै गएको तपाइहरूले पनि थाह पाउनु नै भएको छ।

विशेष गरेर लकडाउनपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो तर त्यो नबढ्नुपर्थ्यो तर विपरीत भयो । यही बिचमा भारतसँग सीमा जोडिएका चाहे त्यो १, २,५ अथवा सुदूर पश्चिम प्रदेश होस् ती विशेष गरेर बढी प्रभावित भए। त्यति मात्रै भएन ग्रिन जोनमा रहेको कर्णाली प्रदेशमा जेठ चारसम्म त्यहाँ सङ्क्रमितको अवस्था थिएन। प्रदेश सरकार हर्षित पनि भएको थियो। सङ्क्रमित कन्ट्रोल गर्न पाँच नम्बर प्रदेश र सुदूर पश्चिम नाकाबाट प्रवेश गर्ने ठाउँमा हेल्थ डेस्क पनि राख्नु भयो।

तर अन्य नाकाबाट आउने क्रम जारी थियो। तर वहाँहरुलाई अलपत्र पार्ने स्थितिमा हामी थिएनौ।वहाँलाई हामीले प्रवेश गरायौँ ।प्रवेश सँगै कर्णालीमा समेत कोरोना प्रवेश गर्‍यो।

हाम्रो रेकर्डमा वा भनौँ सम्बन्धित जिल्ला प्रशासन,पुलिस प्रशासन र स्वास्थ्य मन्त्रालयको रेकर्ड अनुसार प्रत्येक दिन १८ देखि २० हजार मानिस प्रवेश गरे। भारतबाट मात्रै नेपाल प्रवेश गर्नेको सङ्ख्या सात लाख पुगेको छ। तर यो क्रम अहिले घट्दो अवस्थामा छ। अहिले पनि ७ हजार मानिस नेपाल प्रवेश गरिरहेका छन्।

नाकाहरूबाट नेपाल आउनेहरूमा यो आउँदै गयो र बढ्दै गयो। माघ १ गते एक जना सङ्क्रमित देखिनु भएको थियो। वहाँको स्वाब समेत हामीले हङकङ लगेर परीक्षण गर्नु पर्‍यो। तर त्यस पछिको परिस्थितिमा भने हामीले यही परीक्षण गर्न सक्ने क्षमता बिस्तार गर्‍यौ। जसरी सङ्क्रमित बढ्दै गयो त्यसरी नै हामीले सामाग्रीदेखि स्वास्थ्य उपकरण हरूको २२ स्थानमा व्यवस्थापन गरेका छौ।

कुनै बेला एक जनाको पनि परीक्षण गर्ने अवस्था थिएन । तर यति बेला हामीले प्रत्येक दिन पाँच हजार मानिसको पिसिआर जाँच मात्रै व्यवस्था गरेका छौ। हिजोसम्मको रेकर्ड अनुसार लगभग १ लाख २१ हजारको हामीले पिसिआर गरिसकेका छौ। एक लाख ७६ हजार भन्दा बढी नागरिकको हामीले आरडिटि गरेका छौ। त्यस कारणले स्वास्थ्य मन्त्रालय अत्यन्तै संवेदनशील छ।

फेरि यस कुरामा म के दोहोर्याउन चाहन्छु भने । यो रोग नयाँ रोग हो। हामीले कोभिड १९ देखा पर्ने बित्तिकै लगभग ढाइ करोड नेपाली जनतालाई एसएमएस गर्‍यौ,अथवा रिङ टोनको व्यवस्था गर्‍यौ, यस्ता तमाम जनचेतना मुलुक कार्यक्रम गरेका छौ। अझै गरी पनि रहेका छौ।

आरडीटी टेस्टको बारेमा व्यापक विरोध हुन थालेको छ। के सर्वसाधारणले भने जस्तै यो आरडीटी टेस्ट काम नलाग्ने अवस्था कै हो ?

