डोल्पाको कृषि र गनुपर्ने प्रयास

हंशबहादुर शाही

अहिले बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन आजको मितिसम्म सरकारले गरेका साबधानी पुर्ण तयारी मध्ये मुख्य उपाय लकडाउन अर्थात बन्दावन्दि नै रहेछ ।

तर यो महामारीमा लकडाउनको उपाय मुख्य अस्त्र भएपनि यसका कारण देशका विभिन्न क्षेत्रहरु ठुलो मारमा परेका छन् । सबैभन्दा बढी प्रभावित भएको आर्थिक क्षेत्र हो। आर्थिक क्षेत्र मारमा पर्नु भनेको मानिसको रोजगारीमा असर पर्नु पनि हो । यस्तो प्रभावबाट डोल्पा पनि टाढा रहन सक्ने कुरै भएन ।

डोल्पा जिल्लाका मानिसको जिबिकोपार्जनका स्रोतहरु मध्ये कृषि तथा पशुपालन क्षेत्र महत्वपुर्ण मानिन्छ । कृषिको क्षेत्रमा यहाँ खेतीपातीको पुरकको रूपमा पशुपालन हो, पशुपालनबाट मल र खेतीपातीबाट खान नपुगेपछि तिनै पशुवस्तुलाई साधन बनाएर खाद्यान्न ढुवानी गर्ने प्रचलन थियो र छ । विगतका दिनहरु सम्झने हो भने डोल्पाको खेतीपातीले मात्र त्यस ठाउँमा बस्ने मानिसलाई खाद्यान्न पुगेको थिएन ।

डोल्पाको सबै ठाउँमा धान पाक्दैनथ्यो तर पनि त्यतिबेला मानिसले धानको भात खाएका थिए र अहिले पनि खाइरहेका छन् । र अझ अर्को चाखलाग्दो कुरो त्यसबेला नुन नगदमा किन्ने चलन नै थिएन । तिब्बतबाट भोटेले ल्याएको नुन सबैले अन्नसँग साटासाट गर्ने गर्थे । डोल्पामा सरकारले खाद्यान्नको नाममा चामल र गहुँ ढुवानी पहिलो पटक वि.सं२०२८/२९ सालतिर अनिकाल परेपछि हर्कुलस वा पलासपोट्टर जहाँजबाट रुमगाउँ नजिकै प्याराफिट बाट खसालेको पाईन्छ ।

त्यसबेला सरकारले डोल्पा जिल्लाभर खाद्यान्न वितरण गरेको रहेछ भन्ने कुरा यसबाट थाहाँ हुन्छ, जुनकुरो मेरो गाउँ नर्कु सबैभन्दा टाढा हो त्यहाँ पनि चामल ल्याएर खाएको हाम्रो बुबाले भन्नु हुन्छ । वि.सं.२०४७ साल भन्दा पहिले अधिकांश ठाउँमा मानिसलाई अपुग खाद्यान्न र नुनको ढुवानी पशुवस्तु बाट नै हुन्थ्यो ।

विगतदेखि हालसम्म पनि थोरै–थोरै मास, मसुरो बाहेक दालबाली स्थानीयस्तरमा उब्जनि हुने सिमि र मासबाट नै पुरा भएको पाईन्छ । तेलको रूपमा अहिले केहि मात्र तोरिको तेल बाहिरबाट खरिद गरेर लिए पनि अन्य खानपिनको रुपमा स्थानीय स्तरमा चोख्यानका रूपमा गाई, भैंसी र चौंरीगाइको घ्यू साथै ओखर,आरु,भांगो, ढटेलो आदीबाट तेलहनको मात्रा पुरा भएको पाइन्छ ।

वि.सं.२०४० भन्दा पहिले हरियो साग सब्जिको रुपमा सिस्नो जुन स्थानीय नाम(पालौरो), र जंगलमा पाइने थुप्रै जातका सागहरु टिपेर खाने गरिन्थ्यो जुन चलन कतैकतै अहिलेसम्म पनि छ । २०३१/३२ साल बाट जुफालमा हवाईमैदानको निर्माण भएपछि जुफाल र दुनैमा नेपाल सरकारले खाद्य कार्यालय स्थापनागरेको थियो र सोही दुई ठाउँबाट जिल्लाभरीको लागि खाद्यान्नको रूपमा चामल, केही गहुँ साथसाथै मकै र तेल पनि विक्रि वितरण गर्ने गरेको पाईन्छ । पछि २०४० साल आसपासबाट काईगाउँमा पनि खाद्य डिपो रहेको पाईन्छ ।

