एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर सुत्केरी आमाको मृत्यु अघिल्लो चैतमा शून्य, यो चैतमा ५३

कर्णालीको एम्बुलेन्स ः जाजरकोटकी गर्भवती महिलालाई स्ट्रेचरमा बोकेर पीच बाटो हिँडेर अस्पतालतर्फ लग्दै स्थानीय बासिन्दा । कर्णालीका अधिकांश स्थानीय तहमा एम्बुलेन्स छैन, लकडाउनका कारण यातायातका साधन चल्दैनन् । कोरोना नियन्त्रणका लागि ११ चैतबाट लकडाउन सुरु भएपछि गर्भवती महिला नियमित जाँच गराउन र सुत्केरी हुन सहजै स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन् । जसले उनीहरूको स्वास्थ्यमा जोखिम बढाएको छ ।तस्बिर हेमन्त केसी

कोरोनाले देश र दुनियाँ त्रस्त छ, रोकथाम र उपचारका लागि अनेक प्रयत्न र बहस भइरहेका छन् । तर, यतिवेला सुत्केरी आमाहरूको स्वास्थ्य सुरक्षा छायामा परेको छ । अस्पतालसम्म पहुँच नपाएर, अस्पताल पुगे पनि उपचार नपाएर सुत्केरीको मृत्यु भइरहेको छ । कोरोनाका वेला बढेको मातृ मृत्युदर चिन्ताजनक छ ।

संक्रमणको डरले अस्पतालले सेवा दिँदैनन् भनेर तथा अस्पतालसम्म पुग्ने यातायात साधन नपाएर ग्रामीण क्षेत्रका गर्भवती अहिले घरमै सुत्केरी हुन थालेका छन् । यो संख्या सामान्य छैन । गत माघदेखि कोरोना संक्रमणको त्रास फैलिएपछि फागुनदेखि नै गर्भवती महिला अस्पताल जान कम भएको देखिन्छ ।

यो फागुनमा १५ हजार एक सय ८७ महिला सुत्केरी भएको सरकारी तथ्यांक छ । जब कि अघिल्लो वर्ष यही महिनामा ३२ हजार चार सय १० महिला सुत्केरी भएको तथ्यांक आएको थियो । त्यस्तै वर्ष ०७४ को फागुनमा २७ हजार महिला सुत्केरी भएका थिए । तर, यो फागुनमा नै ठूलो संख्यामा गर्भवती महिला स्वास्थ्य संस्थाको सम्पर्कबाहिर रहे । अझ चैतको तथ्यांक त आश्चर्यजनक छ । यो चैतमा जम्मा १४ सय ३६ महिला सुत्केरी भएको तथ्यांक आएको छ । यो हिसाबले फागुनमा १५ हजार र चैतमा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर छन् । तिनको स्वास्थ्य कस्तो छ भन्ने विषय साँच्चै सोचनीय छ ।

घरमै र असुरक्षित रूपमा सुत्केरी हुँदा सुत्केरी आमाहरूको स्वास्थ्य अवस्था नाजुक हुने मात्र होइन, मृत्यदर पनि ह्वात्तै बढेको छ । फागुनमा मात्रै १४ जना गर्भवतीको मृत्यु भएको छ, जब कि यो संख्या अघिल्ला वर्षको यही महिनाको तुलनामा तीन गुणा बढी हो । ०७४ / ०७५ को फागुनमा मातृ मृत्यु तीन र पाँच थियो । अझ चैतमा त ५३ जनाको मृत्यु भएको छ । गत वर्ष चैतमा मातृ मृत्यु शून्य थियो ।

सरकारले स्वास्थ्य सेवा विभागअन्तर्गतको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन महाशाखा ९एचएमआइएस०को तथ्यांकका आधारमा सुरक्षित मातृत्व कार्यक्रमसम्बन्धी राष्ट्रिय योजना तर्जुमा गर्छ । महाशाखाका तथ्यांक अधिकृत वीरबहादुर रावल भन्छन्, ‘मातृ मृत्युको संख्या घट्दै जानुपर्ने हो, तर यसपालि ह्वात्तै बढेको छ । यो चिन्ताको विषय हो ।’

