विश्व परिवेश, कोरोना कहर र नयाँ बर्ष

मधु बाबु गौतम

मानव सभ्यताको उत्पती सँगै सजीव प्राणीहरुमा सर्वश्रेष्ठ प्राणीको रुपमा आफूलाई स्थापित गरेको मावन जातिले अनाधिकालदेखी नै विभिन्न कालखण्डका आरोह ,अवरोह छिचोल्दै परिस्थितिजन्य चुनौतिहरु सँग संघर्ष र पौठेवाजी गर्दै आजको एक्काईसौ शताव्दीको प्रविधि युगमा प्रवेश गरेको छ ।

विश्वमान चित्रमा आफूलाई शक्तिशाली राष्ट्रको रुपमा उभ्याउने होडबाजी र प्रतिस्पर्धाको परिणाम मानव जातिले प्रथम र दोस्रो युद्धको सामना गर्नु पर्‍यो । जुन राष्ट्रले मानव जातिको विनाशको लागि आफ्नो सम्पुर्ण अर्थतन्त्रलाई आणविक हतियार आयात , निर्यात र मिसाईल प्रक्षेपण तथा सेना निर्माणमा लगानी गरे तिनिहरु नै विश्वमा शक्तिशाली राष्ट्रको रुपमा कहलिदै संसारमा आफ्नो प्रभुत्व जमाउने र अधिनायकत्व लादने बाटो तिर अग्रसर रहेको देखिन्छ ।

विश्वमा आफूलाई अब्बल राष्ट्रको रुपमा पहिचान गराउने अमेरिका, रसिया, चिन, वेलायत, जर्मन, फ्रान्स र जापान जस्ता कयैन राष्ट्रहरु कसरी अरुलाई उछिनेर आफू अगाडि जान सकिन्छ भन्ने दौडमा मात्र लागेको देखीयो । छिनभरमै मानव जातिको विनाश र भौतिक संरचना ध्वस्त गराउन अनेक खोज,अनुसन्धान,प्रयोग प्रक्षेपणबाट आणविक युद्धको तयारी गरिरहेका राष्ट्रहरुले समेत विश्व परिवेशमा मानव जातिको अस्तित्वलाई संकट पार्न सक्ने भयानक चुनौतिको रुपमा दिन दुई गुना¸ रात चौगुना फैलिरहेको कोरोना (Covid-19) भाईरसबाट मानव समुदायको रक्षा गर्ने सम्भावनाका ढोकाहरु अझै खोल्न नसकेको अवस्था छ ।

आजको विश्व परिवेशलाई नियालेर हेर्ने हो भने कोरोना भाईरसबाट आक्रान्त भएका सम्पुर्ण मानव जातिको अवस्था, तिनिहरुमा देखिएको विचलित मनस्थिति, डर,त्रास,संसय,तनाव,मनोबलमा गिरावटले भयावहको स्थिति सिर्जना गरेको छ । विश्वमा औसत आयु बढि भएका र स्वास्थ्यको दृष्टिकोणले अग्र पंक्तिमा रहेका ईटाली, जापान, कोस्टारिका, अमेरिका र ग्रिस जस्ता देशहरुमा समेत कोरोना भाईरसको प्रभाव र मानवीय क्षती दिनानुदिन बढिरहेको आँकडाहरुले देखाईरहेका छन। यस बाट के भन्न सकिन्छ भने आज सम्म विश्वमा जे ,जस्ता खोज,अनुसन्धान, प्रयोग, परिक्षण, उत्पति, विकास, खर्च र लगानी गरिएको छ, यो मानव जातिको रक्षा र जिवन्तताको लागि प्रर्याप्त छैन भन्ने कुरा पुष्टि भएको छ ।

भुसको आगो झै दिनानुदिन फैलिरहेको कोरोनाको संक्रमणले सामाजिक, आर्थिक, राजनैतिक, व्यापारिक, शैक्षिक,यातायात तथा विकासको गतिशिलतालाई यथास्थानमा रोकावट गर्दै मानविय क्षतीलाई बढोत्तरी दिईरहेको छ भने स्वतन्त्रताको पक्षमा वकालत गर्ने मानव जातिलाई स्वस्फुर्त रुपमा स्वैच्छिक ढंगले पिंजडाको सुगाझै एकान्त बासमा रहन बाध्य र विवश पारेको छ । परिणाम स्वरुप मान्छेले आज जीवन र जगतको बारेमा स्वअध्ययन, विपाशना र व्यायामद्धारा कोरोना संग लड्न सक्ने प्रतिरोधात्मक क्षमता आर्जन गरिरहेको छ ।

वर्तमान परिवेशमा कोरोना विरुद्धको लडाईमा विजय हासिल गर्न सक्ने सशक्त हतियार उच्च मनोबल र दृढ ईच्छाशक्ति तथा साधनको रुपमा सामाजिक दुरी कायम राख्दै स्वअनुशासनमा रहि साबुन पानिले हात धुनु नै हो । कोरोना विरुद्ध विश्व ब्रह्माण्डमा रहेका जेजति मानव समुदायले गरिरहेको संघर्ष छ अहिले त्यो केवल बच्नको लागि मात्र भईरहेको छ ।