यो प्रश्नको उत्तर दिँदा यो भन्न जरुरी छ कि म स्वास्थ्य मन्त्रालयको राज्यमन्त्री पनि हो। हामीले जति पिसिआर मेसिनमा विश्वास गरेका छौ त्यति आरडिटिमा विश्वास गरेको छैन।

यो रोगलाई परीक्षण गर्न विशेषज्ञहरू अहिले पनि अध्ययन गरिरहनु भएको छ। पहिले त सङ्क्रमित सित लसपस भएको चौध दिन पछि थाहा हुन्छ भन्ने कुरा आयो । फेरि ३३ डिग्री तापक्रम अथवा गर्मी आयो भने रोगनै हराउँछ भन्ने कुरा पनि आयो। यो भनाइ मेरो होइन यो तत्कालीन समयमा विश्लेषकहरूबाट आएका हुन्।

अर्को कुरा डल्लु एचओले १४ दिनपछि यो रोग देखा पर्दैन भन्ने कुरा गर्यो । हामीले त्यो कुरालाई मानेर गएको अवस्था छ। दुनियाँले त्यो कुरालाई मानेको छ। तर नेपालको सन्दर्भमा त्यो लागु भएको स्थिति थिएन। हामीले विदेशबाट आएकालाई चौध दिनसम्म क्वारेनटाइनमा राख्यौ। तर उसमा २१ दिन पछि सङ्क्रमण देखिएको अवस्था छ। त्यति मात्रै होइन ४२ दिन पछि पनि देखिएको अवस्था छ।

अब आरडीटीको सन्दर्भमा जो नारा जुलुस पनि गरिरहनु भएको छ। स्वाभाविक रूपमा त्यो वहाँ हरूको अधिकारको कुरा हो। मेरो त्यता पटी टिप्पणी छैन। तपाइहरूको सबैको हातमा मोबाइल छ। फेसबुक वालमा लेख्नु यसमा कुनै आपत्ति भएन। तर हामीले तय गरिरहेका मापदण्डका उलङ्घन गरेर जुन नारा जुलुस भइरहेको छ त्यो राम्रो हुँदै होइन । जुन सामाजिक दुरी कायम गर्ने पर्ने परिस्थितिमा, हामीले पटक फटक भनिरहेका छौ। सिङ्गो सरकारले भनेको छ। सबै राजनैतिक दलले सामाजिक दुरी कायम गरौँ भनिराखेको अवस्थामा नारा जुलुसले राम्रो सङ्केत गरिरहेको छैन। हामीले २५ जना भन्दा बढी भेला नहुने भनेका छौ। त्यसमा पनि सामाजिक दुरी कायम गर्न भनिएको छ। लकडाउन खुकुलो बनाइयो। तर सयौँको सङ्ख्यामा नारा जुलुस जे गरिरहनु भएको छ त्यो रोग निम्त्याउने कुरा पनि हो।स्वास्थ्य मन्त्रालयको तर्फबाट मेरो उहाँहरूलाई यसो नगरिदिन विनम्रता पूर्वक अनुरोध छ।

तपाईँहरूका मागलाई हामी सम्बोधन गर्ने अवस्थामा छौ। आरडिटिमा समस्या छैन भन्ने होइन । आरडिटिमा दैलेखमा एउटा घट्ना भयो । दुई सय जनालाई आरडिटी टेस्ट गरेर घर पठाइयो। पछि फेरि उनीहरूको पिसिआर गर्ने अभियान चल्यो। पिसिआरमा फेरि गर्दा एक सय आठ जनामा कोरोना देखियो।

यस्तो अवस्था भएकोले स्वास्थ्य मन्त्रालयमा पनि छलफल चलाएका छौ। फेरि यस्तो अवस्थामा आरडिटमा पोजेटिभ देखिए अनिवार्य पिसिआर गर्ने व्यवस्था गरेका छौ। यसमा सरकार सक्रिय रूपमा लागेको छ। प्रदर्शन गर्नेहरूलाई मेरो अनुरोध तपाइहरूको सद्भभाव सहितको सरकार हो । तपाइहरूले नै यो सरकारलाई सहयोग गरेर जानुहोस् । सुझाव दिनुस् त्यस सुझावलाई कार्यान्वयनमा लैजान नेपाल सरकार तयार छ। स्वास्थ्य मन्त्रालय तयार छ।