सरकारी तथ्यांकअनुसार हरेक वर्ष देशभर करिब चार लाख महिला गर्भवती हुन्छन् । धेरैजसो स्वास्थ्य संस्थामा सुत्केरी हुन्छन् भने न्यून मात्रले घरमै बच्चा जन्माउने गरेको सरकारी तथ्यांकले देखाउँछ । गत वर्ष चार लाख १२ हजार दुई सय ३० महिला गर्भवती भएकोमा स्वास्थ्य संस्थामा चार लाख पाँच हजार नौ सय ९३ र घरमा ६ हजार दुई सय ३७ महिला सुत्केरी भएका थिए ।

कुनै पनि देशको एउटा मात्रै स्वास्थ्य सूचकको अवस्था हेर्दा आमाको मृत्युदर कस्तो छ भनेर हेरिन्छ । तर, त्यति संवेदनशील मानिने आमाको स्वास्थ्य र ज्यान अहिले सबैभन्दा बढी जोखिममा परेको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकअनुसार नेपालमा सन् २०१६ मा प्रतिलाख जीवित शिशु जन्मदा दुई सय ३९ आमाको मृत्यु हुने गरेको छ । सन् २०११ मा यो संख्या २ सय ५८ थियो । स्वास्थ्य मन्त्रालयले पाँचवर्षे रणनीति जारी गर्दै २०२१ मा मातृ मृत्युदर न्यूनीकरण गरी प्रतिलाख जन्ममा ९९ मा झार्ने लक्ष्य लिएको छ । तर, यहीवेला मातृ मृत्यु चुनौतीपूर्ण रूपमा बढेको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आमा सुरक्षा कार्यक्रम हेर्दै आएकी डा। पुन्या पौडेल पनि आमाहरूको मृत्यु बढेको विषयमा सोधखोज गरिरहेको बताउँछिन् । ‘कोभिड सुरु भएसँगै निजी अस्पतालले प्रायः बिरामी हेरेका छैनन् । कपितय गर्भवती अस्पताल आइपुग्न सकेका छैनन् । त्यसैले पनि मातृमृत्यु बढ्दो क्रममा रहेको हुन सक्छ, हामी थप अनुसन्धान गर्छौं,’ उनले भनिन् । डा। पौडेलका अनुसार मृत्यु हुने धेरैजसो आमा घरमै सुत्केरी भएका हुन् ।

कोभिडका कारण निजी मात्र होइन, सरकारी अस्पतालले पनि गर्भवती महिलालाई सेवा दिन बन्द गरेका छन् । सेती प्रदेशिक अस्पताल पूर्ण रूपमा कोभिड अस्पताल भएको छ । सेतीले सुदूरपश्चिमको सबै डेलिभरी सेवा गराउँदै आएको थियो । ‘सेती अस्पतालमा हरेक दिन ३० जनासम्म महिला सुत्केरी हुने गरेका थिए । अब यो सेवा त्यहाँ रोकिएको छ । सेती अस्पतालको सट्टा नजिकैको नवजीवन अस्पतालमा सेवा दिने व्यवस्था गरिएको छ,’ डा। पौडेल भन्छिन्, ‘नवजीवनमा प्रसूतिसम्वन्धी एकजना मात्र चिकित्सक छन् । हामीले बेलैमा नसोच्ने हो भने, मातृमृत्युको संख्या अझ धेरै हुने डर छ ।’

मोरङ  सुत्केरी गराउन थिएटरमा लगिएकी गर्भवतीलाई नोबेल अस्पतालले निकाल्यो

कालिकोट  घरमै सुत्केरी भएकी नरहरी–७ दुदुल्लुकी २० वर्षीया मीना शाहीको अस्पताल लग्दै गर्दा मृत्यु