हालसम्म जे–जति सरकारी प्रयासहरु भएपनी २०४०सालअघि सबै परम्परामा आधारित अभ्यासहरु थिए।  जब देशमा बहुदलीय ब्यबस्था स्थापना भयो त्यसपछि डोल्पामा सरकारबाट खाद्यान्न डिपो बिस्तार गर्ने काम पनि भए । विशेषतः २०५१ पछाडी जुफाल,दुनै, काइगाउँका अलावासर्मी,लिकु, तिन्जे र शहरतारामा पनि खाद्यान्न डिपोहरु स्थापना भई सोही मार्फत चामल बितरण कार्य भैरहेको छ ।

भर्खरै जिल्ला सदरमुकाम दुनैसम्म मोटरबाटोको ट्रयाक खुलेपछि आजभोलि यहाँसम्म गाडीबाट पनि ढुवानी गरिन्छ । यहाँबाट सरकारी खाद्य संस्थान र निजि ब्यापारीहरुबाट खरिद गरी बाँकी ठाउँमा घोडा, खच्चड, झोपा र चांैरीबाट ढुवानी गरेर खाद्यान्न आपुर्ति गर्ने प्रचलन छ।

माथी चर्चा गरिएको खाद्यान्न खाने (खाद्य प्रणाली) परम्परामा परिवर्तन भई हाल आएर बाहिरबाट ल्याएको चामल मात्र खाने बानी बढ्दै गइरहेकोछ । ठ्याक्कै तथ्यांक थाहाँ नभएपनि४० प्रतिशत जनसंख्याले आफ्नो घरको खेतीपातीबाट उब्जेको अन्न बाहेक बाहिरबाट खाद्यान्न खरीद गरेर खाने गर्छन् । करीब ६० प्रतिशत जनसंख्यालाई स्थानीय कृषि उत्पादनले नै धानेको अवस्था हो ।

डोल्पा जस्तो ठाउँमा अन्य निजि उद्योग, कम्पनी तथा रोजगारका क्षेत्र धेरै नै कम छ । विशेष गरी सरकारी तथा गैरसरकारी संघसंस्थाकाो नोकरी, जडिबुटी संकलन र बिक्री,पर्यटन व्यवसाय नै यहाँका मानिसहरुको आर्थिक आम्दानीको स्रोत हो । यसका अलावा २०५१ सालपछी तत्कालीन नेकपा(एमाले)को नौ महिने सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बृद्ध, बिधुवा, बालबालिका, अपाङ्ग र विभिन्नखाले भत्ताका साथैनयाँ संबिधान जारी भएपछिस्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार तिनै तहबाट उपलब्ध हुने सबैखाले अनुदान र स्थानीय ज्यालादारीकाकारण सरदर ४० हजार जनसंख्याको जिविकोपार्जन चलेको छ ।

डोल्पामा अहिलेसम्म विद्यार्थी भिसा बाहेक काम गर्नका लागि भारत तथा अन्य देशमा जानुपर्ने अवस्था छैन ।अहिलेको अवस्थासम्म सरदर खाद्यान्न खरीद, शिक्षा र औषधि उपचारचलेको अवस्था भएपनि यहाँका मानिसहरुले खासै राम्रो बचत गर्न सकेका छैनन् र शहरी क्षेत्रको जस्तो यहाँका गाउँमा गरिबी घटेको र आर्थिक सम्पन्नता भएको पाइदैन ।

अब चर्चा गर्नुपर्ने बिषयमा माथी चर्चा गरिएको स्रोत बाहेक डोल्पाका दुईवटा स्रोतमा पहिलो स्रोत जडिबुटी हो । त्यसमा पनि मुख्य रुपमा यार्चागुम्वा, आर्थिक हिसाबले जो २०५७÷५८ देखि हालसम्म मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ ।