प्रदर्शनकारीलाई सम्बोधन गर्न के गर्दै हुनुहुन्छ? ठोस कुरा बताइ दिनुस् न। जुन कुराले उनीहरू विश्वस्त हुन सकुन्।

उहाँहरूले राखेका मागहरू मध्ये स्वास्थ्य मन्त्रालयले आरडिटिको सट्टा पिससिआर टेस्ट नै बढाउने तयारी तीव्र रूपले अघि लादै छौ। हामीले प्रत्येक दिन पाँच हजारको पिसिआर गरिरहेको अवस्थामा छ । हामीले पीसिआर मेसिन पनि थप्दै छौ।

स्वास्थ्य मन्त्रालयले ११ वटा पिसिआर मेसिन थप्दै छ। ११ वटा नयाँ मेसिन ल्याउने प्रक्रिया अघि बढाएका छौ। कतिपय हामीलाई विश्व बैकले सहयोग गर्दै छ। वाँकी सात वटा मसिन हामी आफै किन्दै छौ। त्यो अटोमेटिक मेसिन हो । जसको क्षमता न्यूनतम एक हजारको परीक्षण गर्ने क्षमता हुन्छ। त्यो एघार वटैमा निकाल्यौ भने त आम नागरिकको पिसिआर गरौँ भन्दा पनि गर्न सक्ने अवस्था हुन्छ।

फेसबुकमा लेखे जस्तो,प्रदर्शनमा उत्रिएर नारा जुलुस गरे जस्तो तत्काल हुने चिज पनि होइन। कुनै राज्य सत्ताको उलट पलट त गर्न लागेका छैनौ नि रु आज महाशक्ति राष्ट्रहरू कोरोनाको अगाडि जुधिरहेका छन्।चीनले नियन्त्रणमा पनि ल्यायो। तर त्यहाँ कसरी नियन्त्रणमा आयो भन्ने कुरा बुझ्न पनि जरुरी छ। त्यहाँ अनुशासन थियो। सरकारका नीति निर्देशनलाई पालना गर्दा त्यहाँ नियन्त्रण भएको हो।

स्पेन तथा युरोपका कतिपय देशहरूमा प्रदर्शन नगर्न कडा निर्देशन जारी गरेको छ। सडकमा गएका आन्दोलनकारीलाई गोली नै हानेको छ। तर हामीले त्यस्तो त गरेको छैन नि । त्यसकारण अहिले पनि हाम्रो के अनुरोध हो भने सरकार अत्यन्त संवेदनशील छ। सरकारका तर्फबाट नागरिकलाई सुरक्षित राख्न हामीहरू लागिरहेका छौ। फेसबुकमा लेखेर, सडकमा आएर यो रोगका विरुद्ध लड्न सकिन्न । फेस बुकमा लेख्नुस् छुट छ। रोगको प्रकृति हेरेर, स्वतन्त्रता पूर्वक विरोधका शब्द फेस बुकमा लेख्न्नुस तर सडकमा आउने भनेको, अहिलेको अवस्थामा ठिक होइन। अन्य परिस्थितिमा सडकमा आन्दोलन गर्न सकिन्छ। काठमाडौँ यति बेला अरू भन्दा सुरक्षित छ। तपाइहरूको आन्दोलनमा एक जना पनि सङ्क्रमित रहेछ भने त्यसले काठमाण्डौलाइ नै सखाप पार्न सक्छ। तपाइहरुकै कारण अरूले पनि दुख पाउने स्थिति आउँछ। फेरि त्यो स्थितिमा तंपाइ सरकार लाइनै दोष लगाउने स्थिति हुन्छ।

फेरि मैले नागरिकले गरेको प्रदर्शनलाई नराम्रो भनी राखेको छैन । वहाँरूको उद्देश्य राम्रो छ। नागरिकको ज्यान जोगाउनु पर्छ सरकारले,सङ्क्रमित हुन दिनु भएन भन्ने माग कसैले नकार्न सक्दैन। तर डल्लु एचओले निर्देशन गरेका विश्वव्यापी निर्देशन र सरकारले गरेका निर्देशन परिपालना नगर्ने कुरामा साथ समर्थन दिन सकिन्न।

कहिलेसम्म आउँछ पिसिआर मसिन रु समय घर्किन लागेन र ?