डोल्पा  ठुली भेरी–६ दुरगाउँकी २२ वर्षीया लालकुमारी रोकायाको रक्तश्राव नरोकिएर घरमै मृत्यु

पश्चिम रुकुम  आठबीसकोट–६ दामाचौरकी २७ वर्षीया विष्णु विकको अत्यधिक रक्तश्रावले मृत्यु

१६ वैशाख ०७७ मा उदयपुरको त्रियुगा नगरपालिका– ११ की २९ वर्षीया सरस्वती रौनियार प्रसूतिका लागि विराटनगरस्थित नोबेल मडिकल कलेजमा भर्ना भइन । प्रसव वेदनाले छटपटाइरहेकी उनलाई अस्पतालको शय्यामा पुगेपछि सान्त्वना मिलेको थियो । शल्यक्रियाका लागि उनलाई अपरेसन थियटरमा लगिसकिएको थियो । तर, त्यही वेला उदयपुरमा कोरोना भाइरबसबाट केही व्यक्ति संक्रमित भएको खबर आयो । अस्पताल व्यवस्थापनले हतारहतार सरस्वतीलाई निष्कासन गर्‍यो ।

वेदनाले छटपाइरहेकी गर्भवतीलाई निष्कासन नगर्न भन्दै आफन्तले हारगुहार गरे । तर, अस्पताल प्रशासनले भन्यो, ‘संक्रमित जिल्लाका मान्छेलाई हेरविचार गर्न सकिँदैन ।’ व्यवसायी र मानवीय मूल्यलाई लज्जित बनाउँदै अस्पतालले निष्कासन गरेपछि आफन्तले सरस्वतीलाई कोसी अस्पताल पुर्‍याए, जहाँ शल्यक्रियापछि उनले छोरा जन्माइन् ।

दुर्गमका गर्भवती झन् धेरै जोखिममा, लकडाउनकै समयमा मृत्यु बढ्यो

भौगोलिक रूपमा विकट जिल्लामा कोराना संक्रमणले स्वास्थ्य सेवा जटिल बनाइदिएको छ । दुर्गमका गर्भवतीका लागि अस्पताल आफैँमा सहज थिएन, संक्रमणको डरले झन् समस्या थपिदिएको छ ।

अस्पताल जान अहिले सहज छैन । कालिकोेटको नरहरिनाथ गाउँपालिका–७ दुल्लीकी २० वर्र्षीया मीना शाहीले गत शुक्रबार राति घरमै शिशुलाई जन्म दिएकी थिइन् । तर, रक्तस्राव बढेपछि उनलाई अस्पताल लग्ने क्रममा शनिबार दैलेखको गुराँसेमा उनको मृत्यु भएको छ ।

घरमै असुरक्षित रूपमा सुत्केरी भएकी मीनाको स्वास्थ्य बिग्रिएपछि मात्र उपचारका लागि जिल्ला अस्पताल कालिकोट ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पतालले सुर्खेत रिफर गरेको थियो । सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले पहिलो बच्चा १६ वर्षको उमेर जन्माएकी थिइन् । त्यसले स्वास्थ्य जोखिममा परेको थियो । त्यसैले यसपालि गर्भवती भएदेखि नै नियमित जाँचका लागि आउने गरेको दुल्लीस्थित सामुदायिक स्वास्थ्य इकाइकी अनमी बिमला बुढाले बताइन् । तर, लकडाउनको वेला अस्पतालमा सेवा पाइँदैन भनेर उनी घरमै सुत्केरी भइन्, परिणामस्वरूप उनको ज्यानै गयो । ‘उनको बच्चाको अवस्था ठीक थिएन । सुत्केरी हुन जिल्ला अस्पताल जानु भनेकी थिएँ,’ अनमी बुढाले भनिन्, ‘तर, यो अप्ठ्यारो वेला उनी घरमै सुत्केरी भइछन् । धेरै नराम्रो परिणाम आयो ।’

