गर्भवतीको शंकास्पद मृत्यु ः श्रीमान र ससुरा पक्राउ

जाजरकोट ः जिल्लाको बारेकोट ६ ताँसीकी २२ वर्षीया जेनिसा नेपालीको शंकास्पद मृत्यु भएपछि श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले मृतकका श्रीमान बारेकोट-६ ताँसी निवासी २४ वर्षीया अविनास विक र ६० वर्षीया ससुरा दलवीर कामीलाई पक्राउ गरेको हो।

गत २७ वैशाखमा जेनिसाको शंकास्पद मृत्यु भएपछि मृतकका माइतीले हत्या गरिएको भन्दै उनीहरुसहित घरपरिवारका पाँच जनाको नाममा किटानी जाहेरी गरेका थिए। माइती पक्षले घरपरिवारले नै हत्या गरेको किटानीसहित कर्तव्य ज्यान मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। किटानी जाहेरी दिएका सासु रतनकली विक, आमाजु दिदी दुर्गा विकर नन्द विपना विक भने पक्राउ परेकी छैनन्।

कुशे- ६ नारे माइती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास विकसँग विवाह भएको थियो। कुनै बिरामी नभएकी जेनिसाको पेट दुखेर एक्कासीे मृत्यु भयो भनिए पनि जेनिसाको शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग रहेको लगायतका कारण यो कालगति र कुनै रोगले भन्दा घरपरिवारले नै हत्या गरेको मृतकका दाइ प्रविण नेपालीले बताए।

बुधबार जाहेरी लिन नमानेको प्रहरीले शुक्रबार मात्र जाहेरी दर्ता गराएर अनुसन्धान अघि बढाएको छ। घटनाबारे अनुसन्धान भइरहेको र दुई जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए।





error: Content is protected !!