नोट छपाइका लागि पुनः टेन्डर

काठमाडौं , नेपाल राष्ट्र बैंकले रू ५ सय दरका नोट डिजाइनिङ, छपाइ तथा आपूर्ति गर्न सार्वजनिक खरीद ऐनअनुसार पुनः अन्तरराष्ट्रिय स्तरको बोलपत्र आव्हान टेन्डर गरेको छ । आगामी जेठको पहिलो सातासम्म ५ सय दरका १९ करोड थान नोट डिजाइनिङ, छपाइ तथा आपूर्तिका लागि पुनः टेन्डर आव्हान गरेको हो । यसअघि रू ५, रू १० र रू ५ सय दरका नोटको बोलपत्र टेन्डर गरेकोमा ५ सय दरको टेन्डरमा प्राविधिक समस्या आइपरेको भन्दै मुद्रा व्यवस्थापन विभागले फेरि टेन्डर जारी गरेको हो । विभागका कार्यकारी निर्देशक विश्रुत थापाका अनुसार ५ सय दरका नोटको लागि राष्ट्र बैंकले चाहेजस्तो टेन्डर परेन । ‘यसैले फेरि बोलपत्र आव्हान गरेका छौं,’ उनले भने, ‘बैंकको भल्टमा ५ सय दरको नोट पर्याप्त भए पनि रिजर्भका लागि थप नोट छाप्न खोजिएको हो ।’
केन्द्रीय बैंकले हजार दरका नोट डिजाइनिङ, छपाइ तथा आपूर्ति गर्न गत असोजमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टङ कर्पोरेशनलाई ठेक्का दिएको थियो ।