उता, डोल्पाको ठूलीभेरी नगरपालिका– ६ दुरगाउँकी २२ वर्षीया लालुकुमारी रोकायाको पनि सुत्केरी हुँदा नै मृत्यु भएको छ । घरमै असुरक्षित रूपमा सुत्केरी भएकी रोकाया सिकिस्त भइन्, तर उनले स्वास्थ्य उपचार पाइनन्, २९ चैतमा उनको निधन भयो ।

लकडाउन त बहाना भएको छ, विकट कर्णालीका गर्भवतीका लागि सामान्य दिन पनि असामान्य छन् । ६ चैतमा लकडाउन सुरु भएकै थिएन, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ दामाचौरकी २७ वर्षीया विष्णु विक जाजरकोटको औलगुत्ता स्वास्थ्यचौकीमा सुत्केरी भएकी थिइन् । उनलाई अत्यधिक रक्तस्राव भयो, दक्ष स्वास्थ्यकर्मीको सेवा मात्र होइन, रक्तस्राव रोक्ने औषधि पनि नपाएर उनको निधन भयो । स्थानीय तहमा एमबिबिएस डाक्टरको दरबन्दी छ, तर डाक्टर छैनन् । सडक सञ्जालले जोडिएका गाउँपालिकामा पनि एम्बुलेन्स नभएकोले बिरामी र आफन्तलाई असुविधा छ । बर्सेनि स्थानीयको मृत्यु भए पनि स्वास्थ्य संस्था र पूर्वाधार बढाउने काम भएको छैन ।

जाजरकोट र कालिकोटजस्ता दुर्गम बस्तीमा मात्र होइन, तुलनात्मक रूपमा सुगम दाङमा पनि गर्भवती महिलाको स्वास्थ्य सुरक्षित छैन । जिल्लाको लमही, घोराही र तुलसीपुर क्षेत्रमा मात्र ठूला अस्पताल भएकाले टाढाका बस्तीबाट अस्पताल ल्याउने क्रममा गर्भवती महिलाले ज्यान गुमाउनुपर्छ ।

सर्लाहीमा कोरोनाको डरले प्रसूति सेवा लिने घटे

कोरोना संक्रमणको डरले सर्लाहीमा प्रसूति सेवा लिनेको संख्या घटेको छ । करिब ५० प्रतिशत कमी आएको जिल्ला अस्पतालस्थित प्रसूति केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार लकडाउनअघि महिनामा कम्तीमा १६ जना प्रसूति गराउन आउने गरेका थिए । अहिले भने मुस्किलले सात–आठ पुग्ने गरेको प्रसूतिगृहका इन्चार्ज श्याम कुशवाहले बताए । ‘पहिला सुरक्षित प्रसूति गराउन अस्पताल जानुपर्छ भन्नेहरू पनि अहिले डराउँछन् । कोरोना संक्रमण स्वास्थ्यकर्मीबाटै सर्न सक्छ भनेर गर्भ जाँच गर्न आउने पनि घटेका छन्,’ उनले भने । स्थानीय स्वास्थ्य संस्थामा पनि प्रसूति गराउनेको संख्या घटेको छ । गर्भ जाँच गराउन पनि छोडेका छन् ।

असुरक्षित सुत्केरी हुनेको संख्या बढ्यो

रसुवाको आमाछोदिङ्मो गाउँपालिका– १ हाकुबेँसीकी २० वर्षीया सम्झना तामाङ घरमै सुत्केरी भएको एक महिना भयो । लकडाउनका कारण उनी स्वास्थ्यचौकीसम्म पुग्न सकिनन् । लकडाउनमा यातायातको सुविधा थिएन, हिँडेरै स्वास्थ्य संस्थामा पुग्न उकालो तीन घन्टा हिँड्नुपथ्र्यो । त्यसैले स्वास्थ्य संस्थामा जानै सकिनन् ।