यो तुरुन्तै हुने कुरा हुँदैन । यसका प्रक्रिया छन्। तर पनि हामी धेरै बिलम्म गर्ने पक्षमा छँदै छैनौ। यो एक साता भित्रमा ल्याइन्छ भनेर जनतामा मेरो सन्देश पुर्‍याइदिनुस्। फेरि नयाँलाई मात्रै हामी कुरिरहेका छैनौ भनेर पनि लेखिदिनुस्। अहिले हामी जहाँ बढी जोखिम छ त्यहाँ सबैभन्दा पहिले पठाउने हाम्रो योजना छ। दैलेखमा पर्सि सोमबार ९६ जनाको निकाल्ने क्षमताको पिसिआर मेसिन पठाउँदै छौ।

फेरि यसो भनिरहँदा अहिले तल्लो तहमा पिसिआर मसिन किन्ने होडबाजी पनि चलेको छ। तर त्यसका प्रक्रिया,सञ्चालन गर्ने विधिको बारेमा सोचे जस्तो लाग्दैन। पिसिआर मसिन किनेर मात्रै हुँदैन। किनकि अहिले ९६ जनाको रिपोर्ट निकाल्ने मसिनलाई जनशक्ति पनि ६ जना चाहिन्छ। उसले आठ घण्टामा त्यो रिपोर्ट निकाल्ने हो। तर हामीले ल्याउने नयाँ मेसिनले एक हजार भन्दा बढी रिपोर्ट निकाल्छ। जनशक्तिका हिसाबले चार जना मात्रै चाहिन्छ।

हो त्यस कारण पिसिआर मात्रै ल्याएर हुँदैन। त्यसको सारा व्यवस्थामा पनि ध्यान दिनु पर्छ।

सामान हरूको सन्दर्भमा पनि पर्याप्त नभएको भन्ने गुनासा छन्। कहिले कहाँ सकियो कहिले अर्को ठाउँमा सकियो भन्ने सुनिन्छ । वास्तविकता के हो ?

सामाग्रीको सन्दर्भमा पिपिइ लगायत कहीँ कतै कमी छैन। स्वास्थ्य मन्त्रालयले खरिद प्रकृया मार्फत पनि ल्याइ रहेको छ। त्यसै गरी हामीलाई मित्र राष्ट्र हरूले सहयोग पनि गर्नु भएको छ। सहयोगी दाता हरूलाई नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको तर्फबाट धन्यवाद पनि दिन्छु । सामग्रीका सन्दर्भमा बाहिर मिडियामा आए जस्तो समस्या छैन।

हामीसंग भइरहेका जति पनि ल्याब छन् उनीहरूलाई कहीँ कतै किट अभाव हुन दिएका छैनौ। बरु समस्या के मा छ भने सुदूर पश्चिम प्रदेशको ल्याबले निकाल्छ ९६ वटा रिपोर्ट। समय लिन्छ आठ घण्टा। चौबिसै घण्टा काम गर्दा पनि उसले दुई तीन दिन लगाएर पाँच सय निकाल्छ। तर स्वाब सङ्कलन कति भइदियो भन्दाखेरि चार हजारसम्म ।

दुई नम्बर प्रदेशको रौतहटबाट मात्रै टेकु ल्याबमा तीन हजार नमुना आएका छन्। हाम्रो किट नभएर होइन कि मेसिनको जाँच गर्ने क्षमता नभएकोले त्यो समस्या पैदा भएको हो। फेरि यता मेसिनहरू एकछिन खाली भने छैनन्। सामाग्री त्यति बेला छैन भन्ने बुझ्नु पर्छ जुन बेला ल्याबले काम नपाएको अवस्था हुन्छ। फेरि सबै जिल्लामा भएको सङ्क्रमितको सङ्ख्याको तथ्याङ्क हामी सित छ। योजना पनि छ। त्यही अनुसार हामीले पक्रिया पुर्‍याएर पठाउँदै आएकै छौ। स्वास्थ्यकर्मी साथीहरू रातै दिन काम गरिरहनु भएको छ। त्यस कारण बाहिर हल्ला भए जस्तो यो सामाग्री नभएको हुँदै होइन।

सरकारको अबको लक्ष्य हो ?

