घर जान निस्केकाहरू दुई दिनदेखि बालकुमारीमा गाडीभित्रै अलपत्र

काखमा वर्ष दिनको बच्चा बोकेर मंगलबार बिहानदेखि गाडीमा बसेकी भोजपुरकी शान्ता तामाङले भनिन्, ‘गाडीमा बसेको दुई दिन भयो, खाने–पिउने केही छैन, रातभर लामखुट्टेले टोकेर सुत्न दिएन’

लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा खान–बस्न समस्या भएपछि घर जान निस्किएका पूर्वका ५० नागरिक दुई दिनदेखि ललितपुरको बालकुमारीमा गाडीभित्रै अलपत्र परेका छन् । उपत्यकाका विभिन्न क्षेत्रबाट घन्टौँ हिँडेर बालकुमारीमा जम्मा भएका उनीहरू प्रहरीले गाडी छुट्न नदिएपछि बिलखबन्धमा परेका हुन् ।

उदयपुरको बेलका नगरपालिकाले पास दिएर पठाएको गाडी मंगलबार साँझ काठमाडौंबाट यात्रु लैजाने योजनामा थियो । सूचनाअनुसार विभिन्न जिल्लाका यात्रु बालकुमारीमा जम्मा भए । तर, प्रहरीले रोकिदिएपछि बुधबार रातिसम्म वृद्धवृद्धादेखि बालबालिकासम्म भोकभोकै गाडीभित्रै छन् ।

गठ्ठाघर बस्ने भोजपुरकी शान्ता तामाङ उदयपुरसम्म गाडी जान्छ भन्ने थाहा पाएपछि मंगलबार बिहानै बालकुमारी पुगेकी थिइन् । चतरासम्म गाडीमा जान पाए त्यहाँबाट हिँडेर घर पुग्ने हिसाब उनको थियो । तर, प्रहरीले रोकेपछि दुई दिनदेखि शान्ता गाडीभित्रै छिन् । ‘गाडीमै बसेको दुई दिन भयो, खाने–पिउने केही छैन,’ उनले भनिन्, ‘रातभर मच्छडले टोकेर हैरान पार्‍यो ।’

शान्ताका श्रीमान् ज्यामी काम गर्थे । ६ हजारमा दुई कोठा भाडामा लिएर बसेका थिए । तर, लकडाउनपछि काम बन्द भयो । हप्ता बित्यो, महिना बित्यो, कोठामा चामल, ग्यास, नुन, भुटन सबै सकिन थाल्यो । काखमा एक वर्षको बच्चा भएका उनीहरू अनिश्चित लकडाउन खुल्ने बाटो हेरेर पार नलाग्ने निष्कर्षमा पुगे । अनि गाउँतिर पाइला सोझ्याएका हुन् ।

‘आफू त जेनतेन बाँचिएला । यो नानीलाइै के खुवाउने मैले रु मेरो दूध आउँदैन, पैसा हुँदा त ल्याक्टोजिन खुवाउँथ्यौँ,’ शान्ताले पीडा पोखिन्, ‘आज पनि बिहानदेखि केही खान पाएको छैन । झन् अलपत्र पो परियो । घर जान पाइएन भने त मेरो नानीलाई के खुवाएर बचाउनु ?’

शान्तासँगै बालकुमारीमा गाडीभित्र अलपत्र पर्नेहरू झापा, उदयपुर र भोजपुरकै बढी छन् । काठमाडौंमा स्वास्थ्य उपचारका लागि आएकी भोजपुरकै ६० वर्षीया सुजमाया राई पनि गाडीमा भेटिइन् । लकडाउनले डेढ महिनादेखि राजधानीमा थुनिएकी उनी घर जान पाउने आसमा स्वयम्भूबाट सकी–नसकी हिँडेर बालकुमारी आइपुगिन् । तर, गाडी नगुडेपछि निराश छिन् ।

‘छोरो काठमाडौंमा मजदुरी गर्छ । जिउ सुन्निएपछि डेढ महिनाअघि जचाउन आएको थिएँ । दम पनि छ । तर, न जचाउन पाइयो, न घर जान पाइयो,’ वृद्धा सुजमायाले भनिन्, ‘यहाँबाट घर जाने गाडी छुट्छ अरे भन्ने सुनेपछि राति नै उठेर स्वयम्भूबाट बिहानै आइपुगेँ । तर, जान पाइएन ।’

उनले छोराको कोठामा खानेकुरा सकिएको पीडा सुनाइन् । ‘कोठामा चामल पनि सकियो । गाडीले उदयपुर छाडिदियो भने त हिँडेर पनि जाने भनेर खुसी हुँदै आइयो, तर प्रहरीले रोक्यो,’ सुजमायाले भनिन्, ‘यहाँ झन् दिनभर भोकै भइयो । आराम गर्न पनि मिल्दैन । बिरामी मान्छे, रिँगटा लागिरहेको छ । हैन सरकारले केही गर्दैन रहेछ ? यस्तै हो भने त यतै मरिन्छ पो