चार घन्टादेखि बेथा लागेर सम्झनाको स्वास्थ्य जटिल बनेपछि उनका परिवारले स्वास्थ्यकर्मीलाई घरमै बोलाएका थिए । तर, स्वास्थ्यकर्मी आधा बाटोमै हुँदा उनले बच्चा जन्माइन् । संयोगवश गाउँमै रहेकी महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थितिले भने उनलाई धेरै सहयोग भयो । ‘स्वास्थ्य संस्था टाढा छ, सीधा उकालो बाटो जान पनि सकिएन, एकछिन त मर्छु कि जस्तो लागेको थियो, धन्न स्वयंसेविका भएर बाँचे, नत्र त मेरो के हुन्थ्यो,’ उनले भनिन् ।

हाकुबेँसीकै २८ वर्षीया लाजिवाङ्मो तामाङ पनि दुई हप्ताअघि घरमै सुत्केरी भइन् । ‘हाम्रो गाउँमा त स्वास्थ्य सेवा राम्रो छैन, अरू अस्पतालमा गयो भने कोरोना लाग्छ, परिवारका सदस्यले नै जानुहुँदैन भने । घरमै सुत्केरी भएँ, भाग्यवश राम्रो भयो,’ उनले भनिन् ।

कोरोना संक्रमणको जोखिमबाट जोगिन दुई महिनादेखि गरिएको लकडाउनका कारण यातायात सेवा बन्द छ । स्वास्थ्य संस्थाहरूको प्राथमिकता पनि कोरोना रोकथाममै केन्द्रित छ । त्यसैले धेरै महिला जोखिम मोलेर घरमै सुत्केरी हुन बाध्य भएका छन् ।

भौगोलिक रूपमा विकट रहेका हाकुबेँसीका महिला लकडाउनअघिसम्म सुत्केरी हुन सदरमुकाम धुन्चेस्थित रसुवा अस्पतालमा जाने गरेका थिए । ‘अहिले त धुन्चेका मान्छे यता आउन दिएको छैन, यहाँका मान्छे धुन्चे जान दिएको छैन,’ स्थानीय नोर्साङ तामाङले भनिन्, ‘अस्पताल गयो भने कोरोना रोग सर्न सक्छ भन्ने डरले महिला जोखिम मोलेरै भए पनि घरमै सुत्केरी हुन थालेका छन् ।’

स्वास्थ्य संस्थाले समेत अहिले अन्य रोगका बिरामीलाई उति प्राथमिकता दिँदैनन् । सीमित स्रोतसाधनमा चलेका स्वास्थ्यचौकीमा पर्याप्त उपकरण, जनशक्ति र सेवा–सुविधाको अभाव छ । यसले असुरक्षित सुत्केरी हुने महिलाको संख्या बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जटिल अवस्थामा मात्रै अस्पताल

जिल्ला सामुदायिक अस्पताल लमजुङमा नियमित प्रसूति सेवा सञ्चालनमा रहेको छ । तर, सेवा लिनेको संख्यामा भने कमी आएको छ । गर्भवतीहरू जटिल अवस्थामा मात्रै सेवा लिन आउने गरेका छन् ।

अहिले जटिल अवस्थामा मात्रै सुत्केरी गराउन अस्पताल आउने गरेका छन् । अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार लकडाउनपछि अस्पतालमा २४ जना सुत्केरी भएका छन् । जसमध्ये नौजनाको शल्यक्रियामार्फत बच्चा जन्मिएको श्रेष्ठले बताए ।

लकडाउनका कारण चाप कम हुँदा बिरामीको सहज उपचार भइरहेको छ । अन्य रोगका बिरामीको पनि नियमित उपचार भइरहेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सतर्कता भने अपनाइएको श्रेष्ठले बताए ।

सिराहामा घरमै सुत्केरी, एएनसी जाँच रोकियो

नियमित गर्भ जाँच गराइरहेकी नरहा गाउँपालिका– ५ तिलकपुर मुसहरीकी २७ वर्षीया श्याम सदाले घरमै शिशुलाई जन्म दिइन् । कोरोनाको डरले अस्पताल नगएको उनले बताइन् ।