डोल्पाको मात्र नभएर छिमेकी जिल्लाहरु जाजरकोट,रुकुम,जुम्ला, मुगु र केहि अन्य जिल्लाका केही ब्यक्तिहरुको समेत आम्दानीको मुख्य स्रोत यो बर्ष बन्द गर्ने कुरा चर्चा परिचर्चा र निर्णय तहमा पुगेको छ । भलै कार्यन्वयनको चरण भने बाकी नै छ । त्यसपछी दोस्रो आम्दानीको स्रोत पर्यटन पनि हो जसले केहि आम्दानी दिएको थियो । तर अहिले देशैभर पर्यटनको भविष्य अन्योलमा रहेको हुँदा डोल्पामा पनि यसको अवस्था राम्रो नहुने देखिन्छ ।

हिजो आज छलफल हुँदैआएको अथवाहाल डोल्पामा हुने खाद्यन्न बालीमा(खेती)मा मुख्यगरी मकै, गहुँ,आलु, कोदो,फापर,जौं, चिनु, धान,उवा,लटे, कागुनो आदी रहेका छन् । दलहनमा सिमि, मास र गहत आदि छन् भने तरकारीतर्फ फर्सी, पिडालु, बन्दा, काउली, र अन्य मौसमी सागजब्जि नै हुन् । फलफूलमा स्याउ, ओखर, आरु,नास्पती,आलुबखडा, कागती, खुर्पानी र पछिल्लो समयमा अंगुर र किबिको पनि चर्चा छ। खुर्सानी पनि राम्रो उत्पादन हुन्छ भने तेलहनमा भट्मास तेल, जैतुन, भाङ्गो, ओखर, आरु,ढट्टेला,े तोरी र पशु घ्यु आदि छन् ।

डोल्पामा भएको कृषिमा व्यावसायीकरणको चर्चा गर्दा पञ्चायत कालमा केहि मात्रामा फलफूल बाली जस्तै स्याउ, ओखर, आरू र जडिवुटीमा केसर खेतीको शुरुवात भएको तथ्य अहिले पनि छ।

त्यो समयका राजनीतिक ब्यक्तिहरु केहीले थालनी गर्नुभएको थियोे । जुफाल बिमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि स्याउ,दाँतेओखरका बिरुवा २०३५ साल भन्दा पहिल्यै जिल्लामा भित्राउने काम भएपनि व्यावसायिक रुपमा तत्कालीन राजनीतिक कार्यकर्ता राष्ट्रिय पञ्चायत सदस्य माननीय रुद्र बहादुर डाँगी जो स्वर्गीय भैसकेको उहाँका छोराहरुले हालसम्म पनि गरिरहनु भएको छ ।

त्यस्तै जुफालका अन्य किसान हरि बहादुर शाहि लगायत नर्कुमा त्यो समय २०४० साल भन्दा अघि १०० भन्दा बढी स्याउ र आरु लगाएर स्वर्गीय चन्दरुप शाहीले व्यावसायीक खेती शुरु गर्नुभएको थियो । काईगाउँमा गणेशमान गुरुङ ले जो स्याङ्जा जन्मेको मानिस काईगाउँमाघरजम गरेर बस्नु भएको थियो ।

सबैभन्दा तत्कालीन समयका सुँ गाउँ पञ्चायतको रंगगाउँ निवासी ओमबहादुर बुढा जो तत्कालीन प्रधानपञ्च, दुर्गम बिकास समिती सदस्य, बहुदलीय कालमा जिल्ला बिकास समितिको सभापति र हाल आएर त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख हुनुहुन्छ उहाँले २०४० सालभन्दा पहिला आफ्नोगाउँमाआफुलगायतपुरैगाउँमा स्याउ,ओखर र केसरको व्यावसायिकखेती गर्नुभएको थियो । र हाल पनि उहाँले आफ्नो नगरपालिकाभित्र स्याउ, ओखर र अङ्गुरका साथै अन्य फलफूल उत्पादनमा व्यावसायिक प्रयासहरुगरिरहनुभएको छ।

