कोरोनाविरुद्ध वैश्विक लडाइँ

डा रवीन्द्र पाण्डे
गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना सङ्क्रमण अहिले २१० देशमा फैलिएको छ । सुरुमा भाइरल इन्फ्लुएन्जा मानिएको कोरोना सङ्क्रमण स्थानीय, अन्तरदेशीय हुँदै वैश्विक महामारीको रुपमा विस्तार हुँदै गर्दा यो भाइरसबाट लाग्ने रोगलाई विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नामकरण गरेको हो ।

कोरोना सङ्क्रमणले हालसम्म २० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् भने करिब डेढ लाख व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना तीव्र गतिमा फैलिने भाइरस भए पनि यसको मृत्युदर निकै कम छ । यही प्रकृतिको भाइरस सार्सको मृत्युदर १० प्रतिशत थियो भने मर्सको मृत्युदर ३० प्रतिशत थियो । यो नोबेल कोरोना भाइरस सङ्क्रमणको मृत्युदर ३ दशमलब ५ प्रतिशत मात्र छ । कोरोना सङ्क्रमण पोजिटिभ देखिएकामध्ये ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ । बाँकी ७ प्रतिशत सामान्य उपचारले निको हुन्छन् भने बाँकी ८ प्रतिशतलाई आईसीयू तथा भेन्टिलेटरको आवश्यकता पर्न सक्छ । तीमध्ये पनि आधी बिरामी निको हुन्छन् भने करिब ३।५ प्रतिशत ९देश अनुसार ० दशमलब ४ प्रतिशतदेखि ५ दशमलब ५ प्रतिशतसम्म० को निधन हुन्छ । दुई महिना पहिले सङ्क्रमित व्यक्तिमध्ये १८ प्रतिशतमा गम्भीर लक्षण देखिएका थिए भने बन्दाबन्दी९लकडाउन०, निगरानी९क्वारेन्टाइन०, एकान्तवास९आइसोलेसन० तथा प्रभावकारी उपचारको कारण हाल ४ देखि ५ प्रतिशतमा मात्र गम्भीर लक्षण देखिएका छन् । बाँकीमा सामान्य लक्षण देखिएका छन् ।

कोभिड–१९ भाइरल सङ्क्रमण भएको तथा नयाँ रोग भएकोले यसको विशिष्ट औषधि हालसम्म उपलब्ध छैन । चीन, भारत, युरोप, अमेरिका आदिले जापानिज इन्फ्लुएन्जा, सार्स, मलेरियाको औषधि, जिंक, द्वितीय सङ्क्रमणका लागि एन्टिबायोटिकलगायतका औषधि प्रयोग गरिरहेका छन् । यी औषधिले भाइरसको प्रसार रोक्न सहयोगी भएको सम्बन्धित देशले बताएका छन् । त्यस्तै अक्सिजन, भेन्टिलेटर लगायतका जीवनरक्षक उपकरण यो रोगबाट बचाउन ठूलो सहयोगी बनेका छन् । अहिले विश्वका हजारौँ प्रयोगशाला कोभिड–१९ प्रतिरोधी खोप बनाउन व्यस्त छन् । ती खोप जनावर तथा मान्छेमा प्रयोग भइरहेको छ । प्रमाणित खोप बजारमा उपलब्ध भएपछि कोरोना सङ्क्रमणबाट विश्वले मुक्ति पाउने विश्वास गरिएको छ ।
कोरोना सङ्क्रमण महामारीको कारण विश्व नै आतङ्कित तथा भयग्रस्त बनेको छ ।