उनीजस्तै सिराहाका गर्भवतीले घरमै शिशुलाई जन्म दिइरहेका छन् । जिल्ला अस्पतालमा रहेको मेटेनरल एन्ड चाइल्ड हेल्थ ९एमसिएच० क्लिनिक लकडाउनसँगै बन्द गरिएको छ । क्लिनिक बन्द हुँदा प्रसूति सेवा ठप्प भएको छ । स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार एमसिएच क्लिनिक बन्द भएको डा।अखिलेश चौधरीले बताए ।

जिल्लाका स्वास्थ्य केन्द्रहरूमा गर्भ जाँच गराउनेको संख्या घटेको छ । लकडाउनका कारण एक–दुईजना मात्रै आउने गरेको खिरौना स्वास्थ्य केन्द्रकी अनमी अञ्चना ठाकुरले बताइन् । त्यस्तै, दैनिक औरही गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादवले लकडाउन सुरु भएसँगै गर्भ जाँच गर्ने तथा प्रसूति सेवा लिनेको संख्या घटेको बताए ।

कोरोनाको त्रासले जोखिम मोलेर घरमै सुत्केरी

कोरोना भाइरसको त्रासले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिन आउने संख्या घटेको छ । दैनिक औसतमा ३५ जनाले सेवा लिने गरेकोमा अहिले १०–१२ जना मात्रै आउने गरेको अस्पतालले जनाएको छ । अस्पताल जाँदा कोरोनाको संक्रमण सर्न सक्ने त्रासले महिलाहरू जोखिम मोलेर घरमै सुत्केरी हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

अस्पतालको प्रसूति वार्ड इन्चार्ज यशोदा ढकालका अनुसार अहिले जटिल समस्या भएका महिला मात्र प्रसूतिका लागि आउने गरेका छन् । ‘लकडाउनयता सामान्य अवस्था भएका महिला सेवा लिन आएका छैनन्, अस्पताल नआइनहुने केसहरू मात्र आइरहेका छन्,’ उनले भनिन् ।

प्रदेशका अन्य अस्पतालको तुलनामा सेती अस्पतालमा प्रसूति सेवा राम्रो रहेको र जटिल खालको शल्यक्रियासमेत हुने भएकाले अन्य जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । तर, अस्पतालमा कोरोनाका बिरामी बढेपछि प्रदेश सरकारले प्रसूति सेवा बन्द गरेको थियो । तर, चौतर्फी विरोध भएपछि तीन दिनमै सेवा पुनः सुरु गरिएको थियो । सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका पाँचैजनाको सेती अस्पतालमै उपचार भएको थियो । उनीहरू सबै निको भएर घर फर्किसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा पनि प्रसूति सेवा लिने र गर्भावस्थाको नियमित जाँच गर्नेको संख्या पहिलेको तुलनामा आधाभन्दा बढी घटेको छ ।

चितवन अस्पतालमा प्रसूति सेवा नियमित

लकडाउन भए पनि चितवनको भरतपुर अस्पतालमा भने नियमित प्रसूति सेवा प्रदान गरिँदै आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सुत्केरी सेवाका लागि एक सय २० बेड छुट्याइएको छ ।

सेवा नियमित भए पनि गर्भवती भने सामान्य अवस्थामा जस्तो जाने गरेका छैनन् । कोरोनाको भयले केही कमी आएको अस्पतालले जनाएको छ । अस्पताल परिसरमा रहेको क्यान्टिन बन्द हुँदा भने प्रसूति सेवा लिनेहरूलाई समस्या भएको छ ।

ग्रामीण भेगमा उपचार नपाउँदा समस्या

लकडाउनका कारण यातायातको सुविधा नहुँदा दाङका ग्रामीण भेगमा प्रसूति सेवा लिन समस्या भएको छ । नजिक अस्पताल नहुँदा बंगलाचुली, देउखुरीको नाका क्षेत्र र तुलसीपुर पश्चिमका बासिन्दालाई समस्या भएको हो ।