सरकारको अबको लक्ष्य भनेको कोरोनालाई नियन्त्रण कसरी गर्ने रु सुरक्षित भइरहेको स्थानलाई कसरी सुरक्षित राख्ने भन्ने अभियानमा सरकार जुटेको छ। स्वास्थ्य मन्त्रालय जुटेको छ। सम्पूर्ण राजनैतिक दलको हामीलाई साथ समर्थन छ। पत्रकार र मिडियाका साथीहरूले पनि हामीलाई सहयोग गर्नु भएको छ। म थप सहयोग गर्नु हुन सबैलाई अनुरोध गर्दछु ।

क्वारेनटिन व्यवस्थित नभएको,क्वारेनटिन मै मृत्यु भएको अवस्था पनि छ। यसलाई व्यवस्थित गर्न नसकिएकै हो ?

हामी तीन तहको सरकारमा छौ। केन्द्रीय सरकार, प्रदेश र स्थानीय सरकार। हामीसँग उच्च स्तरीय समन्वय छ। रक्षामन्त्रीको संयोजकत्वमा भएको उच्च स्तरीय समन्वय समितिले शुरुमै तीन वटा तहका सरकारसँग समन्वय गरेको छ। क्वारेनटिनको जिम्मा स्थानीय सरकारलाई दिइएको छ। फेरि उसलाई जिम्मेवारी दिएर सरकार पन्छिन खोजेको होइन। केन्द्र सरकारले सबै प्रकारको आर्थिक देखि सबै किसिमको जिम्मेवारी लिएकै छ। सबै जनतासँग स्थानीय सरकार सम्पर्कमा रहने भएकोले उसलाई दिइएको हो।

तर तपाइले उठाइरहेको कुरा भन्नु पर्दा,हाम्रो मुलुकको सन्दर्भ, हाम्रो परिवेशमा आर्थिक देखि भौतिक सबै किसिममा क्षमता के छ भनिरहनु परेन ,यो सबै नागरिकले बुझेको कुरा हो। तर भन्नका निम्ति,सुनाउनका निम्ति, विरोध गर्नमा निम्ति फरक कुरा हो । बाहिर बसेर गर्न सकेन भन्न सजिलो छ। तर हाम्रो संरचना, अवस्था के छ भन्ने कुरा दुनियाँले बुझेकै कुरा हो।

काठमाण्डौको होटेल बुकिङ गरियो भने ठिकै होला । क्वारेनटिन राख्ने सन्दर्भमा अहिले नेपालमा भएका सरकारी विद्यालय,क्याम्पसहरू भरि भराऊ भएको अवस्था छ। कर्णाली प्रदेशको कुरा गर्नु हुन्छ भने विश्व विद्यालय सबै भरिएको अवस्था छ।

जहाँ पक्की भवन छन्। त्यहाँ सङ्क्रमितको सङ्ख्या कम छ। तर अन्य ठाउँमा भने यस्तो सुविधा नरहेकोले त्यहाँ सङ्क्रमितको सङ्ख्या बढेको हो। डब्लुएचओको मापदण्ड अनुसार काम गर्न गाह्रो छ। किनकि त्यस अनुसार छुट्टै शौचालय हुनु पर्ने माग अघि सारेको छ। जुन गर्न कति सम्भव छ त्यो सोच्न जरुरी छ। मैले नै पनि कति ठाउँमा क्वारेनटिनको अवस्था निरीक्षण गरेको छु । जुन एक मिटरको दुरी कायम गर्नु पर्ने खालको थिएन। यो सरकारले जानी जानी गरेको होइन। त्यो परिस्थितिले निम्त्याएको हो। यस कारण सबैले यसलाई सकारात्मक ढङ्गले लिनु पर्छ।

फेरि मृत्यु भएपछि शवलाई परीक्षण गर्न जरुरी छ। किनकि त्यसको उचित व्यवस्थापन गर्न जरुरी छ। थप नागरिक हरूलाई जोखिममा पर्न नदिन मृत्यु पछि पिसिआर परीक्षण गरिएको हो।

चेक जाँचको कमी भयो भन्दा निजी अस्पताललाई पनि प्रयोग गरेको भए जाँचको सङ्ख्या बढ्थ्यो कि भन्ने पनि छ। के निजीलाई प्रयोग गर्ने नपर्ने अवस्था हो ?

