लकडाउन लाई सहज बनाउनु पर्छ ?

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस जीवनभर नै रहन सक्ने आशङ्का गरेको छ । यो आशङ्का सत्य भयो भने हामीले कोरोना भाइरस संक्रमण हुन नदिने वा संक्रमण भैहाले यसलाई पचाउन सिक्दै अगाडि बढ्नुपर्ने स्थिति आउनेछ । यस्तो भएको खण्डमा हामीले रोगसंग लड्ने क्षमताको बिकास गरेर सङ्क्रमणका कारण हुने सम्भावित मृत्युबाट बच्नुपर्छ भने यसलाई एच।आई भी एड्सजस्तै सामान्य मानेर हिँड्नु पर्ने पनि हुन सक्ने देखाएको छ ।

आजसम्म आइपुग्दा हामीले दुई महिनाको लकडाउन अवधि पार गरिसकेका छौँ । लकडाउनकै कारण भाइरस फैलिने क्रम तुलनात्मक रूपमा कम भएको हुनुपर्छ यसको वाबजुद सङ्क्रमण संख्या बढेको हेर्दा जनता त्रसित भएका छन तर सम्बन्धित निकायहरुले जनतालाई चित्त बुझ्दो तरिकाले आस्वश्थ पार्न सकिरहेका छैनन् । संसार भर आज सम्म संक्रमितको संख्या लगभग सत्तरी लाख पुग्न लागि सकेको छ भने मृत्यु हुनेको संख्या करिब चार लाख पुग्ने क्रममा छ । नेपालमै पनि दुइ हजार पाच सय भन्दा बढी को संक्रमण संख्या पुगेको स्थिति छ भने मृतकको संख्या उकालो लागिरहेको छ, संक्रमण अझ बढ्ने कुरामा पछिल्लो एक हप्तामा संक्रमणको संख्या दोब्बर बढी बृद्दिले समाजलाई आतंकित बनाउनु किमार्थ गलत होइन ।

देशले आज कहिल्यै कल्पना नगरेको आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको छ । साना तथा मझौला उद्योगदेखि लिएर ठुला उद्योगका साथै होटल व्यवसाय सबै ठप्प छन् । उद्योग व्यवसाय बन्द हुँदा यसको असर लगानीकर्ता, मजदुर, तिनका परिवार, बैङ्क तथा वित्तीय संस्थालगायत उत्पादन र बजारीकरणमा पर्छ । यसले देश कै अर्थतन्त्रलाई धराशायी बनाएको छ । कोरोना भाइरसलाई हामी एउटा बिशाल सागरमा देखिएको सानो हिउको टुक्रा जस्तो रूपमा लिन सक्छौँ , यसलाइ देख्दा एक भाग सानो देखिन्छ तर नदेखिने भागले धेरै प्रभाव पार्दछ । यस महामारीले स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक र सामाजिक सास्कृतिक र मानसिक क्षेत्रमा धेरै नै असर पुर्याएको छ ।

नेपालमा साना तथा मझौला उद्योग साढे चार लाख बढि छन् भने ठुला उद्योग साढे छ हजार जति छन् । यिनले तीस देखि पैतिस लाख बढि रोजगारी सृजना गरेका छन् । उद्योग र व्यवसायले नेपालको कुल गार्हस्थ्य उत्पादनमा पच्चीस प्रतिशत हिस्सा ओगटेको छ । यी कल–कारखानाहरूमा बैङ्कको करिब रु।३५ खर्ब भन्दा बढी लगानी छ ।नेपालमा हालसम्म ८५ प्रतिशत उद्योग र व्यवसायको नाफा घटिसकेको पाइन्छ भने १५ लाख भन्दा धेरैले रोजगारी गुमाएका छन्, अनौपचारिक क्षेत्रमा काम गर्नेको त झन् कम बिजोक छैन। त्यसै गरी विकास–निर्माणमा बीस लाखले रोजगारी पाएका छन् भने झन्डै १० प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान छ ।

त्यस्तै करिब आठ हजारको सङ्ख्यामा रहेका होटल ब्यवासायले करिब आठ लाखभन्दा बढीलाइ रोजगार बनाएकोछ । प्रतिवर्ष नेपालमा करिब साढे पाँच लाख भन्दा बढी नयाँ जनशक्ति तयार हुने तथ्याङ्कले देखाउँछ जो नेपाली श्रम बजारमा रोजगारीको लागि निस्कने गर्दछन भने एक लाखले मात्र रोजगारी पाउने अनुमान छ। अझ अहिलेको विषम स्थितिमा बिदेशमा श्रम गर्न गएका सत्तरी लाख नेपालिहरु मध्धे करिब २० प्रतिशतभन्दा बढी स्वदेश फर्कन चाहेको समाचारहरु आइरहेका छन् । यसरि फर्किएका नेपालिहरुलाई कसरि व्यवस्थापन गर्ने भन्ने पनि चुनौती छदैछ ।

