मंगलबार साँझ ः पूर्वआइजिपीले बालुवाटारबाटै फोन गरे, बुधबार मध्यरात ः सांसदले बाटोबाटै प्रधानमन्त्रीसँग संवाद गराए

हाम्रो पार्टी विभाजन गराउने योजना सतहमा अहिले आयो, खेल पुरानो हो । उपेन्द्र यादवजी स्वास्थ्यमन्त्री र म राज्यमन्त्री थियौँ । एउटै मन्त्रिपरिषद्को सदस्य भएर पनि मैले व्यक्तिगत रूपमा प्रधानमन्त्रीलाई भेटको थिइनँ । प्रधानमन्त्रीको उपचारमा जोडिनुभएको एकजना डाक्टरले मलाई पहिले नै प्रधानमन्त्रीसँग भेटाउन खोज्नुभएको थियो । तर, मैले मैले पार्टी अध्यक्षलाई नसोधी छुट्टै भेट्नुहुन्न भनेको थिएँ ।

हामी सरकारमा थियौँ । तर, संघीयता कार्यान्वयन र मन्त्रालयको कामको विषयलाई लिएर प्रधानमन्त्री र हाम्रो पार्टीअध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवबीच राम्रो सम्बन्ध थिएन । आफूसँग टकराव गरेको भनेर उपेन्द्रजीसँग प्रधानमन्त्री रिसाउनुभएको थियो । त्यसैले प्रधानमन्त्री योजनाबद्ध रूपमा हाम्रो पार्टी फुटाउन चाहनुहुन्थ्यो । तर, इस्तियाक राईको भने प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध थियो । मन्त्रालयमा काम पनि गर्न दिनुभएको थिएन । त्योवेलादेखि नै पार्टीभित्र रेणु यादव असन्तुष्ट हुनुहुन्थ्यो । अध्यक्षले आफूलाई सम्मान दिनुभएन भन्नुहुन्थ्यो । त्यसैले पनि प्रधानमन्त्रीलाई खुसी बनाएको थियो ।

कोरोना संक्रमण रोकथाम गर्न पहिलोपटक लकडाउन हुने भएपछि म त्यसै राति गाउँ गएको हुँ । मेरो निर्वाचन क्षेत्र महोत्तरी– ४ मा ग्रामीण भेग धेरै छ । स्वास्थ्यको राम्रो अवस्था छैन । संकटको वेला गाउँमा केही गर्नुपर्छ भन्ने सोचेर म जिल्ला गएको थिएँ ।

अस्ति मंगलबार साँझपख आइजीसाब ९पूर्वआइजिपी सर्वेन्द्र खनाललाई सांसद यादवले यो संवादमा सबै ठाउँ आइजीसाब भनेका छन्०ले फोन गर्नुभयो । डाक्टरसाब कहाँ हुनुहुन्छ भन्नुभयो । गाउँ ९महोत्तरी०को घरमै छु भनेँ । उहाँले भेट्नु थियो भन्नुभयो । ठीकै छ, लकडाउनपछि काठमाडौं आउँछु अनि भेटौंला भनेँ  । तर, उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाट फोन गरेको छु, प्रधानमन्त्रीले तपाईंको सहयोग खोज्नुभएको छ भन्नुभयो । देशको प्रधानमन्त्रीलाई किन नभेट्ने, उहाँले सहयोग माग्नुभयो भने किन नगर्ने रु एउटा सांसदको रूपमा पनि उहाँलाई सहयोग गर्नु मेरो कर्तव्य नै हो भनेर मैले जवाफ दिएँ । तर, अहिले त लकडाउन छ, खुलेपछि आउँछु भनेर दोहोर्‍याएँ । तर, उहाँले तपार्ईंहरूले प्रधानमन्त्रीलाई सहयोग गर्ने परिस्थिति अहिले नै आएको छ भनेर फोन राख्नुभयो ।

बुधबार बिहान ९ बजेतिर आइजीसाबले फेरि फोन गर्नुभयो । तपाईंलाई भेट्न खोजेको छु भन्नुभयो । म त जनकपुर जाँदै छु भनेँ । किनकि मेरो सालाको छोरो जन्मिएका थियो, त्यसैले मैले श्रीमतीलाई लिएर जनकपुर जाने तयारी गरेको थिएँ । त्यति मात्र होइन, कोभिड–१९ विरुद्ध प्रदेश २ सरकारले बनाएको समितिमा म पनि सल्लाहकार छु । त्यसैले पनि म जनकपुर आवतजावत गरिरहन्छु ।