स्थानीय स्वास्थ्य संस्थामा भरपर्दो प्रसूति सेवा नभएको र लमही, घोराही तथा तुलसीपुर लग्दा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । अहिले मात्रै होइन, लकडाउनअघि पनि टाढाका अस्पताल पुग्दा गर्भवतीले ज्यान गुमाउनु परेको थियो ।

राजपुर गाउँपालिका– ७ लैबरुवाकी १८ वर्षीया शिवा केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्दै गर्दा ०७५ फागुनमा बाटोमै ज्यान गएको थियो । घरमै शिशु जन्माएकी उनको रक्तस्राव नरोकिएपछि अस्पताल लगिएको उनका कान्छा ससुरा झुपलाल खत्रीले बताए । स्थानीय स्वास्थ्य चौकीले रिफर गरेपछि घोराही लग्दै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । कात्तिकमा लैबरुवाकै टंकी खड्काको पनि बाटोमै मृत्यु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि भारत लग्दै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताए ।

सरकारी अस्पतालमा प्रसूति सेवा नै बन्द

झापाको दमकस्थित दमक अस्पतालमा वैशाख दोस्रो सातादेखि प्रसूति सेवा बन्द भएको छ । दमकमा एकजना कोरोना संक्रमित भेटिएपछि र तिनका परिवारलाई अस्पतालको आइसोलेसन कक्षमा राखिएकाले प्रसूति सेवा बन्द गरिएको दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। खड्ग लिम्बूले बताए । ‘यही अस्पतालमा आइसोलेसन बनाइयो । ठाउँ सानो छ । त्यसैले प्रसूति सेवा बन्द गर्‍यौँ,’ डा। लिम्बूले भने ।

कोरोनाका त्रासले फिभर क्लिनिक तथा आइसोलेसन वार्ड सञ्चालन गरिएकाले प्रसूति सेवा बन्द गर्नुपरेको उनको भनाइ छ । उनका अनुसार लकडाउन सुरु भएसँगै सुत्केरी गराउने पनि आउने गरेका छैनन् । प्रसूति सेवा बन्द भए पनि त्यसअघिको जाँच भने नियमित चलिरहेको डा। लिम्बूले बताए । शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने सुत्केरी आएमा भने अन्य निजी अस्पतालमा पठाउने गरिएको छ ।

अछाममा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

लकडाउनका कारण अस्पताल जान नसक्दा घरमै सुत्केरी भएकी अछाम साँफेबगर नगरपालिका–११ की २४ वर्षीया तुलसी वडलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनलाई शनिबार नेपाली सेनाको हेलिकोप्टरबार कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

तुर्माखाँद गाउँपालिकामा बस्दै आएकी उनलाई शुक्रबार रातिदेखि नै सुत्केरी बेथा लागेको थियो । त्यसपछि उनलाई स्थानीय तुर्माखाँद स्वास्थ्य चौकी लगिएको थियो । त्यहाँ उनले एक शिशुलाई जन्म दिएकी थिइन् । अर्को शिशुलाई जन्म दिन नसकेपछि हेलिकोप्टरबाट उद्धार गर्नुपरेको तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।

शनिबार उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत तुर्माखाँदबाट सुर्खेत लगिएको हो । सुर्खेत अस्पतालमा दोस्रो शिशुको जन्म भएको र उनको अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष शर्माले बताए ।

नेपालमा कोरोनाबाट पहिलो मृत्यु स् सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि

नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको बिहीबार काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । कोरोनाकै कारण मृत्यु भएको हो वा अन्य समस्या पनि थियो भनेर अध्ययन गरिसकेपछि स्वास्थ्य मन्त्रालयले शनिबार त्यसको पुष्टि गरेको छ ।

नेपालमा संक्रमण भित्रिएको झन्डै चार महिनापछि कोरोना भाइरसबाट पहिलो मृत्यु भएको हो । चीनको वुहानबाट फर्किएका जनकपुरका एक युवामा ९ माघमा पहिलो संक्रमण देखिएको थियो । दुई हप्ता उपचार गरेपछि उनी निको भएर घर फर्किएका थिए । शनिबारसम्म देशभर संक्रमितको संख्या दुई सय ८१ पुगेको छ ।