त्यसैले आउनुहोस् हामी आम नेपाली मानवजाती कोरोना विरुद्धको लडाईमा सफलता हात पार्न सम्पुर्ण व्यक्तिगत स्वार्थलाई थाति राख्दै राष्ट्रिय एकतामा ऐक्यबद्धता जनाइ आआफ्नो स्तरबाट सामाजिक दुरी कायम राख्दै सचेत र सजग नागरिकको पहिचान सहित सरकारद्धारा जारी गरिएका नीति नियमहरुलाई अक्षरस् पालना गरी आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ ।यस संगिन घडिमा त्याग, तपस्या, धैर्यता, उच्च सहनशिलताका साथ बच्न सकियो भने भावि दिनहरु त तपाई हाम्रानै हुन बाँच्नको लागि, त्यसैले आजको दिनमा जे जसरी हुन्छ बचौँ आगामी दिनहरुमा खुसि साथ बाँचौला ।

बसन्त ऋतुको आगमन सँगै सदा बर्ष झै सम्पुर्ण नेपालीहरुको घर आँगनमा पाईला टेकिरहेको नयाँ बर्षले यतिवेला खासै नया जोश, जागर, उर्जा, हर्ष र उल्लासमय बन्न नसकिरहेको अवस्थामा शहर बजार र राजधानी मानवविहिन शून्य प्राय उराठलाग्दो देखीएका छन ।सवारी कोलाहल, मान्छेहरुको बाक्लो उपस्थिति, कसैले कसैको वास्ता नगर्ने,आ आफ्ना काम र दैनिकिमा व्यस्त रहने,एकले अर्कालाई उछिन्नको लागि हतारमा दौडिरहेको जस्तो देखीने मानव प्राणीहरु पनि आज घर भित्र एकान्त बासमा बसी जिवन जिउनुको अर्थ खोजिरहेको देखिन्छ ।

लक्ष्य प्राप्तिका महान सपना बोकी शिक्षा आर्जनको लागी शहर पसेका विद्यार्थीहरुका शिक्षाको मन्दिर पनि बन्द भएका छन्, पसिनाले पैसा साट्ने श्रमिकहरुका उद्योग धन्दा र कलकारखानाहरु चलिरहेका छैनन्,कसैका पेटहरु भोका छन भने कसैका घरमा चुल्हो बलेका छैनन् यस्तो लाग्छ कि रुखहरुले पालुवा फेर्न गाह्रो मानिरहेका छन्, जंगलमा न्याउली र कोइलीले पनि आफ्नो भाका बिर्सिएको जस्तो भान भइरहेको छ । एक मानव देखी अर्को मानव तर्सिने र डराउने वातावरण सिर्जना भएको छ । गाँउ घरमा खुसी हर्षका साथ बर्ष भरि गरेको खेतिपाती र अन्नबाली भित्र्याउने समयमा किसानहरु डर र संत्रासको वातावरणमा खेतमा काम गरिरहेका छन ।

विभिन्न परिस्थितिले आफ्नो कर्मथलो विदेश बनाएका नेपाली जनहरुको मनस्थितिले पनि मातृभूमिलाई सम्झिरहेको छ ।जन्मभूमिको माया,ममता,स्नेह र याद पनि मान्छेलाई त्यति बेला आउदो रहेछ, जतिवेला आफूलाई दुख पीडा पर्छ, जुन आघात माया आफ्नो जन्म भुमिमा आउन चाहेर पनि आउन नपाएका नेपाली दिदि बहिनी तथा दाजु भाईहरुबाट प्रकट भएका भावनाहरुमा प्रष्ट देखिन्छ ।

जस्तो सुकै विषम परिस्थिति,अभाव र कठिनाइका बावजुत पनि आफूलाई चुनौतिपुर्ण संघर्षमा सफलता हासिल गर्नु नेपालीहरुको मौलिक पहिचान हो ।अत सम्पुर्ण नेपालीहरुको घर आँगनमा पाइला टेकिरहेको नयाँ बर्ष २०७७ सालले समस्त नेपालीहरुमा कोरोना भाईरस विरुद्धको लडाईमा सफलता हासिल गर्न उच्च मनोबलका साथ रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने थप उर्जा प्राप्त होओस् ।

हामी कामना गरौ २०७६ सालको विदाई सँग सगैँ कोरोना भाइरसको बिलय र विसर्जन होओस् जो जहा रहेपनि नयाँ बर्षले आम नेपाली दाजु भाई, दिदि ,बहिनी तथा आमा ,बुवा सबैमा आ , आफ्ना ईष्ट , मित्र, नाता , कुटुम्ब र आफन्तहरु सँग भेटघाट गर्ने सु अवसर जुटाओस । सामाजिक दुरीलाई कायम राखी परिस्थिति जन्य मर्यादाको पालना गर्दै नयाँ बर्ष २०७७साललाई भव्य र सभ्य ढंगले मनाऔ सबैमा शुभकामना।

धेरै आशा मनमा चिन्ता, न उल्लास न हर्ष ।
धेरै धेरै शुभकामना तिमिलाई, बिजोर नयाँ बर्ष ।।

चौरजहारी  नगरपालिका १ रुकुम पश्चिम





error: Content is protected !!