तर, उहाँले सीधै म त महोत्तरीमा छु, तपाईंको घर आउँछु भन्नुभयो । उहाँ त्यतिञ्जेलसम्म बर्दिबास आइसक्नुभएको रहेछ । उहाँ जनकपुरमा एसपी हुँदादेखिकै सम्बन्ध हो । बर्दिबास आइपुगेको छ, एकैछिनमा घरै आइपुग्छु भन्दा मैले नाइँनास्ती गर्ने कुरै भएन । फेरि महोत्तरीको एसपीलाई भनेर उहाँहरूले मेरो पिएसओमार्फत म कहाँ छु भन्ने जानकारी पनि लिइसक्नुभएको रहेछ ।

करिब आधा घन्टामा उहाँ घरमै आइपुग्नुभयो । फोनमा त आइजीसाबसँग मात्र कुरा भएको थियो । तर, घरमा त महेश बस्नेत माननीय, किसन श्रेष्ठ माननीय पनि आउनुभएको थियो, अर्को एकजना ड्राइभिङ सिटमा समेत हुनुहुन्थ्यो ।

उहाँहरूलाई मैले स्वागत गरेँ । म पनि सांसद भएकाले उहाँहरूसँग चिनजान थियो नै । तपार्ईंहरू घरमा आउनुभयो, खुसी लाग्यो भनेँ । पूर्वसूचना दिनुभएको भए मिठोमसिनो खाना बनाउँथे भनेँ । उहाँहरूले खाना छोड्नुस्, बरु बारातिर जाऊँ, उतै बसौँला भन्नुभयो । बारामा हाम्रो सांसद साथी रामबाबु यादव हुनुहुन्छ भन्नुभयो ।

त्यसले मलाई चिसो बनायो । त्यसैले खाना बनाउन भन्छु भनेर भुइँ तलामा झरेँ । अलिक बाहिर गएर डा। बाबुराम भट्टराईलाई फोन गरेँ । घटनाक्रम सबै बताएँ । घटनाको पहिलो सूचना मैले उहाँलाई नै दिएँ । म संकटमा छु, तपार्ईंले आफ्नो काम गर्नुहोला भनेर आफ्नो नम्बर पनि दिएँ । फर्किएर उहाँहरूसँग कुराकानी गर्न थालेँ ।

दुईजना सांसद पाहुना आएको वेला राजनीतिक कुरा हुने नै भए । महेश माननीयले भन्नुभयो, ‘देशले तपार्ईंको सहयोग चाहेको छ । यसले तपाईंलाई पनि राम्रो हुन्छ । यसका लागि तपाईंसँग भेट्न प्रधानमन्त्रीज्यूले नै हामीलाई जिम्मा दिनुभएको हो ।’ किसन माननीयले पनि त्यही कुरा दोहोर्‍याउनुभयो ।

मैले उहाँहरूलाई भनेँ, ‘म प्राविधिक क्षेत्रको मान्छे, पेसाले डाक्टर हुँ । राजनीति धेरै बुझ्दिनँ, सीधा कुरा गर्छु । तपार्ईंहरूसँग बहुमत छ, तर तपार्ईंहरूकै पार्टीमा धेरै विवाद छ । आफ्नो पार्टीलाई एकढिक्का बनाउनहोस् । अरू सांसद तपाईंहरूलाई कनि चाहियो ?

मेरो सुझाबपछि महेश माननीयले संविधान संशोधन गर्नुपर्नेछ, त्यसैले तपाईंको सहयोग चाहियो भन्नुभयो । अझ अगाडि बढेर उहाँले ‘तपार्ईंका व्यक्तिगत विषय पनि हामी सम्बोधन गर्छौँ, समस्या पनि हल गर्छौँ’ भन्नुभयो । उहाँको बोलीमा प्रलोभन दिने र त्रास देखाउने भाव थियो । म झसंग भएर हाम्रै पार्टीका माननीयहरूले भनेको पनि सम्झिएँ । उनीहरूले पनि वेलावेला मलाई प्रधानमन्त्रीको त्रास देखाउँथे । यो सरकार बलियो छ, प्रधानमन्त्री कडा हुनुहुन्छ, तपार्ईंलाई अप्ठ्यारो पनि पार्न सक्छन् भन्थे ।