गैह्र जिम्मेवार मिडियाको कारण करोडौँ मान्छे मानसिक पीडा र त्रासमा बाँचेका छन् । सङ्क्रमित देशको तथ्याङ्क हेर्ने हो भने यो रोगबाट मृत्यु हुनेभन्दा निको हुनेको सङ्ख्या धेरै गुणा बढी छ । उमेरको हिसाबले मृत्युदर हेर्ने हो भने बालबालिका, युवा तथा प्रौढको मृत्युदर नगण्य छ भने उमेरको वृद्धिसँगै मृत्युदर पनि धेरै छ । बालबालिका तथा युवाको मृत्युदर ० दशमलब २ प्रतिशत छ भने ८० वर्षमाथिका सङ्क्रमितको मृत्युदर २१ दशमलब ८ प्रतिशत छ । त्यस्तै सङ्क्रमित महिलाको मृत्युदर २ दशमलब ८ प्रतिशत छ भने पुरुषको मृत्युदर ४ दशमलब ७ प्रतिशत छ । त्यस्तै सङ्क्रमित दीर्घरोगीमध्ये मुटुको रोग भएका व्यक्तिको १३ दशमलब २ प्रतिशत, मधुमेहका बिरामीको ९ दशमलब २ प्रतिशत, दीर्घ श्वासप्रश्वासजन्य बिरामीको ८ प्रतिशत, उच्च रक्तचापका बिरामीको ८ दशमलब ४ प्रतिशत, क्यान्सरका बिरामीको ७ दशमल ६ प्रतिशत छ । मृगौलाका बिरामी, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, एचआईभी र एड्सलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीको मृत्युदर पनि उल्लेख्य रहेको छ । सबै दीर्घ औषधिसेवीलाई जोखिम छैन तर जसको अत्यन्तै पुरानो र अनियन्त्रित दीर्घरोग छ, उनीहरु यो सङ्क्रमणबाट बच्नु जरुरी छ ।
सञ्चारमाध्यमको पहुँचले अहिले एकातर्फ आममान्छेमा स्वास्थ्य चेतना अभिवृद्धि भएको छ भने अर्कातर्फ चिन्ता, भय तथा असुरक्षाबोध पनि बढाएको छ । माथि उल्लेखित मृत्युदर हेर्ने हो भने कोरोना सङ्क्रमणबाट आत्तिनुपर्ने अवस्था छैन । अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २० पनि पुगेको छैन । कोभिड–१९ बाट नेपालमा एकजनाको पनि मृत्यु भएको छैन । नेपाल सरकारले बन्दाबन्दी गरेको हुनाले हामी सुरक्षित भएको तथ्य जगजाहेर छ । बन्दाबन्दी नभएको भए हाम्रो अवस्था अकल्पनीय हुन सक्थ्यो ।

सङ्क्रमण समुदायमा फैलिएर मृतकको सङ्ख्या बढेपछि मात्र बन्दाबन्दी गरेको हुनाले इटाली, स्पेन, फ्रान्स, अमेरिका तथा बेलायतलगायत देशले ठूलो क्षति भोग्नुपरेको छ । यसैगरी नेपालले सिमाना तथा एयरपोर्ट पनि बन्द गरेको छ । यसले पनि सङ्क्रमण बढ्न पाएको छैन । त्यस्तै बाहिरबाट आएका व्यक्ति तथा शङ्कास्पद व्यक्तिलाई निगरानीमा राख्ने, उनीहरूको परीक्षण गर्ने, सङ्क्रमित देखिएकालाई एकान्तवासमा राख्ने, सङ्क्रमितको संसर्गमा आएका व्यक्तिलाई खोज्ने तथा जाँच गर्नेलगायत काम पनि भइरहेका छन् ।

सातै प्रदेशमा कोरोना विशेष अस्पतालको प्रबन्ध, स्वास्थ्यकर्मीलाई पीपीई ९व्यक्तिगत सुरक्ष कवच० लगायत उपकरणको व्यवस्था, स्वास्थ्य संस्थामा ज्वरो क्लिनिकको स्थापना, परीक्षणका लागि आरडीटी किट तथा पीसीआर मेसिनको उपलब्धता तथा न्यून आय भएका व्यक्तिलाई स्थानीय निकायबाट राहत दिनेलगायतका काम भइरहेका छन् । यी कदम निकै प्रशंसनीय छन् । परीक्षणको दायरा बढाउने तथा न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत उपलब्ध गराउनेतर्फ अझै अग्रसर भएमा लकडाउन थप्नु परे पनि असहज हुनेछैन ।