हाल डोल्पा जिल्लामा तरकारी, आलु तथा सागसब्जिमा व्यावसायिक रुपमा खेती गरी उल्लेख्य लाभ लिनेमा जुफाल, डाँगिबाडा र रसिका केही मानिस भएको पाईन्छ । अहिले बिस्तारै व्यावसायिक रुपमा अगाडी बढाउने भनी अन्य केहि स्थानीय सरकार, प्रदेश सरकारले शुरुवात गरि हाल कृषिमा केहि गाउँ,समुदाय र ब्यक्तिहरु त्यसमा अगाडी बढेको पाइन्छ ।

हाल जिल्लामा कृषिको सकारात्मक पक्षहरु केलाएर हेर्दा डोल्पा भुगोलका हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला भएको हुँदा जमिन प्रयाप्त रहेको, स्थानीय सरकार कृषिको व्यावसायीरणतर्फ उन्मुख रहेकोे,कृषि, बागबानी र पशु सेवा कार्यालयहरु प्रदेश सरकार मातहत रहेको, जिल्लामै कृषिको पढाइ हुने बिद्यालयहरु रहेकोे अवस्था छ ।

कृषिका लागि अत्यावश्यक सिँचाइका संरचनाहरु निर्माण हुदैगरेको, विभिन्न खाले सिंचाइ कुलो,पाइप, पोखरी, हिउँपोखरी, थोपासिंचाइ, करेसाबारी, आकासेपानी, स्प्रिङ्कल,लिफ्ट सिचाइको संभावना पनि रहेको छ । त्यस्तै थुप्रै ब्यक्तिहरु अहिले स्याउ, ओखर,कागती,केसर, अङ्गुरको आदीको खेती र बिउ, बेर्ना नर्सरीमा लागेका छन् । धेरैजसो ठाउँमा अहिलेपनि परम्परागत सीप, कामको ज्ञान र बंशानुगत रुपमाखेतिपाती कर्मप्रति चाँसो भएको पाइन्छ ।यहाँ व्यवसायहरुमध्ये खेतीपातीलाई जेठो मान्ने चलन अहिलेपनि विद्यमान छ ।

पछिल्लो समयमाहिमाली आयोजनाबाट जिल्लामा अर्थिक लगानी गरेको, सरकारी कार्यालयले पनि अभियानहरु चलाएको, ७ महिना चल्ने भएपनि आंशिक मोटरबाटो भएको (CORONA (COVID-19)कोकारणले वैदेशिक रोजगार, पर्यटन, यार्चागुम्बु जस्ता महत्वपूर्ण जडिबुटीबाट आम्दानी नहुँदा जिल्लामै र छिमेकी जिल्लाबाटपर्याप्त मात्रामा कृषि मजदुरपाइने, हिजोआज छलफल हुँदै आएको अर्गानिकरैथाने बालि संरक्षणमा सहजता आएको आदीआदि । यति धेरै सम्भावना र महत्व भएको कृषि क्षेत्रले नै कोरोना भाइरसका कारण लकडाउनमा फसेको हाम्रो अर्थतन्त्र उँभो लाग्ने आशा छ ।

अब अहिलेको यो बिषम परिस्थितीबाट माथी उठि देशको उन्नति गर्न कृषि क्षेत्रको विकास, ग्रामीण क्षेत्रको बिकास र लगानीबाटनै सम्भावना छ भन्ने कुरा विभिन्न सरकारी भनाई, बिज्ञ, अर्थसाश्त्री एवं आमसरोकारको चिन्ता र चाँसोबाट प्रष्ट हुन्छ । हाम्रो जिल्लाको मुल अर्थराजनीति पनि कृषिमा नै आधारित हुनसक्छ ।तसर्थ, कृषि क्षेत्रमा सुधार गर्न यो अवसरमा डोल्पा जिल्लाले आगामी दिनमा गर्नुपर्ने कामहरु तपशिलका हुनसक्छन् ।