प्रधानमन्त्री ओलीकै नेतृत्वमा समाजवादी पार्टी सरकारमा भएको वेला म स्वास्थ्य राज्यमन्त्री थिएँ । आफैँ कुनै नीतिगत निर्णय गरेको थिइनँ । मलाई के डर थियो र रु मैले केही गल्ती गरेको छैन, त्यसैले मेरो केही व्यक्तिगत समस्या छैन भनेर आत्मविश्वासपूर्वक महेश माननीयलाई जवाफ दिएँ ।

हाम्रो कुरा अलिक पेचिलो हुन थालेपछि आइजीसाबले बारा जाऊँ भन्नुभयो । मैले दोहोर्‍याएर जनकपुर जानु छ भनेँ । तर, मेरो भनाइ वास्तै नगरेर बारा नै जाऊँ कि जाऊँ भन्न थाल्नुभयो । स्थिति असहज होला जस्तो भयो । मैले पहिला जनकपुर जाऊँ, त्यसपछि बारा जाउँला भनेँ । पहिले जनकपुर गएपछि केही न केही उपाय लगाउँछु भनेर मनमनै सोचेँ । त्यसैमा सहमति भयो ।

मैले आफ्नै गाडीमा जान्छु भनेँ । तर, उहाँहरूले तपार्ईंको गाडी चाहिँदैन, हाम्रो गाडीमा जाऊँ भन्नुभयो । उहाँहरू विस्तारै ममाथि हाबी हुन थाल्नुभयो । मेरा कुरा सुन्न चाहनुभएन । जाऊँ जाऊँ मात्र भनेर मनोवैज्ञिानिक त्रास सिर्जना गर्नुभयो । मैले अस्वीकार गरे उहाँहरूले जबर्जस्ती गर्ने देखियो । तैपनि मैले आफ्नो गाडी निकाल्न भनेँ । ड्राइभर र पिएसओलाई गाडी लिएर पछिपछि आउन भनेँ । समाजवादीका प्रदेश कमिटी सदस्य राजीव यादव पनि मसँगै आए ।

वर्षौंदेखि मित्रता भएका पूर्वप्रहरी महानिरीक्षक, दुईजना सांसद । तर, उहाँहरूले सिर्जना गरेको अनौठो वातावरणबीच म उहाँहरूको गाडीमा चढेँ । मलाई असुरक्षा महसुस भइरहेको थियो । उहाँहरू भने हाँसेर कुरा गरिरहनुभएको थियो । त्यहीबीचमा बाटोमा मैले कौशलकिशोर यादवलाई भेटेँ । उहाँ हाम्रो पार्टीको प्रदेश सभा सदस्य हुनुहुन्छ । केहीबेरमा हामी बर्दिबास होटेल पुग्यौँ । त्यहाँ फेरि उही कुरा दोहोरियो ।

महेश र किसन माननीयले हामीसँग समाजवादीका ९–१० जना सांसद पहिला नै सम्पर्कमा हुनुहुन्छ, पार्टी फुटाउन संख्याको समस्या छैन, तपार्ईंजस्तो ‘हेभिवेट’ माननीय खोजेको भन्नुभयो । उमाशंकर अरगरिया पनि बर्दिबासमै हुनुहुन्छ भन्नुभयो । उमाशंकर हाम्रो पार्टीको संसदीय दलको सचेतक, तर महेश र किसन माननीयको सम्पर्कमा गइसक्नुभएको रहेछ, एकैछिनमा उहाँ पनि होटेलमा आउनुभयो ।

मैले उमाशंकरसँग कुरा गरेँ । उहाँले म समाजवादीको नेताहरूसँग असन्तुष्ट छु, तपार्ईंहरूको विचार के छ भनेर सोध्नुभयो । उहाँले समाजवादी पार्टी विभाजनको जिम्मा प्रधानमन्त्रीज्यूले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई दिनुभएको थियो, तर विभिन्न कारणले ढिला भयो भन्नुभयो ।

तर, म पार्टी विभाजनको पक्षमा छैन, मलाई किन यहाँ ल्याएको भनेर उहाँहरू सबैलाई मैले सोधेँ । उमाशंकरजीले भन्नुभयो, ‘उपेन्द्र ९यादव०ले जे गर्नुभएन, हामी गर्न सक्छौँ । हामी संविधान संशोधन गर्छौं, यसका लागि हामीलाई ११ जना सांसद चाहिन्छ । यो मिसन पूरा भयो भने मधेसमा हाम्रो प्रतिष्ठा बढ्छ । हामीले जस पाउँछौँ ।’ हामी एक–अर्काका कुरामा सहमत भएनौँ । त्यसपछि हामी जनकपुरतिर लाग्यौँ । मैले गाडीमै उमाशंकरजीलाई सोधेँ, ‘विभाजनको तयारी के गर्दै हुनुहुन्छ ?’ उहाँले बसेर सल्लाह गरौँ भन्नुभयो । तयारीकै लागि प्रधानमन्त्रीसँग भेट्ने हो भन्ने उहाँहरूको कुरा थियो ।