संसार नै ठप्प भएको अवस्थामा औषधि तथा खाद्यान्न आपूर्तिको दीर्घकालीन समस्या पर्न सक्छ । तसर्थ सरकारले जमिन बाँझो नराख्ने, स्थान र मौसम अनुसारका खेतीपाती तथा पशुपालनलाई अभियानका रुपमा अघि बढाउनु जरुरी छ । यसो भयो भने हामी आत्मनिर्भर हुनेछौँ । कालान्तरमा पनि कृषि तथा पशुपालनको परनिर्भरता हट्नेछ । दीर्घरोग तथा अन्य औषधिको व्यवस्थाका लागि सरकारले स्वदेशी औषधि उत्पादन कम्पनीलाई चाहिने कच्चापदार्थ विदेशबाट किनेर ल्याएर उत्पादन बढाउन विशेष नीति ल्याउनु आवश्यक छ । त्यस्तै छिमेकी देशबाट भइरहेको आपूर्तिलाई भरपर्दो बनाएर एक वर्षका लागि सञ्चय गरेमा जनतालाई ठूलो राहत हुनेछ । हाम्रा आवश्यकताको पहिचान गरेर माग अनुसारको आपूर्ति प्रबन्ध गर्न सरकार तथा निजीक्षेत्रले ढिलो गर्नुहुँदैन ।

आमनागरिकले वर्तमान परिस्थितिको सही सूचना लिएर आफूलाई तनावरहित बनाउनु पर्छ । यसबीचमा आशाका किरण प्रशस्त देखिएका छन् । चीनको वुहानमा बन्दाबन्दी ७६ दिनपछि खुल्यो । चीनमा कोरोना सङ्क्रमण लगभग नियन्त्रणमा आयो । युरोप र अमेरिकामा पनि नयाँ सङ्क्रमितको सङ्ख्या घटिरहेको छ । दक्षिण एसिया र अफ्रिकामा उचाइमा पुग्न बाँकी छ । यो तथ्यले के भन्छ भने कोरोना सङ्क्रमणको पनि आयु छ । कोरोना भाइरसको मुहान सुक्न लागेको, आयातित भाइरस क्रमशः कमजोर हुँदै गएको तथा संसारभर बन्दाबन्दी, परीक्षण, निगरानी, एकान्तवास आदिका कारण भाइरस सङ्क्रमण अब निश्चित क्षेत्रमा सीमित हुँदै, हट्दै जाने विश्वास लिइएको छ ।

त्यस्तै अमेरिकाको याबट ९ब्ददयतत० प्रयोगशालाले पाँच मिनेटमा परिणाम दिने परीक्षणको विकास गरेको छ । त्यस्तै धेरै देशले पाँच मिनेटदेखि एक घन्टासम्ममा रिपोर्ट आउने परीक्षण विधिको विकास गरेका छन् । जसले गर्दा रोग छिटो पत्ता लागेर सङ्क्रमितलाई एकान्तवासमा राख्ने काम भइरहेको छ । यसभन्दा पहिले फैलिएका सार्स तथा मर्स पनि कोरोना सङ्क्रमण नै थिए । ती रोग नियन्त्रण गर्न प्रयोग गरिएका एन्टी भाइरल औषधि, मलेरियाको औषधि तथा एन्टिबायोटिक नोबेल कोरोना भाइरस सङ्क्रमणमा पनि निकै प्रभावकारी देखिएका छन् । भिटामिन सी, भिटामिन डी तथा जिंक सप्लिमेन्ट कोरोना सङ्क्रमणमा प्रतिरोधी देखिएको छ । जुन बजारमा उपलब्ध छ ।

त्यस्तै प्रायः सबै नेपालीले बीसीजी खोप लगाएका छौँ । जुकाको औषधि नियमित खाने गरेका छौँ । पोलियो सुई वा थोपाको प्रयोग गरेका छौँ । हाम्रो आहारविहार, आचार तथा व्यवहार रोग प्रतिरोधात्मक क्षमता बढाउने खालको छ । विभिन्न रुघाखोकीको प्रतिरोधात्मक क्षमता पनि हामीसँग छ । तसर्थ हामी थप सुरक्षित छौं । इन्टरनेटको पहुँचको कारण संसारभरका सफलताका कथा, तरिका तथा उपाय थाहा पाइरहेका छौँ । एकान्तवास तथा निगरानीमा बसेका व्यक्तिसँग प्रविधिको सहायताले कुराकानी तथा देखभेट भएको छ । यसले चिन्ताको स्तर निकै घटाएको छ ।