अब यो लकडाउन कति समय सम्म लम्ब्याउने, खोल्दा कति चरणमा खोल्ने, खोले पछि संक्रमण फैलिन नदिन कसरि मानिसहरुलाई सजग बनाउने भन्ने कुरा अहिलेको मुख्य समस्या हो । यदि लकडाउन लम्बिँदै गयो भने अझ धेरैले रोजगारी गुमाउनेछन्, जसका कारण जीवनयापन थप कष्टकर हुन पुग्ने निश्चित छ । दैनिक ज्यालामजदुरी गरेर हातमुख जोर्ने निम्नवर्गीय परिवारको जीवन अहिले नै ज्यादै कष्टकर बनिसकेको छ । साधारण मानिसहरूलाई रोजगारी गुमाउने डर एकातिर छ भने अर्कातिर लकडाउनका कारण डिप्रेसन र तनावले गाँज्न सक्ने देखिन्छ ।

यी तमाम आर्थिक समस्याको साथै आफूले चाहेको मान्छे वा साथीसँग आफ्ना कुरा राख्न नपाउँदा र सामाजिक सञ्जालले फैलाएको त्रासले गर्दा मनोरोगीको सङ्ख्या बढिरहेको छ । यसबाट देश कै बिकासको लागि चाहिने जनशक्तिमा मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने र रचनात्मकतामा ह्रास निम्तिने कुरालाई नकार्न सकिँदैन । यसै गरी लकडाउनलाई लम्ब्याउँदै जाँदा भाइरसले नभई भोकमरीले ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन अवश्य बढ्नेछ ।

छिमेकी मुलुक भारत, जससँग हाम्रो संस्कृति, जीवनशैली, रितिरिवाजलगायत खाद्यप्रणाली पनि मिल्छन् । त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेमा ६० देखि ७५ वर्ष उमेरसमूहका ४२ प्रतिशत छन्, ४५ देखि ६० वर्ष उमेरसमूहका ३४ प्रतिशत छन्, तीमध्ये पनि मधुमेह, हृदय रोग र मृगौलाको खराबीका कारण मृत्यु हुने ७८ प्रतिशत रहेका छन् । हाम्रो देशमा पनि लगभग यस्तै परिदृश्य देखिरहेको छ ।

यसकै कारण आगामी दिनमा आर्थिक र सामाजिक क्षेत्रमा पुग्ने असरका कारण बाँच्न गाह्रो हुने देखिन्छ । यस किसिमका विभिन्न समस्याहरुलाई रोक्न सरकारले उचित राहातको व्यवस्था गर्नु पर्ने छ तर निशुल्क रुपमा गरिने राहात कार्यक्रमले देशको आर्थिक स्थिति अझ बिग्रने हुनाले आफ्ना जनतालाई काम लगाएर, कृषि लाइ यन्त्रिकरण गरि उच्च उत्पादन गराई जनशक्ति सदुपयोग गर्न सक्नु पर्दछ । त्यसकारण नेपालमा पनि अब लकडाउनलाई सहज बनाउँदै लानुपर्छ र अर्थतन्त्रसँग सोझै सम्बन्ध राख्ने क्षेत्रलाई सुचारु गराउँदै दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने जनशक्तिको जीवन सहज बनाउनुपर्छ । यसबाट अर्थतन्त्रमा टेवा पुर्याउने औद्योगिक, व्यापारिक, वित्तीय आदि क्षेत्रको भविष्यमा सुधार हुन जान्छ भने भोकमरीले निम्त्याउने भयावह परिस्थितिलाई रोक्न सकिन्छ ।

नत्र विषम परिस्थिति कारण विभिन्न व्यवस्था नै धरायासी बनेका संसार भर धेरै उदारहण हरु छन यहा पनि यस्तो बेला विद्रोह पनि जन्मन सक्छ र यसको प्रमुख जिम्मेवार सरकार हुनेछ । भनिन्छ शिक्षा, स्वास्थ्य, मर्यादित काम, र भरिएको पेटले ल्याउने स्थिरता कुनै सेना, युद्द पोत वा ड्रोन हमलाले कहिल्यै ल्याउन सक्दैनन्।

सामाजिक अभियानता
मनिषा विमली
मैतिदेवि काठमाडौं





error: Content is protected !!