५० वर्षीया फुलसरी राई पनि गाडीमै अलपत्र छिन् । उनी सुनसरी चतराकी हुन् । काठमाडौं बस्ने छोरीले घुम्न आउन भनेपछि उनी दुई महिनाअघि आएकी थिइन् । तर, केही दिनका लागि आएकी उनी लकडाउनले यतै थुनिइन् । घरसम्म गाडी जाँदै छ रे भन्ने खबर सुनेपछि उनी पनि मंगलबार बिहानै बालकुमारी पुगिन्, चार वर्षीया नातिनीसमेत लिएर ।

‘गाडीले लैजान्छ रे भन्ने थाहा पाएपछि मंगलबार बिहानै यहाँ आएँ । गाडी पनि बिहानै आइपुग्यो । तर, प्रहरीले जानै दिएन,’ फुलसरीले सुनाइन्, ‘ठूलाठूला झोला छन् । अब कसरी छोरीको घर फर्किनु ? झोला कसरी बोकेर लैजानु ? आफ्नै घर जान पनि दिँदैनन् । घर जान पाए ऐँचोपैँचो गरेर पेट भर्न हुन्थ्यो । यहाँ त खानु न पिउनु भएको छ ।’

मंगलबार बिहानदेखि बुधबार अपराह्नसम्म मुखमा पानी र एक पोको चाउचाउबाहेक केही नपरेको उनले बताइन् । ‘एउटा चाउचाउ मैले र नातिनीले बाँडेर खायौँ । नातिनी भोक लाग्यो भन्छे, तर आफूसँग पैसा पनि छैन,’ नातिनीतिर हेरेर उनले भनिन्, ‘यसैले घर जाऊँ भनेर हत्ते गरेपछि हिँडेका थियौँ । अब कति दिन यसैगरी बस्नुपर्ने हो रु हामीलाई त यसरी रोगले भन्दा भोकले लैजाने भयो ।’

गाडी खोला किनारमा छ । रातभर लामखुट्टे भुनभुनाउँछ, खोलाको गन्धले उस्तै सताउँछ । ‘कानमा मच्छड कराउँछ, भोकले पेट कराउँछ । अनिदो र भोको भइयो, आपत् पर्‍यो,’ फुलसरीले गुनासो गरिन्, ‘सहयोग गर्नेहरू पनि कोही छैनन् । हामीजस्ता बुढाबुढीलाई यसरी अलपत्र पारेर सरकारलाई के फाइदा हुन्छ र
उदयपुर रामपुरका दिनेश खड्का पनि लकडाउनसँगै काठमाडौंमा मजदुरी गुमेपछि घर फर्किन बालकुमारी पुगेका छन्  । कोठाबाट खान नपाएर निस्किएको, यहाँ गाडीमा आएर झन् बित्यासमा परियो,’ उनले भने, कोठा छोडेको ५० घन्टा बित्यो, पानी र चाउचाउबाहेक मुखमा परेको छैन । खल्तीमा ५० रुपैयाँभन्दा छैन, अब के गर्ने ?

लकडाउनमा घरबाट निस्किन हुन्न भन्ने थाहा भए पनि बाध्यताले निस्किनुपरेको बताए । तर, भोको पेट कसरी कोठाभित्रै थुनिएर बस्न सकिन्छ रु’ दिनेशले सरकारसँग गुनासो गरे, ‘१५ गते खुल्छ अनि घर जाउँला भनेर अस्तिदेखि नै एकछाक मात्रै खाएर बसिरहेका थियौँ । तर, नखुलेपछि कसरी यहाँ बस्ने ? रहर लागेर हिँडेको होइन नि  सरकारले खान देओस्, हामी कोठामै बस्छौँ ।

पेरिसा कार्की पनि उदयपुर नै जान हिँडेकी हुन् । उनका श्रीमान् काठमाडौंमा फर्निचरमा काम गर्थे । साहुले फर्निचर कारखाना बन्द गरेपछि उनीहरूको आम्दानी पनि बन्द भयो । भान्सामा केही जुगाड दिएन, किनभने हातमा टन्न पैसा थिएन । भएको अलिअलि सकिएपछि उनीहरू गाउँ फर्किन लागेका हुन् । ‘मंगलबार नै हामी यहाँ आएका हौँ । तर, जान पाइएको छैन । जानै दिएन भने के गर्ने कुनै योजना छैन,’ पेरिसा भन्छिन्, ‘कोठामा फर्किएर त कामै छैन । बरु, हिँडेरै भए पनि घर जानैपर्छ । खानेकुरा केही नभएको कोठामा फर्किएर के गर्ने ?





error: Content is protected !!