मृतक महिलाले २४ वैशाखमा काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् । त्यसको एक दिनअघि उनी अस्पताल भर्ना भएकी थिइन् । २५ वैशाखमा डिस्चार्ज भए पनि दुई दिन काठमाडौंकै डेरामा बसेर उनी २८ वैशाखमा बाह्रबिसेस्थित घर फर्केकी थिइन् । तर, ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिन थालेपछि उनले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको लक्षण देखिएको र समस्या बढ्दै गएपछि बिहीबार उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो । बीचबाटोमै उनलाई सास फेर्न गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेल अस्पताल लगिएको थियो । तर, बाटोमै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

‘अस्पताल ल्याइपुर्‍याउँदा नै उहाँको मृत्यु भइसकेको थियो । स्वास्थ्यकर्मीले कृत्रिम श्वास दिएर कोसिस गर्नुभयो, तर केही सीप लागेन । श्वासप्रश्वासमा समस्या भएकाले हामीले तत्कालै स्वाब लियौँ । अस्पतालको ल्याबमा पिसिआर परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो,’ धुलिखेल अस्पतालका डिन डा। राजेन्द्र कोजूले भने ।

मृतकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालले उनको नमुना केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाएको थियो । त्यहाँको रिपोर्ट पनि पोजेटिभ आएको थियो । संक्रमणबाट जोगिन अस्पतालले परिवारका सदस्यलाई मृतकको छेउमा जान दिएको छैन ।

शनिबारसम्म देशभर संक्रमितको संख्या दुई सय ८१ पुगेको छ । उनीहरूमध्ये ३६ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म २६ हजार ६ सय ९१ नमुना पिसिआर विधिबाट र ६५ हजार सात सय ४९ वटा आरडिटी प्रविधिबाट परीक्षण गरिएका छन् । देशभरका क्वारेन्टाइनमा १६ हजार तीन सय ६६ जना रहेका छन् ।

आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउने, शवलाई छुन नपाउने
कोरोना संक्रमणबाट मृत्यु भएकालाई आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउनेछन् । संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले शव व्यवस्थापनका लागि बनाएको निर्देशिकामा यस्तो व्यवस्था गरेको छ । शवलाई नछोईकन टाढैबाट कुलरधर्मअनुसार तिल, पानी छर्कने तथा फूल चढाउन भने पाइनेछ । त्यस्तै, ६० वर्षभन्दा माथिका र दीर्घरोगीलाई शवको नजिक जान रोक लगाइएको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा पनि विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सचालक, परिवारका सदस्य र सद्गद्मा सहभागी हुने मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहितको पिपिई अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको सामान्यतः पोस्टमार्टम गर्नुपर्दैन । मृतकको फोक्सो तथा अन्य अंगमा जीवाणु जिउँदै हुन सक्ने भएकाले पोस्टमार्टम गर्नैपर्ने अवस्थामा विशेष होसियारी अपनाउन विज्ञहरूको सुझाब छ । शवलाई पर्याप्त भेन्टिलेसन भएको कोठामा राखी कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरणको प्रयोग गरेर मात्रै पोस्टमार्टम गर्नुपर्नेछ ।

हेमन्त केसी जाजरकोट, रामकृष्ण थापा सिन्धुपाल्चोक, इन्द्रबहादुर थापा काभ्रे , श्रवण थापा सर्लाही, अनु आचार्य रसुवा , शान्ता कमली लमजुङ, सुरेन्द्रकुमार कामती सिराहा, तेजराज भट्ट धनगढी, विवेक पोख्रेल भरतपुर, भूपेन्द्र वली दाङ, चिरञ्जीवी घिमिरे झापा, ध्रुव बीसी अछाम ।





error: Content is protected !!