जुम्ला जाजरकोट नाकामा कडाइ गर्न माग

जुम्ला पछिल्लो समय सुर्खेत छिन्छु हुदैँ जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाकामा कडाइ गर्न माग गरेका हुन्।उनीहरुले नाका बन्द गरेर आवतजावत पूर्ण रुपमा बन्द गर्न समेत माग गरेका हुन्। अहिले कर्णाली राजमार्गमा सवारी आवागमन ठप्प भएपछि भारत तथा ब्यापारका शिलशिलामा देशभित्र रहेकाहरु धमाधम जाजरकोट भएर आउन थालेका हुन्।

गत साता जाजरकोट भएर १३ जना जुम्ला भित्रिए। उनीहरु ९ जना कालिकोटका थिए। ४ जना जुम्ला हिमा गाउँपालिकाका हुन्। जाजरकोट नाका प्रवेश गरेको खबर प्राप्त भएपछि प्रहरीले उनीहरुको उद्धार गरेर सम्बन्धित जिल्लाका स्थानीय सरकारलाइ जिम्मा लगाएको थियो। उनीहरुलाइ स्थानीय सरकारले क्वारेन्टाइनमा राखेका थिए। प्युठानबाट आएको बताएका उनीहरु भारतको पिथौरागडबाट आएको बुझिएको छ। स्वदेशमै रहेको भन्दै विदेशबाट आउनेको संख्या बढ्न थालेपछि जुम्ला जोखिमपूर्ण अवस्थामा रहेको स्थानीय बताउँछन्।

दुइ दिनअघि जाजरकोट नाका भएर ९ जना भित्रिए। उनीहरु जुम्लाको सिँजा र कनकासुन्दरी गाउँपालिकाका हुन्। तिला ४ का स्थानीय कर्णप्रसाद चौलागाइ जाजरकोट हुदै जुम्ला भित्रिने संख्या ह्वात्तै बढेको बताउँछन्। उनले भने,‘ अहिले पैदल यात्रीले यो बाटो बिकल्पका रुपमा अपनाएका छन्। यहाँबाट आउनेको न स्वास्थ्य परीक्षण हुन्छ, नत कुनै नाकामा कडाइ छ। यो नाका हुदै जुम्ला भित्रिन सहज मान्ने गरेका छन्।’ स्थानीय बासिन्दाका अनुसार राति पनि यो बाटो प्रयोग गरेर आउनेको संख्या बढेको छ।

तिला ४ का ज्वारीलाल भट्टलाइ यो नाका बन्द गर्न स्थानीय सरकार र स्थानीय प्रशासन जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने बताउँछन्। यो नाका हुदैँ आउनेबाट निकै जोखिम छ। सरकार लकडाउन भन्दै जनजीवन ठप्प पार्छ। यहाँ दिनरात हिडेर आउनेको भिडभाड बढेको छ। भट्टराइले भने,‘ यो नाकामा हेल्थ डेस्क राखेर कडा सुरक्षाका साथ उच्च सतर्कता अपनाउनको लागि स्थानीय प्रशासन समक्ष आग्रह गर्दछौँ।’

जाजरकोटसंग जुम्लाको तातोपानी गाउँपालिका जोडिएको छ। त्यो संगै जोडिएको जुम्लाको तिला गाउँपालिका पनि हो। अहिले यो नाका हुदैँ कालिकोट, मुगु र हुम्ला सम्मका मानिसहरु आवागमन गर्ने गरेको स्थानीय बताउँछन्। बाटोमा हिँडिरहेका उनीहरु संग न मास्क लगाएको भेटिन्छ, नत कुनै सुरक्षाका विधि अपनाइएको छ।

खुलेआम हुल बाँधेर आउने भएकोले समस्या भइरहेको स्थानीय नैनबहादुर हमाल बताउँछन्। उनका अनुसार यात्रीहरुलाइ बाटोमा स्थानीयले रोकेर सुरक्षा सतर्कता अपनाउन सुझाव दिदै गाउँमा प्रवेश नगर्न भनिरहेका छन्।

जाजरकोट प्रशासनले चरम लापरवाही गरेका कारण भारत हुदै जुम्ला भित्रिनेको संख्यामा बृद्धि भइरहेको छ। पटक पटक जाजरकोट प्रशासनलाइ जुम्ला प्रशासनले कडाइ गर्न आग्रह गरिएको जनाएको छ। दैनिक दिन मानिसहरु लस्कर लागेर भित्रिन थालेपछि यहाँको स्थानीयको जननजीवन निकै त्रासिद बनेको छ। जुम्ला जाजरकोट हुदै आउने बाटो पहिले भेडाबाख्रा आवजावत गर्ने बाटो हो। तातोपानी, तिला र स्थानीय प्रशासनको समन्वयमा यो नाकामा कडाइ गर्न स्थानीयले आग्रह गरिएका छन्।
यो नाका हुँदै आउनेले १४ दिन क्वारेन्टाइनमा बसेको, स्वदेशबाट आएको भनिरहेका छन्। तर उनीहरु संग क्वारेन्टाइनमा बसेको र स्वदेशबाट फर्केको जस्तो कुनै प्रमाण भेटिदैन्।हेर्दा कालापहाडबाट नै फेर्के जस्ता देखिन्छन। भोकभोकै पैदल यात्रा गरेर आफुहरु आउने गरेको पैदल यात्रीहरु बताउँछन्।

यो नाका हुदै आउनको स्थानीयले विवरण समेत राख्न थालेका छन्। सोधपुछ गरेर ठेगाना पत्ता लागेपछि स्थानीय सरकारको समन्वयमा सम्बन्धित क्षेत्रमा फोन गरेर क्वारेन्टाइनमा राख्न आग्रह गर्ने गरिएको स्थानीय बताउँछन्।





error: Content is protected !!