बन्दाबन्दीको कारण प्रदूषणको स्तर न्यून भएको छ । यसकारण पनि रोग प्रतिरोधात्मक क्षमता बढिरहेको छ । ताजा घरेलु खानपिन, आराम तथा भागदौडमुक्त जीवनशैलीले थप निरोगी बनाएको छ । चीन, इटाली, भारतलगायत देशमा ८० देखि १०३ वर्षका दीर्घरोगी सङ्क्रमित निको भएर फर्किएका छन् । यस्ता उदाहरण हरेक अति सङ्क्रमित देशमा उपलब्ध छन् । चीन र जापानका चिकित्सकले निको भएका सङ्क्रमितको प्लाज्मा नयाँ सङ्क्रमितलाई दिएर उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाइरहेको छ । यो स्थापित विधि नै हो ।

भविष्यमा यस्ता अन्य महामारी भएमा संसार सजग भएको छ । यसले गर्दा आगामी महामारी छिटो नियन्त्रणमा आउनेछ । हरेक महामारीले ठूलो पाठ सिकाएको हुन्छ । हामीले हाम्रो सोच, व्यवहार, जीवनशैली, परिवारको महत्व आदिलाई यो महामारीले सकारात्मक परिवर्तन गर्नेछ । विकसित देशको ठूलो बजेट र वैज्ञानिक कोरोना सङ्क्रमणविरुद्ध खोप तथा औषधिका लागि खटिरहेका छन् । खोपको मानवमा परीक्षण सुरु गरिएको छ ।

उक्त खोपको प्रतिक्रिया अध्ययन भइरहेको छ । चीन, कोरिया, सिङ्गापुर, जापान, भारत, इजरायल, फ्रान्स, नेदरल्याण्ड, बेलायत, अमेरिका, क्यानडालगायत देश छिट्टै खोप प्रमाणित गर्न अग्रसर छन् । यस्तै विभिन्न देशमा निगरानी घरमै र एकान्तवास पनि घरमै चलिरहेको छ । यसबाट अस्पताल बस्नुपर्ने तनाव निकै कम भएको छ ।

हरेक देशमा स्वयंसेवी भएर काम गर्न अधिकांश युवा तयार छन् । स्वास्थ्यकर्मीहरु बिदामा नबसेर तथा लगातार ड्युटीमा रहेर लाखौँ सङ्क्रमितलाई सेवा दिइरहेका छन् । कोरोना सङ्क्रमणमा सहयोग गर्न चीन, क्युबा लगायतको टोली इटालीमा परिचालित छ । फ्रान्सेली तथा स्पेनिस सङ्क्रमितलाई एयर चार्टर गरेर जर्मनी तथा अस्ट्रियामा ल्याइएको छ । यस्ता उदाहरण अहिले विश्वभरि पाइन्छ ।

विपद्को समयमा सरकारी, गैह्रसरकारी निकाय, पेशागत समूह, व्यवसायी, कलाकार, खेलाडी आदिले सहयोग गर्ने, सरकारले निःशुल्क परीक्षण तथा उपचार गर्ने जस्ता सकारात्मक पक्षको विकास भएको छ । त्यस्तै आफ्नो आर्थिकस्तर अनुसार राष्ट्रले राहत कार्यक्रम ल्याएर जनतालाई बचाउँछन् भन्ने सन्देश दिएको छ । तसर्थ यो महामारीसँग जुध्न हामीहरु भौतिक तथा मानसिक रुपमा तयार हुनुपर्दछ्र । सबैको सामूहिक प्रयासले कोरोना सङ्क्रमणलाई परास्त गर्न हामीहरु सक्षम हुनेछौँ ।





error: Content is protected !!