आलेख ः जुम्लाका स्याउ बगैँचा फुलेर सेताम्मे

जुम्ला, ‘कोभिड–१९’ को सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो सङ्क्रमणले विश्व समुदायलाई जस्तै नेपाललाई पनि प्रभावित पारेको छ । यही सङ्क्रमणको रोकथामका लागि हाम्रो देश पनि गएको एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । नेपालका शहर बजारसमेत कतिबेला कहाँ कोरोना भाइरसका सङ्क्रमित भेटिने हुन् भन्ने त्रासमा रहेका बेला राजधानी काठमाडौँबाट धेरै टाढाको जिल्ला जुम्लाको वातावरण भने यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो ।

जुम्ला स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र भदौमा पाक्ने गर्छ ।

जुम्लाको स्याउको इतिहास विसं २०२२ देखि शुरु भएको हो । जुम्लामा विसं २०२२ मा केही व्यक्तिले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि शुरु भएको स्याउ खेती आजसम्म यहाँ जिल्लाभरि फैलिएको छ । स्याउ खेतीको विस्तारका लागि तत्कालीन सरकारले पनि सघाएको थियो । विसं २०३२ मा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि यहाँको चन्दननाथ नगरपालिका (तत्कालीन कार्तिकस्वामी गाउँ पञ्चायत) को गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको थियो ।

उक्त बागवानी केन्द्रमा विसं २०३४ मा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमूनाका रूपमा स्याउखेती शुरु गरेको जुम्लाको स्याउको इतिहास भेटिन्छ । तर यहाँ महतगाउँका कृषक स्व पदमबहादुुर महतको पुरानै स्याउ बगैँचा थियो । उहाँले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोप्नुभएको थियो । त्यसैले उहाँलाई जुम्लामा स्याउ भित्र्याउने पहिलो कृषकका रुपमा पनि मान्ने गरिन्छ ।

जिल्ला कृषि विकास कार्यालयले ‘एक घर एक बगैँचा’ कार्यक्रम अगाडि सारेपछि बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग पनि भयो र स्याउ खेतीको विकास हुँदै गएको पाइन्छ । विसं २०६४ मा जुम्ला अग्र्यानिक जिल्लाका रुपमा घोषणा गरियो । यसरी अब अग्र्यानिक स्याउ पाइने जिल्लाका रुपमा पनि बाहिर चिनिन थाल्यो । अहिले जुम्लामा १२ जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरुको भनाइ छ । यहाँ गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । जुम्लाको स्याउले काठमाडौँ, नेपालगञ्जलगायत देशका ठूला शहरमा पनि निकै आकर्षक बजार लिएको छ । जिल्ला बाहिर स्याउको बिक्री वितरण शुरु भएको धेरै भएको त छैन तर जुम्लाकै स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन् ।

विसं २०२२ अघि जुम्लाका स्याउ कृषक स्व पदमबहादुर महतले चार हजार स्याउका बिरुवा रोपेर बगैँचा बनाउनुभएको थियो । उहाँ तत्कालीन समयमै कृषिमा उच्च शिक्षा हासिल गरेर सरकारी सेवामा पनि हुनुहुन्थ्यो  । भूमिसुधार अधिकृतका रुपमा राष्ट्रसेवा गरेका महतले कृषि क्षेत्रको उत्पादनले नै जुम्लाको भविष्य राम्रो हुने लागेर सरकारी नोकरी छाडेर आफ्नो घर तत्कालीन महत गाविसको महतगाउँमाथि रहेको नाङ्गो डाँडामा स्याउको नमूना फार्म बनाउनुभयो  । एसियाकै चौथो ठूलो सूचीकृत बगैँचामा तत्कालीन राजा वीरेन्द्रदेखि देशको उच्च सरकारी ओहदामा रहेका व्यक्तिले भ्रमणसमेत गर्ने गरेका थिए । उहाँको स्याउ खेती फस्टाएपछि धेरै किसान जुर्मुराएर यो खेतीतर्फ आकर्षित भएका हुन् ।