एकमा सबै स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रको खेती योग्यजग्गा ब्यक्तिको वा सार्बजनिक रोपनी हेक्टरमा छुट्याउनुपर्ने ।दुइमा उक्त जग्गा कुन ब्यक्तिको कति परिमाण वा कलस्टर छ त्यसमा कुनजातको बाली,जात समुहको खेती गर्न योग्य छ छुट्टाउनुपर्ने ।तिनमा व्यावसायिक खेती गर्न जग्गाको परिमाण र बाली समुहको निर्धारण गर्नुपर्ने । चारमा जग्गा कम भएको वा हुँदै नभएको समुहहरुको विवरण तयारी गर्ने । पाँचमा माटो परीक्षण,सिचाइ गर्न मिल्ने जग्गाको पहिचान गरि हालको अवस्था, सिंचाइ सम्भावना निक्र्योल गर्ने।

छैटौंमा सहकारी र समुह हाल संचालनमा रहेकोमा र नयाँ कृषिको कामगर्ने पहिचान गर्ने र तिनीहरुको संस्थागत बिकास गर्ने । सातौंमा सरकारले प्राबिधिक सेवा पुर्णरुपले दिने र अन्य आर्थिक सहयोग बैंक वा बित्तिय संस्था, समुह वा सहकारीहरु मार्फत सहुलियत र सजिलो रूपमा कर्जा किसानमा परिचालन हुनेगरि दिनेबारे तिनै तहका सरकारले व्यवस्था मिलाउने ।
आठमा जुफाल स्थित बागबानी र त्यस वरपर रहेको सामुहिक र निजि नर्सरीहरुको क्षमता बिकास गरेर स्याउ,ओखर, जैतुन जस्ता विरुवाका नर्सरीको बिकास गर्ने ।

त्यसैगरी, नौ नम्बरमा रासायनिक मल किटनाशक औषधि बिना अर्गानिक र रैथाने बिउँ, बेर्ना वा विरुवाको संरक्षणमा ध्यान दिने पुर्ण अर्गानिक युक्त बनाउने । दशमा कृषि फार्मसम्म पुग्नेगरीे बाह्रै महीना चल्ने मोटर बाटोको निर्माण गर्ने । एघारमा हाल आ–आफ्नो स्थानीय तहले व्यावसायिक कृषि फार्म, नर्सरी स्थापना गरेका ब्यक्तिको पहिचान गरि उनिहरुलाई विशेष सहयोग गर्ने र नर्सरीलाइ विशेष सहुलियत दिने। बाह्रमा प्रत्येक स्थानीय तहले आफ्नो स्थानीय कानुन निर्माण गरेर छाडा पशुचौपाया कडाईकासाथ नियन्त्रण गर्ने । तेह्रमा आवश्यक मात्रामा आधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोर)निर्माणकार्य गर्ने ।

चौधमा कृषि बिमा र कृषि मजदुरको ज्याला बिमा किसानको उत्पादन लागत तयार गर्ने ।पन्ध्रमा व्यावसायिक खेती हुनसक्ने बालीहरु जस्तो स्याउ, दाँतेओखर, कागती, टिमुर, आलु, सिमि, मार्से, केसरी, अत्तिस, चिराइतो, सतुवा, खुर्सानी, गोल्भिँडा आदिको वर्गीकरण र बहुबालिवाला समुह छुट्याउने । सोह्रमा हाम्रो जस्तो जिल्लामा बर्षा याममा मात्र खेती हुने भएको हुँदाउत्पादित वस्तु बाह्रैमास उपलब्ध गराउनका लागि सोलार डायर, प्रसोधन केन्द्र र कोल्ड स्टोरको व्यवस्था गर्ने । सत्रमा आवश्यक मात्रामा प्राङ्गारिक मल, किटनाशक औषधि तयारी गर्न प्रबन्ध मिलाउने ।

एउटा क्षेत्रको बिकासको लागी अन्य क्षेत्रको पनि बिकास हुनजरुरी छ। सिंचाइको पुर्ण बिकास र सडक पुर्बाधारको विकास हुन अत्यन्तै महत्वपूर्ण छ अझ कृषिको बिकासमा पशुपालन पनि जोडिन्छ किनभने मल जुन स्वतः जैविक छ पशुपालन प्रणाली नै परिबर्तन गर्न जरुरी छ किनभने हामि अहिले बहुपशुपालन गरिरहेका छौं । अर्थात एकैजनाले थरीथरीका पशुवस्तु थोरैथोरै मात्रामा पाल्ने चलन छ जस्तै केहि गाई, केहि भंैसी, एउटा घोडा,केहि बाख्रा, केही कुखुरा आदि यसको मुख्य समस्या छ ।