जनकपुरमा हामी डा। सूर्यनारायण यादवको घर पुग्यौँ । उहाँलाई मैले अप्ठ्यारोमा परेको र उहाँको घर आउँदै गरेको संकेत गरेको थिएँ । यो कुरा प्रदेश २ का गृहमन्त्रीसम्म पनि पुगिसकेको थियो । तर, प्रहरी त केन्द्र सरकारमातहत हुन्छ, उहाँहरूले केही गर्न सक्ने कुरा भएन । बाध्य भएर काठमाडौं हिँड्नुपर्ने भएपछि मैले भिनाजुलाई पनि लिएर जान्छु भनेँ ।

हामी जनकपुरबाट फेरि बर्दिबास आयौँ । साँझ परिसकेको थियो । टोयटाको सेतो गाडी थियो । म त्यसैमा बसेँ । कौशल, आइजीसाब र दुई माननीय पनि त्यसैमा बस्नुभयो । मेरा भिनाजुलाई लिन गएको मेरो गाडी पछाडि छुट्यो । मेरो मोबाइल त्यही गाडीमा थियो ।

म काठमाडौं हिँडेको कुरा घरमा पनि भनेँ । मैले भिनाजु र राजीवलाई सिन्धुलीको बाटो भएर आउन भनेँ । सिन्धुलीबाट दुईवटा गाडीमा काठमाडौं हिँड्यौँ । म, कौशल, आइजीपी साब र उमाशंकर सँगै भयौँ । अर्को गाडीमा दुईजना माननीयहरू बस्नुभयो । गाडीमा मलाई रिँगटा लाग्छ । त्यसैले म धेरै बोलिनँ । जबर्जस्ती आँखा चिम्लेर बसेँ । डिप्रेस्ड भएको थिएँ । यिनीहरूले आखिर काठमाडौं पुर्‍याएरै छाड्ने भए भनेर चिन्तित थिएँ । मनमनै कुरा खेलिरहेका थिए, धेरै बोलिनँ ।

गाडी ननस्टप कुदिरह्यो । सिन्धुली पुगेर एउटा अस्पतालको क्यान्टिनमा खाजा खाने कुरा भयो । महेश माननीयले रोटी तरकारी बोकेर हिँडनुभएको रहेछ । बन्दोबस्ती राम्रै रहेछ । तर, ममाथि दबाब र तनाव बढेको देखेर प्रदेश सभा सदस्य कौशलजी रिसाएका थिए । उनी खाजा खान पनि अस्पताल जान्छन् त भनेर झोक्किए । त्यसपछि एउटा सानो होटेलमा गएर भाँडा मागियो, महेश माननीयले ल्याएको खाजा खायौँ ।

हाम्रा लागि काभ्रेमा खाना पाकेको छ भन्ने पनि महेश माननीयले सुनाउनुभयो । हामी अगाडि दुई गाडीमा थियौँ । तर, सिन्धुलीमा एउटा गाडी अचानक बिग्रियो । त्यतिन्जेलसम्म मेरो गाडी आइपुगेको थिएन । पर्खिएर बसेकै वेला मैले प्रदेश २ का गृहराज्यमन्त्री र श्रीमतीलाई फोन गरेँ । थाहा पाएँ, म अपहरणमा परे भन्ने चर्चा फैलिएछ । तर, म कुशल छु भनेर घरमा सान्त्वना दिएँ । सिन्धुलीमा गाडी बिग्रिएपछि मेरो साइडमा दुईजना माननीय, अगाडि आइजीसाब र पछाडि राजीव बसे, हामी अघि बढ्यौँ ।

मध्यरातमा पनि हामी बाटोमै थियौँ । किसन माननीयले फोन लगाउनुभयो, प्रधानमन्त्रीसँग सीधै मेरो कुराकानी पनि गराउनुभयो । प्रधानमन्त्रीले समाजवादी मात्र होइन, राजपामा पनि विभाजनका कुरा छन् भन्नुभयो । मैले धेरै कुरा बुझिनँ । यति मात्र भनेँ– प्रधानमन्त्रीज्यू, म तपाईंले पठाउनुभएका माननीय र आइजीसाबसँग आउँदै छु, भोलि बिहान भेट्छु ।

