यसरी गरौँ ज्येष्ठ नागरिकको हेरचाह

ज्येष्ठ नागरिकले कठिन व्यायाम गर्न सक्दैनन् । यसर्थ, दिनमा करिब १५ मिनेटसम्मको जोर्नी र औँला चलाउने सामान्य व्यायाम गराउनुपर्छ ।

डा दिनेश बाँस्तोला, फिजिसियन

ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्छ । त्यसैले हो, बुढेसकालमा कुनै न कुनै रोगले सताउने पनि । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकैले ज्येष्ठ नागरिकहरू कोरोना भाइरस संक्रमणको बढी जोखिममा छन् । तर, यस्तो समाचारले उनीहरूलाई हतोत्साही पनि बनाएको हुन सक्छ । यस्तो अवस्था आउन नदिन परिवारका अन्य सदस्यले ज्येष्ठ नागरिकको उचित ख्याल राख्न आवश्यक छ ।

सकारात्मक व्यवहार गर्ने

यस्तो वेला उनीहरूलाई परिवार, समुदाय, समाज र राज्यले ख्याल राख्नुपर्छ । परिवारका अन्य सदस्यले प्रौढसँग वादविवाद नगर्ने, उनीहरूका कुरा सुन्ने, अह्राएको काम टेर्ने र सहयोग गर्ने गर्नुपर्छ ।

नुहाइदिने, कपडा धोइदिने, वेला–वेला हातगोडा सफा गरिदिने, घाम ताप्न लैजाने, कपाल कोरिदिनेजस्ता दैनिकीमा सहयोग गर्नुपर्छ । उनीहरूका असन्तुष्टिलाई लिएर नकारात्मक व्यवहार गर्नुहुँदैन ।

खानपानमा ध्यान पुयाउने

नियमित औषधि सेवन गराउने तथा समय–समयमा खानेकुरा र तातोपानी दिने गर्नुपर्छ । कब्जियतको समस्या भएकाहरूलाई फाइबरयुक्त खाना, बोेसोरहित तरकारी, साग र गेडागुडीको झोल खान दिने गर्नुपर्छ । चिनी कम भएको चिया खुवाउने र नुन कम खान दिने गर्नुपर्छ ।

सामान्य व्यायाम गराउने

ज्येष्ठ नागरिक उमेरका कारण जटिल व्यायाम गर्न सक्दैनन् । यसर्थ, दिनमा करिब १५ मिनेट सूक्ष्म व्यायाम गराउनुपर्छ । जसमा जोर्नी तथा औँला चलाउन लगाउने, लौरो टेकेरै भए पनि घरकै कोठा, ग्यालरी वा आँगनमा हिँडाउने, प्राणायाम, योग र ध्यान गर्न लगाउने गर्न सकिन्छ । ज्वरो र रक्तचाप जाँच गराइरहनुपर्छ । दैनिकी व्यस्त बनाउन सिन्का बनाउन, टपरी बुन्न तथा बत्ती कात्न स्रोत जुटाइदिन सकिन्छ । उनीहरूले गर्न चाहेको काम गर्न माहोल बनाइदिनुपर्छ ।

सम्मान दिने

बिर्सने बानीका कारण अधिकांश ज्येष्ठ नागरिकले उल्टोपाल्टो काम गरिहेका हुन्छन् । घरका सदस्यले आफ्नो कुरा सुन्दैनन् भन्ने थाहा पाएपछि उनीहरूलाई आफ्नै बूढ्यौलीपनसँग रिस उठ्न सक्छ । यसले गर्दा चिडचिडाउने र गनगन गर्ने गर्छन् । यस्तो अवस्थामा झर्किनु हुँदैन ।

पाहुना वा नातेदार आउँदा उनीहरू आफ्ना कुरा सुनाउन हतारिन्छन् । यस्तोवेला उनीहरूले भनेको कुराको मान राखिदिनुपर्छ । घरको माहोल शान्तिपूर्ण भएमा ज्येष्ठ नागरिक घरबाहिर निस्कन मन गर्दैनन् । त्यसका कारण महामारीबाट सुरक्षित रहन्छन् ।

अनिँदो नराख्ने

दिउँसो बढी सुतेमा राति निद्रा नपर्न सक्छ । त्यसैले, दिउँसो केही समय माहोल सिर्जना गरेर उनीहरूलाई भुलाउनुपर्छ । दिउँसो थोरै समय आराम गर्न लगाउन सकिन्छ । राति सुतेपछि हल्ला हुने खालका टिभी वा अन्य श्रव्यदृश्य सामग्रीको आवाज कम गरिदिनुपर्छ ।

एक अर्कालाई बुझ्ने

महामारीका वेला आर्थिक तनाव हुन सक्छ । आयस्रोतको चिन्ताले परिवारका सदस्यमा मानिसक चिन्ता हुन सक्छ । अझ बूढापाकाले केही मीठा खानेकुरा खान चाहन्छन् । अप्ठ्यारो परिस्थिति भए उनीहरूलाई यसबारे जानकारी गराउने । एक(अर्काको समस्या बुझ्ने र सेयर गर्ने गर्नुपर्छ ।





error: Content is protected !!