नागरिक स्तरमा उठेको विषय मनासिब नै छ। निजी स्तरका अस्पतालका अधिकारीसँग पटक पटक छलफल पनि भएको छ। हामीले कार्यविधि पनि बनाइसकेको अवस्था छ। अब त्यो अभियान पनि चल्छ। सरकारी स्तरका अस्पतालले मात्रै गर्ने भन्दा निजी स्तरका अस्पताल लाई कोभिडको परीक्षण गर्न दिने कानुनी व्यवस्था लगभग गरिसकेका छौ। त्यो लगभग फाइनल भइसकेको छ। देशमा सङ्कट आउँदा सरकारी अस्पतालको मात्रै जिम्मेवारी होइन निजी अस्पतालको पनि हो।

सरकारलाई आवश्यकता परेको बेला निजी तयार हुनु पर्छ। वहाँहरू सकारात्मक पनि हुनु हुन्छ।

तेस्रो मुलुकबाट आउनेको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? 

तेस्रो मुलुकबाट आउने नागरिकले त्यही पिसिआर गरेको प्रमाण लिएर आउनु पर्छ। क्वारेन्टिन व्यवस्था सरकारले गर्छ। खानपिनको व्यवस्था हामी गर्छौ। त्यसपछि उहाँहरूलाई सम्बन्धित जिल्ला पठाउने व्यवस्था गर्छौ।

निकै छोटो समयमा स्वास्थ्य मन्त्रालयमा सचिवको सरुवा गर्ने गरिएको छ। किन हो ?

स्वास्थ्य मन्त्रालयको आवश्यकता अनुसार क्याबिनेटले गर्ने निर्णय भएको हुनाले यसको जबाफ सरकारले नै दिने हो । तैपनि तीनवटा सचिवको सरुवा भएको हो।व्यवस्थापकीय पक्षलाई अलि व्यवस्थित गर्न नसकिएपछि फेर बदल गर्ने कुरा पनि आउँछ।

हुन त कोरोना नियन्त्रण कहिले होला भन्ने प्रश्न नै उचित नहोला तै पनि मन्त्रालयले कहिले सम्म नियन्त्रणमा ल्याउने लक्ष्य लिएको छ ?

तपाइले ठिकै भन्नु भयो यो अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन । राज्यमन्त्रीको हिसाबले भन्दा पनि व्यक्तिगत रूपमा भन्नु पर्दा, भारत बाट आउनेको सङ्ख्या पनि घट्दै छ। तेस्रो मुलुकबाट आउने नागरिक पनि सुरक्षित नै हुने भयो। किनकि भारत र तेस्रो मुलुकबाट आउने नागरिकको तुलना फरक छ। अब यो कम हुँदै जाँदा नियन्त्रणमा आउने सम्भावना हुन्छ। तर यस्तै खालको नारा जुलुस हुँदै जाने,भीडभाड गर्दै जाने, सरकारको निर्देशन पालना नगर्ने हो केही भन्न सकिन्न । दुई तीन वर्षसम्म रहन सक्छ।

तर मेरो आफ्नो अनुमान के हो भने तेस्रो मुलुक बाट आउनेलाइ व्यवस्थित गरियो। भारतबाट आउने कम हुँदै गए भने,सामाजिक दुरी र होम क्वारेनटाइन लाई व्यवस्थित गरियो भने सके दशैं राम्ररी मनाउन पाइएला। त्यति बेला सम्म सहज ढङ्गले काम हुन्छ भन्ने मेरो अपेक्षा छ।

तर यति भन्दा भन्दै पनि जबसम्म दैनिक १० हजारको हाराहारीमा टेस्ट गर्ने अवस्था कहिले देखि सुरु हुन्छ।नियमहरूलाई कति पालना गर्न सक्छौ। यसले पनि कति कुरा निर्धारण गर्ने छ।





error: Content is protected !!