जनप्रतिनिधिलाई द्रुत परीक्षण विना क्वारेन्टाईनबाट घर पठाइयो ,

हेमन्त केसी
डोल्पा , २५ वैशाख ः कोरोना भाईरस (कोभिड –१९) को दु्रत परीक्षण नगरी शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङ लगायत १७ जनालाई क्वारेन्टाईनबाट घर पठाएको छ ।
दुनै स्थित सरस्वती मावि र शिक्षा कार्यालयको भवनमा बनाएको क्वारेन्टाईनमा राखिएको ३० जना मध्ये ठुलिभेरी नगरपालिकाका १३ जनाको परीक्षण भएपनि शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङ लगायत १७ जनाको परीक्षण विना घर पठाएको छ । परीक्षणका लागि किट नभएको भन्दै क्वारेन्टाईनबाट घर पठाएको छ । ठुलिभेरी नगरपालिका ले ४०० वटा किट आफै खरिद गरेर आफ्ना नागरिकको कोरोना भाइरस जाँच गरेको थियो ।
नगरपालिका भित्र क्वारेन्टाईनमा बसेका फोक्सुण्डो गाउँपालिकाका टसी तुन्डुप गुरुङ लगायत अन्य व्यक्तिहरुलाई किटको अभावमा १४ दिन पुरा गरेपछि जाँच विना पठाएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नै लगानीमा ४०० किट आज जिल्लामा ल्याउदै गरेको छ ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिजन रावलका अनुसार जिल्लामा १४० वटा किट पठाएको थियो । सो किट सकिएका कारण समस्य भएको छ । बाँकी किट माग गरिएको भएपनि अहिले सम्मा नपुगेको उहाँको भनाई छ । कसले क्वारेन्टाईनमा राखेको हो , के हो ? आफूलाई थाहा नभएको डाक्टर रावलले बताउनुभयो । फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङसँग फोन सम्पर्क गर्न खोज्दा फोन अफ भएका कारण सम्पर्क हुँन सकेको छैन ।