जो मानिससँग खेतीपातीमा लाग्नलाई जग्गा छैन त्यसलाई पशुपालन व्यबसायमा सहयोग गर्ने निति सबैले लिनुपर्छ । व्यावसायीक पशुपालनका लागि सरकारले सहुलियत ऋण, बिमा, बजार र प्राबिधिक सेवा पुरा दिनुपर्ने हुन्छ । बहुपशुपालन गर्नेलाई कुनैपनि सरकारले सहयोग गर्नुहुदैन । मेरो बुझाइ कृषि र पशुपालन एक सिक्काका दुई पाटा हुन् त्यसैले यसलाई साथसाथै लैजानुपर्ने हुन्छ । तर हिमाली भेगको पशुपालन अत्यन्तै जोखिमपुर्ण छ । माथी चर्चा गरिएको कृषि र पशुपालनको व्यावसायिक बिकासमा सरकारी लगानी, विभिन्न निकायको सहयोग र ब्यक्तिको आर्थिक, मानसिक र भौतिक परिश्रम धेरै नै लगानी हुने भएकाले त्यसबाट हुने प्रतिफल वा लाभको बिषयमा स्पष्ट हुन जरुरी छ ।

डोल्पाको जनसंख्या करीब ४० हजारको हाराहारीमा छ त्यसमा तीन वटा गाउँपालिका जो माथिल्लो डोल्पा जहाँ हाल व्यावसायिक खेतीको सम्भावना कम छ त्यस ठाउँमा ८ हजारको हाराहारीमा जनसंख्या छ । उक्त क्षेत्रको जनसंख्या पर्यटन, हिमाली भेग सुहाउँदो पशुपालन र प्राकृतिक जडिबुटी, केहि मात्रामा जडिबुटीको खेती र तिनै गाउँपालिकाभित्रको प्रशासन र केहि बाहिरको काममा खपत हुनेछ ।

बाँकी पालिकामा भएको जनसंख्या ३२ हजारमा जग्गा कम भएकोलाई व्यावसायिक पशुपालन र अन्य उच्च शैक्षिक रोजगार, उच्च ब्यापार र धेरै कारण कृषि मजदुर कमै हुन्छन् त्यसैले त्यसमा मेशिनरीको प्रभाव पक्कै पर्छ ।

डोल्पामा जग्गाको ठुलो भूगोल भएकोले छिमेकी जिल्लाका भारत लगायत बाहिर जाने ठुलो संख्यामा रहेका मानिसलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।सडक पुर्बाधारको बिकास पुरा भै त्यसको कारण पर्यटन,जलविद्युत, बढी भएको ढुङ्गा, गिट्टी, बालुवाखानीको विकास भै थप रोजगारी सिर्जना गर्न सकिन्छ । उर्जाको विकास हुनेछ । अर्गानिक खाद्यान्न उत्पादन हुनेछ । बाहिरबाट आएका पर्यटकले स्थानीय र अर्गानिक उत्पादन खान पाउनेछन् ।

व्यावसायिक खेती प्रणालीको बिकासले खाद्यान्नको उत्पादन बढ्नेछ । डोल्पालीको खाना खाने बानी परिवर्तन भै स्वास्थकर हुनेछन् । व्यावसायिक रूपमा मानिस कृषि कार्यमा लागेभने बन र प्राकृतिक स्रोत माथीको चाप कम भै प्राकृतिक बिनास कम हुनेछ । फलफुल जस्तै स्याउ,ओखर, कागती, टिमुर, सिबक्थ्रोन, ओलिभ वा जैतुनको खेतीबाट जिल्ला मरुभूमि हुनबाट जोगिन्छ जमिन वा आकाशको पानीको स्रोत बढ्नेछ जसले गर्दा बढ्दो जलबायु परिवर्तनको समस्यालाई न्युनिकरण गर्न मद्दत पनि मिल्नेछ ।

लेखकः हंशबहादुर शाही, डोल्पा (नेकपा केन्द्रीय सदस्य)
मितिः २०७७ बैशाख २३ गते





error: Content is protected !!