गाउँगाउँमा स्वास्थ्यकर्मी

हेमन्त केसी
जाजरकोट (रासस)ः भेरी नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सेवा प्रदान गर्न गाउँ गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरभित्रका चार ठाउँमा रहेका बर्थिङ सेन्टरमा सुरक्षितरुपमा ‘सुत्केरी गराई आमा तथा शिशुको स्वास्थ्य राम्रो होस्’ भनी सोे अभियान सञ्चालन भएको जनाइएको छ । जगतीपुर, कुदु, बाहुनथाना र भुरस्थित स्वास्थ्य चौकीमा ती सेन्टर रहेका छन् । ती ठाउँमा गर्भजाँच तथा सुत्केरी हुन आउने महिलालाई केन्द्रविन्दु मानेर नगरपालिकाले चारजना स्वास्थ्यकर्मीलाई परिचालन गरेको छ ।

यहाँका महिला स्वयंसेविका, आमा समूहलाई समेत गर्भवतीको स्वास्थ्य अवस्था र गर्भजाँच गर्दा अपनाउनुपर्ने कुराका विषयमा स्वास्थ्यकर्मीले घरमै गएर सचेतना फैलाउने काम गरिरहेको नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख निरा थापाले जानकारी दिनुभयो । नगरपालिकाको वडा २ बाहुनथानमा पशुपति पुन मगर, वडा नं १० को भुरमा कैशिला चन्द, वडा नं ११ को जगतीपुरमा भावना चन्द र वडा नं १३ को कुदुमा पवित्रा गिरीलाई नगरले गाउँ गाउँमा सो सेवा प्रवाह गर्नका लागि खटाएको छ ।

गुदु स्वास्थ्य चौकीमा यो वर्षमात्र ५२ जना सुत्केरी भएको बताइएको छ । त्यस्तै बाहुनथाना स्वास्थ्य चौकी प्रमुख बेदबहादुर सिंहका अनुसार अहिलेसम्म २६ जनाले सुरक्षित सुत्केरी सेवा लिन आएका छन् । सो नगरपालिकाका उपप्रमुख भावना भण्डारीका अनुसार नजिक भएका वडामा समेत सेवा प्रवाह गर्नका लागि नगरले स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको भन्दै उहाँले भन्नुभयो, “हामीले टाढाबाट स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीलाई यातायात खर्च तिरेर भए पनि स्वास्थ्य संस्थामा ल्याएर सुरक्षित सुत्केरी गर्ने व्यवस्था मिलाएका छौँ । जिल्लामा उपचार सम्भव नभएका गर्भवतीलाई समेत रकम तिरेर बाहिर जिल्लामा सिफारिस गरिएको छ ।”

अघिल्लो वर्षभन्दा यो वर्षको १० महिनाको अन्तरालमा सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढेको स्वास्थ्य संस्थाले बताएका छन् । त्यस्तै गर्भवती नियमित गर्भजाँच गराउनेको सङ्ख्यासमेत बढेको छ । चारपटकसम्म गर्भजाँच गरेर सुरक्षित सुत्केरी हुन आउनेको सङ्ख्या बढेसँगै बालमृत्युदरमा समेत कमी आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गर्भवतीलाई नियमित पोसिलो खाना, स्याहार, हेरचाह गर्नका लागि परिवारको सहयोग राम्रो पाएको अधिकांश स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाले बताएका छन् ।

गाउँ गाउँमा असुरक्षित सुत्केरी हुनेको सङ्ख्या बढेपछि नगरपालिकाले सुरक्षित सुत्केरी दर बढाउन बिभिन्न प्याकेजसहित कार्यक्रम गर्दै आएको छ । कृषि शाखामार्फत विभिन्न ठाउँमा कृषिजन्य वस्तुको उत्पादन तथा पकेट क्षेत्र घोषणा गरी ताजा फलफूल सेवन गर्नेको दरसमेत बढेको पाइएको छ । नवजात शिशु स्वस्थ हुनका लागि आमा स्वस्थ हुनुपर्ने भन्दै नगरपालिकाले गर्भवती अवस्थादेखि नै विशेष खानपिनमा हेरचाह गर्न घरमूलीलाई प्रशिक्षण दिँदै आएको छ ।

गर्भवती अवस्था चाहिने स्याहार, पौष्टिक तत्वयुक्त खाना, आराम र गर्भजाँच गर्ने कार्यलाई कडाइपूर्वक सञ्चालन गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । यहाँले भन्नुभयो, “सुनौला हजार दिनभित्रका आमा र शिशुका लागि काम भइरहेका छन् । १३ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । प्रत्येक गाउँमा गएर गर्भवती महिलालाई भिडियो एक्स–रे सेवा, पाठेघरको क्यान्सर, आङ खस्ने समस्याका बारेमा समेत जाँच गर्ने काम भएको समेत उहाँले बताउनुभयो ।” जाँच गरेर बढी समस्या आएका महिलालाई थप उपचारका लागि बाहिर जिल्लामा सिफारिस गरिएको नगरप्रमुख घर्तीले जानकारी दिनुभयो ।





error: Content is protected !!