त्यतिबेला सडक सञ्जालसँग जुम्ला नजोडिएकाले जहाजबाट ढुवानी गरेरै स्याउ बिक्री गरिन्थ्यो । कृषक महतको सपना जुम्लामा गाडी कहिले पुग्ला भन्ने थियो । तर त्यस समय सम्भव पनि भएन । तर पनि उहाँले जहाजबाटै स्याउ निर्यात गरेर वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गर्ने गर्नुहुन्थ्यो ।

दशक अघिदेखि सुर्खेत–जुम्ला–कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय राजमार्ग कालोपत्रे भएपछि जिल्ला बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा भएको पाइन्छ । आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् । उनीहरु भन्छन्, “गर्नसक्यो भने जुम्लाको स्याउको इज्जत नै अर्कैछ, तर ठूला शहर बजार टाढै छन्, त्यसले गर्दा मुख्य समस्या ढुवानीमै छ ।”

परम्परागत रूपमा कस्मिरी स्याउ उत्पादन हुने जुम्लामा यसवर्ष भने इटालियन स्याउको फसल छ  । वर्षदिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन् ।

चन्दननाथ भैरवनाथ गुठी समितिको १० हजार वर्गमिटर जग्गा भाडामा लिएर इटालियन जातको स्याउखेती गर्दै आएका चन्दननाथ–५ का सरोज शाहीले राम्रो उत्पादन भइरहेको बताउनुहुन्छ  । यो जुम्लाको हावापानी सुहाउँदो स्याउ भएको उहाँको भनाइ छ  । अहिले दुर्गम गाउँमा पनि इटालियन जातको स्याउको खेती परीक्षण भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हेर्दैमा आकर्षक, स्वादिलो र कडा प्रकारको भएकाले धेरै समयसम्म भण्डारण गर्न पनि सहज हुन्छ र यो स्याउ उपभोक्ताको रोजाइमा पनि पर्छ ।”

यतिबेला स्याउ फार्म गोडमेला, मलजल गर्ने बेला हो तर लकडाउनले समस्या भएको छ । बाहिरबाट मल ल्याउन नपाएको कृषक शाहीले बताउनुभयो । यसले उत्पादनमा समस्या हुने देखिएको छ । अर्कोतिर प्राकृतिक प्रकोप असिना पानीले पनि स्याउको कोपिला झार्ने समस्या पनि छ । यो याम भने स्याउको फूल फुल्ने र कोपिला लाग्ने बेला हो तर यहाँ पटक पटक असिना पानी पर्ने गरेकाले उत्पादनमा पनि ह्रास आउने सम्भावना भएको उहाँको भनाइ छ । विकसित मुलुकमा स्याउ फार्म ढाक्ने, असिना पानीलाई छेक्ने जाली (नेट) को व्यवस्थापन हुन्छ तर हामीकहाँ भने यस्तो प्रविधिको विकास नभएको उहाँले बताउनुभयो ।

पातारासी गाउँपालिका–६ उर्थुगाउँका मुनबहादुर विष्ट हरेक वर्ष रु १० लाखको स्याउ बिक्री गर्दै आएको बताउनुहुन्छ । स्याउबाट भएको आम्दानीले घरखर्च चलाउने गरेको उहाँले भन्नुभयो । यहाँको प्रमुख आम्दानीको स्रोत भनेकै स्याउ खेती भएको छ अहिले । अझै स्याउ खेतीलाई बढाउनका लागि सिँचाइको राम्रो व्यवस्थापन हुन नसकेकामा भने किसानको ठूलो गुनासो छ । उहाँले भन्नुभयो, “स्थानीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ तर अहिलेसम्म सहयोग नै पाउन सकेनौँ ।”

