चौरजहारीमा कोरोना अस्थायी अस्पताल

रुकुम पश्चिम ः कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमितको उपचारका लागि चौरजहारीमा अस्थायी अस्पताल निर्माण गरिएको छ । चौरजहारी अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी चौरजहारी नगरपालिका–२, स्थित शीतल माध्यमिक विद्यालयमा अस्थायी अस्पताल बनाइएको हो ।

विद्यालयमा एकपटकमा २० जनाको उपचार गर्ने गरी आइसोलेसन बेड बनाइएको छ। चौरजहारी अस्पतालले पनि छुट्टै चार बेडको आइसोलेसन वार्ड तयार गरेको छ। अस्पताललाई कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी पूरा भएको बताए। ‘अरू विरामीलाई असर नपरोस् भनेर छुट्टै आइसोलेसन वार्ड तयार गरेका छौं,’ उनले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापनको काम पनि भइरहेको छ।’ आइसोलेसनमा चिकित्सकसहित चारवटा टोली परिचालन गर्ने अस्पतालको तयारी छ।

आइसोलेसनका लागि आवश्यक अरू उपकरण जुटाइएको छ भने अक्सिजनका लागि ३ मेसिन आउँदै छन्। शीतल माविको अर्को भवनमा चौरजहारी नगरपालिकाले २० बेडको क्वारेन्टाइन बनाएको छ। क्वारेन्टाइनमा १४ जना बसिरहेका छन्। सुरुमा १९ जनालाई राखिएकोमा १४ दिन पुगेपछि केहीलाई घर पठाइएको छ। तर, क्वारेन्टाइनमा बसेका कसैको पनि पनि स्वाब परीक्षण गरिएको छैन।

चौरजहारी अस्पतालमा दुई विशेषज्ञसहित ६ चिकित्सक र ९८ स्वास्थ्यकर्मी छन्।आइसोलेसनका लागि प्रदेश सरकारसँग थप चिकित्सक माग गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। उनका अनुसार दुई चिकित्सक प्रदेश सरकारले पठाउने तयारी गरेको छ।जिल्ला अस्पतालमा पनि पाँच शय्याको आइसोलेसन तयार गरिएको छ।

जिल्लाभरि ४० जना क्वारेन्टाइनमा छन्। त्रिवेणी गाउँपालिकाको क्वारेन्टाइनमा १९ र मुसीकोट नगरपालिकाको क्वारेन्टाइनमा ७ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको कान्तिपुरमा खवर छ ।।





error: Content is protected !!