त्यहीबीचमा समाजवादी र फोरम मिलेको खबर बाटोमै आयो । उहाँहरूले आपसमा कुराकानी गरिरहनुभएको थियो– उनीहरू मिलेछन् भने पनि उनीहरूलाई दर्ता हुन पाँच दिन लाग्छ । हामी ब्याकडेटको निर्णयमा भोलि नै दर्ता गर्छौँ ।

राति दुई बजेतिर काभ्रे पुग्यौँ । होटेलमा खाना तयार थियो, खाना खायौँ । त्यहीँबाट मैले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेँ । म बाटोमा छु, कहाँ आऊँ भनेर सोधेँ । उहाँले सीधै घरबाहिर आएर फोन गर्नुस् भन्नुभयो ।

काभे्रबाट मैले समाजवादी धनुषाका नेता शेषनारायण यादवलाई पनि फोन गरेँ । काभे्रबाट हामी काठमाडौंतिर लागिसकेपछि पनि महेश माननीय फोनमै व्यस्त हुनुहुन्थ्यो । माननीय कल्लुदेवी विक पनि उहाँहरूको पकडमा पुगिसक्नुभएको रहेछ, मिसन राम्रै हुँदै छ भनेर महेश माननीय गद्गद् हुनुहुन्थ्यो ।

बिहानपख ३ बजे होटेल मेरियट पुगेर गाडी रोकियो । आठवटा कोठा बुक भएका रहेछन् । मलाई दुईजना सुत्न मिल्ने कोठा दिनुस् भनेँ । रुम नम्बर ७०३ को चाबी मिल्यो । म र प्रदेश कमिटी सदस्य राजीव त्यही रुममा बस्यौँ । अर्को रुममा भिनाजु र पिएसओ बसे ।

हामी फ्रेस भएका मात्र थियौँ, आइजीसाब र माननीयहरू कोठामा आउनुभयो । भोलि बिहानै प्रधानमन्त्रीज्यूकोमा जाने भन्नुभयो । मैले हुन्छ भनेँ । मैले एकछिन सुत्छु, निद्रा पुगेन भने बिरामी हुन्छु भनेपछि उहाँहरू आफ्नो कोठातर्फ लाग्नुभयो । मैले सुत्छु त भनेँ । तर, निद्रा कसरी लाग्नु रु मनमा कुरा खेल्न थाले । यिनीहरूले कल्लुदेवीलाई पनि अपहरण गरे । अब मलाई पनि जबर्जस्ती कागजमा हस्ताक्षर गराउँछन् र बर्बाद पार्छन् भन्ने लाग्यो ।

मैले अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर भनेँ, ‘मलाई यिनीहरूले होटेल मेरियटमा ल्याएर राखेका छन्, यहाँ आठ रुम बुक भएका छन् । तपार्ईं भन्नुहुन्छ भने म निस्कन्छु ।’ उहाँले जसरी पनि र जतिसकेको छिटो निस्कनुस् भन्नुभयो । कफी मगाएँ । आधा मात्र खाएँ । राजीवलाई बाहिरको माहोल हेर्न पठाएँ । शान्त थियो वातावरण । अघि लगाएका होइन, नयाँ लुगा लगाएँ । रुम नम्बर ७१५ मा पिएसओ र भिनाजु थिए । उनीहरूलाई चाबी दिएर लुसुक्क निस्किएँ । मुखमा मास्क लगाएँ । अहिले सबैले मास्क लगाउने हुनाले कसैले पनि शंका गरेनन् । त्यतिञ्जेलसम्म बिहानको पाँच बजिसकेको थियो ।

फेरि अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेँ । उहाँले तपार्ईं होटेलको सेरोफेरोमा बस्नुस्, गाडी आउँदै छ भन्नुभयो । नजिकै पिकअप गर्न गाडी आयो । गाडी चढेँ । बाबुराम र उपेन्द्रको योजनाअनुसार सुरक्षित ठाउँमा पुगेपछि मात्र लाग्यो– मलाई पार्टी विभाजनको मोहरा बनाउने खेल असफल पारिदिएँ । यो मेरो अथवा हाम्रो पार्टीको मात्र होइन, लोकतन्त्र र जनताको मतको पनि जित हो  नयाँ पत्रिकामा खवर छ ।





error: Content is protected !!