कोरोना भाइरस ः कत्तै मन्त्री कामले हैरान , कत्तै आराम

काठमाडौं ः विश्वव्यापी रुपमा कोभिड–१९ को सन्त्रासले नेपालमा लकडाउन भएपछि सरकारमा सहभागी मन्त्रीहरु व्यस्त हुनुपर्नेमा केही मन्त्रीमात्रै व्यस्त भएका छन्। सिंहदरवारस्थित मन्त्रालयमा लकडाउनपछि केही मन्त्रीहरु एकाध घण्टा समय विताएर निस्कने गरेका छन् भने केही मन्त्रीहरु राती अबेरसम्म मन्त्रालयमै हुन्छन्। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनेदेखिनै पाँच मन्त्री निरन्तर मध्यरातीसम्मै काममा खटिएका छन्।

रक्षामन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा,पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र आफूर्तिमन्त्री लेखराज भट्टलाई मध्यरातसम्मै कामको धपेडी परेको छ। उपप्रधानमन्त्रीकै संयोजकत्वमा कार्यसम्पादन भैरहेकाले व्यस्त रहनु परेको पोखरेलको सचिवालयले जनाएको छ।

रक्षामन्त्री समितिको संयोजक भएदेखिनै कोरोना भाइरसको संक्रमण फैलिन नदिन नीतिगत निर्णय गर्न व्यस्त रहे। उनी दुई हप्ताबीचमा कुनै एक दिन पनि फूर्सदिला देखिएनन। उनको सारथीको रुपमा गृहमन्त्री थापा, पर्यटनमन्त्री भट्टराई, स्वास्थ्यमन्त्री ढकाल र अर्थ तथा सञ्चारमन्त्री खतिवडा देखिएका छन्।

रक्षामन्त्रालयको पुतली बगैचामै टेण्ट टाँगेर उनी गृह, अर्थ, उद्योग, पर्यटन, परराष्ट्र, कृषि, स्वास्थ्य लगायतका सरोकारवाला मन्त्रीहरुसँग छलफल गरिरहे। उनले कुनै एक दिन पनि आफूलाई फूर्सद दिलाएनन। गृहमन्त्री रामबहादुर थापा पनि सुरक्षा निकाय, महानगरपालिका र उनीसँग सम्बन्धित रहेका निकायसँग मन्त्रालयमै छलफल गर्ने र त्यसको रिपोर्ट रक्षामन्त्रीलाई पेश गरिरहे। रक्षामन्त्रीपछि भूमिका र जिम्मेवारीका तहमा उनी पनि उत्तिकै खटिएका छन्। गृहमन्त्रालय देशभर समन्वय गर्नुपर्ने, जिल्लागत रिपोर्ट दिनुपर्ने र सुरक्षा निकायलाई हर हालतमा तैनाथ गर्नुपर्ने भएकाले उनको व्यस्तता पनि पहिलेको भन्दा दोब्बार बढेको उनको सचिवालयले जनाएको छ।

पर्यटनमन्त्री योगेश भट्टराई आफू मातहतका निकायहरु , वायुसेवा, होटल, तथा अन्य तहलाई परिचालन गर्ने जिम्मेवारी लिएर खटिनेमा कम देखिएनन। उनले आवश्यक परे सबै होटलहरुलाई क्वारेन्टाइन बनाउने, निगमलाई आफै जमानी बसेर सामान लिन पठाउने लगायतको जिम्मेवारी लिए। सरकारी तथा नीजि क्षेत्रबाट सञ्चालिन विमानहरुलाई पनि तयारी अवस्थामा राख्नुपर्ने र नीजिस्तरबाट सञ्चालित होटल तथा प्रतिष्ठानलाई समेत क्वारेन्टाइन बनाउने सरकारी निति रहेकाले पनि पर्यटनमन्त्री भट्टराई व्यस्त भएका हुन्।

त्यसैगरी स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सबैभन्दा बढी खटिने मन्त्री हुन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्वास्थ्य सेवालाई सूचारु गर्ने जिम्मेवारी उनको हो। स्वास्थ्य सामाग्री खरिददेखि अस्पतालहरु सूचारु गर्ने जिम्मेवारी पनि ढकालकै हो। अर्थमन्त्री खतिवडा पनि अन्य मन्त्री जस्तै काममा निरन्तर खटिरहेका छन्। उनकै मन्त्रालयले पैसाको जोहो गरिदिनुपर्ने र सरकारका निर्णयहरु बाहिर ल्याउनपर्ने भएकाले उनी हरेक समय खएिका हुन्। भारत लगायतका धेरै मुलुकहरुसँग समन्वय गर्नुपर्ने जिम्मेवारी परराष्ट्रमन्त्री ज्ञावालीलाई छ। विदेशमा रहेका नेपालीहरुको अवस्था र तिनको जानकारी गराउने मन्त्री ज्ञावाली नै हुन। त्यसकारण पनि उनी छिन छिनमै अपडेटमा बस्नुपर्ने भएकाले उनको खटाइपनि मध्यरातसम्मै हुन्छ। कुटनीतिक नियोगसँगको समन्वयमा रहनु पर्ने भएकाले पनि उनी व्यस्त भएका भएका हुन। लकडाउनको समयमा खाद्यान्न आपूर्ति गर्ने जिम्मेवारी लेखराज भट्टको हो। उनकै मातहतमा रहेको खाद्यन्न ढुवानी तथा अत्यावश्यक सामान सप्लाइमा उद्योग तथा आपूर्ति मन्त्री भट्टले नै समन्वय गरिरहेका छन्।

अहिले सिंहदरवारभित्र केही मन्त्री मात्रै देखिएका छन्। शिक्षामन्त्री गिरिराजमणी पोखरेल, खानेपानी मन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत, संघीय मामिलामन्त्री ह्दयेश त्रिपाठी, कानुनमन्त्री शिवमाया तुम्वाहाम्फे, श्रममन्त्री रामेश्वर राय यादव, भूमि तथा सहकारी मन्त्री पद्य अर्याल, महिला तथा समाजकल्याणमन्त्री पार्वत गुरुङ भने आक्कल झुक्कल मात्रै मन्त्रालय पुग्ने गरेका छन्। उर्जामन्त्री वर्षामान पुन र घनश्याम भूषाल भने केही समय मन्त्रालयमा बस्ने गर्छन्। ‘अहिले सात मन्त्री बाहेक अन्यमन्त्रीहरुको खासै सिंहदरवारमा उपस्थिति देखिदैन उनीहरुलाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बोलाए मात्रै सिंहदरवारभित्र आउछन् नत्र आक्कल झुक्कलमात्रै हो’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने। उनका अनुसार सचिवहरु बहेक अहिले कर्मचारीहरु पनि कार्यालयमा आउँदैनन। सचिवले बोलाए मात्रै कार्यालयमा आउने गरेका छन्।





error: Content is protected !!