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रबन्धक ऋषिराम पाण्डेका अनुसार असिना पानीले स्याउ क्षति भएको कृषि कार्यालयको प्रतिवेदनअनुसार बीमाले क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ । कृषकले स्याउको बीमा गरेको खण्डमा क्षतिपूर्ति उपलब्ध गराउने हो । उहाँले भन्नुभयो, “यसवर्ष कर्णालीको पाँच जिल्ला जुम्ला, मुगु, कालीकोट, डोल्पा र हुम्ला जिल्ला गरी एक हजार बिरुवा स्याउको बीमा गरिएको छ । असिना पानीले क्षति भएको प्रतिवेदनअनुसार क्षतिपूर्ति पाउने छन् । यहाँ अझै कृषकले स्याउको बीमा गरेका छैनन्, न्यून सङ्ख्याका किसान मात्र बीमामा पुगेका छन् ।”

कृषकको आकर्षण बढेपछि गत वर्ष इटाली र स्पेनबाट बिरुवा ल्याएर वितरण गरिएको थियो । स्याउ फल्ने हिमाली चार जिल्लाका किसानलाई ६ लाख बिरुवा प्रदान गरिएको थियो । स्याउ सुपरजोन कार्यक्रमले पनि जुम्लामा तीन लाख ११ हजार ४२२ बिरुवा वितरण गरेको थियो । त्यस्तै कालीकोटमा एक लाख १६ हजार ५००, मनाङमा एक लाख ३१ हजार ६०० र मुस्ताङमा १५ हजार ५०० बिरुवा वितरण गरिएको थियो । जसमा ७० प्रतिशत अनुदान दिइएको थियो भने ३० प्रतिशत खर्च व्यहोर्दा किसानले प्रतिबिरुवा रु ४२५ सम्म तिरेका थिए ।

इटालियनसँगै स्थानीय स्याउका बगैँचा घर–घरमा हुने गरेका छन् । स्याउ सुपरजोन कार्यालयका निमित्त प्रमुख जोगेन्द्र गान्दुका अनुसार फुजी स्याउ खेतीका लागि पनि सुपरजोनले सिँचाइ र बाहिर जिल्लाबाट बिरुवा ल्याउनका लागि समन्वय गर्दै आएको छ । अहिले यहाँका सदरमुकाम खलङ्गासहित ग्रामीण क्षेत्रमा पनि यो स्याउको खेती बढ्दै गएको उहाँले बताउनुभयो । यहाँका कृषक स्याउ खेतीमा धेरै आकर्षित भएका छन् । यसबाहेक अहिले जुम्लामा ओखर खेती पनि वृद्धि हुन थालेको छ । स्याउभन्दा ओखर भण्डारण, ढुवानीदेखि बिक्री वितरण गर्न पनि सहज भएकाले यो खेतीतिर पनि कृषकको रुचि बढेको पाइएको उहाँले बताउनुभयो ।

जुम्लामा १६ हजार स्याउ बगैँचा रहेका छन् । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरमा स्याउ बगैँचा स्थापना भएको जनाएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले तीन हजार ४५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा जुम्लामा रु ३५ करोडको स्याउ उत्पादन भएको कृषि प्राविधिक कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ मा तीन हजार ४५० मेट्रिक टन, आर्थिक वर्ष २०७३÷०७४ मा तीन हजार २५० मेट्रिक टन र २०७२/०७३ मा दुई हजार ९०० मेट्रिक टन स्याउ उत्पादन भएको तथ्याङ्क कृषि विकास कार्यालय जुम्लाको रहेको छ ।

कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “हरेक वर्ष स्याउको उत्पादन वृद्धि भइरहेको छ भने बिक्री वितरण गर्ने दर पनि वृद्धि भएको छ । राज्यले स्याउ खेतीलाई प्राथमिकता दिएको र यहाँका कृषकले पनि मेहनत गर्ने भएकाले हरेक वर्ष जुम्लामा स्याउ उत्पादन बढ्दै गएको उहाँले बताउनुभयो ।” रासस





error: Content is protected !!